onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

साझा बुझाइका लागि ‘शिक्षा कचहरी’

शैक्षिक गुणस्तर वृद्धिसँगै स्वच्छताका विषयमा छलफल

Sambad ADD long

गुलरिया, बर्दिया : विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिसँगै खानेपानी सरसफाइ तथा स्वच्छताका लागि गुलरियामा नगर स्तरीय शिक्षा कचहरी कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयका पदाधिकारी, बाल क्लब, किशोरी क्लब, वासगेन्स परियोजना र गुलरिया नगरपालिकाका पदाधिकारीहरूको उपस्थितिमा खुल्ला छलफल मार्फत विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि सँगै सरसफाइ तथा स्वच्छता सम्बन्धी नगर स्तरीय शिक्षा कचहरी कार्यक्रम मङ्गलवार सञ्चालन गरिएको हो ।

गुणस्तरीय शिक्षा र बालबालिकाको चौतर्फी विकासका लागि कचहरी कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि एवम् शाखागत कर्मचारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, बाल क्लब, किशोरी क्लब लगायतका सहभागीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् । कचहरी कार्यक्रममा सहभागीहरूले उठान गरेका जिज्ञासामा गुलरिया नगरपालिकाका नगर उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, शिक्षा शाखा प्रमुख सतिस यादव, नगरपालिकाका वास फोकल पर्सन, वरिष्ठ शाखा अधिकृत एवं सूचना अधिकारी मुकुन्द अर्यालले सम्बोधन गर्नुभएको थियो ।

वाटर एड नेपालको आर्थिक सहयोगमा बेस संस्थाले बर्दियाका ५ वटा पालिकामा वासगेन्स परियोजना सञ्चालन गरेको छ । गुलरिया नगरपालिकाका १० वटा माध्यमिक विद्यालयहरूमा रहेका खानेपानी, सरसफाइ तथा स्वच्छता वातावरणलाई सकारात्मक बनाएर विद्यार्थीहरूको सिकाई उपलब्धि प्रभावकारी बनाउन परियोजनाले झन्डै एक वर्ष अघिदेखि काम गरिरहेको छ । कचहरी कार्यक्रममा गुलरिया नगरपालिकाका १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बाल क्लब, किशोरी क्लबका अध्यक्ष एवम् सचिव र उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, शिक्षा शाखा प्रमुख सतिस यादव, नगरपालिकाका वास फोकल पर्सन, वरिष्ठ शाखा अधिकृत एवम् सूचना अधिकारी मुकुन्द अर्याल तथा वासगेन्स परियोजनाका प्रतिनिधिहरूको उपस्थितिमा बृहत् छलफल भएको हो ।

गुणस्तरीय शिक्षाका लागि कक्षा कोठाको व्यवस्थापन, विद्यालयमा किशोरीहरूले प्रयोग गरेको प्याडको व्यवस्थापन हुनुपर्ने विषय बाल क्लबका पदाधिकारीले उठाएका छन् । त्यसै गरी विद्यालयमा किशोरीहरूले प्रयोग गरेको प्याड जताततै फाल्ने गरेको पाइन्छ । प्रयोग गरेको प्याडलाई व्यवस्थापन गर्न राखिएको डस्टबिनमा फाल्न र खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापनका लागि विद्यार्थी स्वयम जिम्मेवार हुनुपर्नेमा प्रधानाध्यापकहरुले सुझाव थियो ।

गुलरिया नगरपालिका भित्रका विद्यालयहरूको शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने र सरसफाइ तथा स्वच्छताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न हामी सबै मिलेर लाग्नु पर्ने नगरपालिकाका वरिष्ठ शाखा अधिकृत एवम् सूचना अधिकारी मुकुन्द अर्यालले बताउनुभयो । गुलरिया नगरपालिकाका विद्यालयहरूको राम्रो रिजल्ट ल्याउन आफूले गर्नुपर्ने सम्पूर्ण काम गर्ने उहाँले बताउनुभयो । विद्यालयहरूको राम्रो रिजल्ट ल्याउनको लागि योजना बनाएर ल्याउनुस् बजेटका लागि सम्बन्धित निकायसँग आफूले पहल गर्ने बताउनुभयो ।

सामूहिक प्रयासले विद्यालयलाई राम्रो बनाउन सकिने गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनुभयो । विद्यालयमा देखिएका समस्या समाधान गर्न नगरपालिका हातेमालो गर्न तयार रहेको प्रमुख प्रशासकीय अधिकृत शाहले प्रतिबद्धता जनाउनुभयो । खुल्ला छलफलमा वास गेन्स परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि सँगै खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी गरेको काम प्रभावकारी रहेको विद्यालयका पदाधिकारीले बताएका छन् । परियोजना सञ्चालन भएदेखि विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छतामा परिवर्तन हुँदै गएको विद्यालयका पदाधिकारीहरूले प्रतिक्रिया दिएका छन् ।

परियोजनाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि निर्माण गरेको पहुँच युक्त खानेपानी, शौचालय र हात धुने संरचनाको प्रयोग, संरक्षण र व्यवस्थापन गर्नेसमेत नेपाल राष्ट्रिय मावि प्रयागपुरका प्रधानाध्यापक यादव रेग्मीले प्रतिबद्धता जनाउनुभयो । वाटर एड नेपालको आर्थिक सहयोग, बेस संस्था, राष्ट्रिय अपाङ्गता महासङ्घ नेपाल, नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा गुलरिया नगरपालिकामा १० वटा माध्यमिक विद्यालयमा वासगेन्स परियोजना सञ्चालन भइरहेको छ । ती मध्ये पाँच वटा माध्यमिक विद्यालयमा वास गेन्स परियोजनाले किशोर किशोरी पहुँचयुक्त खानेपानी, शौचालय र हात धुने संरचनाको निर्माण तथा पुराना संरचनाको मर्मत सम्भार गरिरहेको छ ।

कचहरी कार्यक्रमको उद्देश्यको बारेमा वासगेन्स परियोजनाका कार्यक्रम संयोजक जगदीश चौधरीले प्रकाश पार्नुभएको र महिनावारी स्वच्छता कार्यक्रम संयोजक मञ्जु भट्टले परियोजनाले गरिरहेको कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो । शिक्षा कचहरी कार्यक्रमको सहजीकरण रेडियो टाइगर एवम् संवाद एफ. एम. बर्दियाका प्रबन्ध निर्देशक भावुक योगीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.