भुरीगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका आसपासका किसानहरू वर्षौँदेखि निकुञ्ज तथा सामुदायिक वन भित्रबाट आएका वन्यजन्तुबाट पीडित छन् । किसानहरूले लगाएको अन्नबाली धान, मकै, गहुँ भित्र्याउन नपाउँदै बाली स्याहार्ने बेला जङ्गली हात्ती, गैँडा, नीलगाई, चित्तल, बँदेल लगायतका वन्यजन्तुले खाएर कुल्चेर नोक्सानी पुर्याउँछन् ।
तर पछिल्लो समय वन्यजन्तु पीडित निकुञ्ज तथा सामुदायिक वन आसपासका किसानहरू वैकल्पिक खेतीको रूपमा बेसार खेतीतर्फ आकर्षित भएका छन् । बेसार खेतीलाई जङ्गली जनावरले क्षति नपुर्याउने भएकाले पनि किसानहरू बेसार खेतीतर्फ आकर्षित भएका हुन् ।बर्दिया निकुञ्ज किनारमा पर्ने ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकाका किसानहरू वन्यजन्तुले क्षति पुर्याउँदा अन्नबालीको उत्पादन लिन नसेकेपछि साहारा कृषक समूहमा आबद्ध ९४ जना मध्ये समूहका आधा ४२ जना किसानहरूले सामूहिक रूपमा बेसार खेती गरी मनग्य आम्दानी गर्न थालेका हुन् ।
व्यवसायीक रूपमा बेसार खेती सुरु गरेपछि दलित महिला उत्थान सङ्घबाट तालिम र बेसारलाई धुलो बनाउने मेसिन, स्थानीय पालिका मधुवन नगरपालिकाबाट ५ लाख ५० हजार रुपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)बाट ८ लाख रुपैयाँ आर्थिक सहयोग पनि पाएका छन् ।समूहमा वार्षिक ९ देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको साहारा कृषक समूहका सचिव नयाँराम सुनारले जानकारी दिनुभयो । सामूहिक रूपमा बेसार खेती गरेर एक जना किसानले आंशिक रूपमा काम गरेर वार्षिक ४० हजार रुपैयाँ आम्दानी गरिरहेका उहाँले बताउनुभयो ।
वन्यजन्तु पीडित किसानहरूलाई बेसार खेतीबाट आफ्नो समस्या टार्न सहज भएको छ । जङ्गली जनावरले धान, मकै, गहुँ लगायतका अन्नबाली नोक्सान पारी दिँदा परम्परागत ढङ्गले खेती गर्दै आएका किसानहरू विकल्पका रूपमा व्यवसायीक बेसार खेती सुरु गरेका हुन् । मधुवन नगरपालिका १ कैलासीमा रहेको साहारा कृषक समूहका सचिव नयाँराम सुनारले विगत ४ वर्षदेखि सामूहिक रूपमा व्यावसायिक बेसार खेती गर्दै आएको बताउनुभयो । पहिलो पटक ४२ विगाह जग्गामा बेसार खेती गरे पनि पछिल्लो समय बजारीकरणमा समस्या हुन थालेपछि हाल झन्डै २२ विगाह जग्गामा बेसार खेती गर्दै आएको उहाँले बताउनुभयो ।
व्यवसायीक बेसार खेती सुरु गरेपछि साहारा कृषक समूहलाई मधुवन नगरपालिकाले टहरा निर्माणका लागि ४ लाख रुपैयाँ, गाडीका लागि १ लाख ५० लाख रुपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटिएसी)ले झन्डै ८ लाख रुपैयाँ बराबरको सहयोग गरेको समूहका सचिव नयाँराम सुनारले बताउनुभयो । दलित महिला उत्थान सङ्घ गुलरियाले किसानहरूलाई वैकल्पिक रूपमा व्यावसायिक बेसार खेतीका लागि तालिम प्रदान गर्नुका साथै मेशिन उपलब्ध गराएको उहाँले बताउनुभयो । यसै गरी मधुवन नगरपालिकाले मेशिन राख्ने टहरा, ढुवानीका लागि गाडी पनि उपलब्ध गराएको उहाँले बताउनुभयो ।
उहाँले सामूहिक रूपमा राम्रोसँग मलजल गरेर प्रति कट्ठा ५ देखि ६ क्विन्टलसम्म बेसार फलाउने गरेको र पहिले खेती बालीबाट अन्न भित्र्याउन नपाएका किसानहरूले पछिल्लो समय बेसार खेतीबाट फाइदा लिइरहेका बताउनुभयो । बेसार खेतीका लागि आफूहरूले साहारा कृषक समूहबाट २ लाख रुपैयाँबाट लगानी गरेर सुरु गरेको बताउनुभयो । उत्पादन गरिएको बेसार हात्ती बेसार ब्रान्ड गरी प्याकिङ गरेर गाउँघरमै बेच्ने गरिएको छ । समूहलाई अहिले बजारीकरणमा समस्या हुँदा बाहिर निर्यात गर्न अझै नसकिएको उहाँको भनाइ छ ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का कृषकसहित मधुवन नगरपालिका १ का गरी ८४ जना किसानहरू समूहमा आबद्ध रहेका छन् । समूहमा आबद्ध मध्ये ४२ जना किसानहरू बेसार खेतीमा जुटेका छन् । समूह भन्दा बाहिरका किसानहरूले उत्पादन गरेको बेसारसमेत प्रति किलो १४ देखि २० रुपैयाँमा किनेर धुलो बनाएर हात्ती बेसार नामका ब्रान्ड गरी प्याकिङ गरेर प्रति किलो २ सय ५० रुपैयाँमा बेच्ने गरेको उहाँले जानकारी दिनुभयो ।
निकुञ्ज किनारका मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले वन्यजन्तुबाट क्षति नहुने खालका खेती गर्न विभिन्न सहयोग गर्न थालेको (एनटिएनसी) राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्राकृतिक स्रोत संरक्षण सहायक उमेश पौडेलले बताउनुभयो । पछिल्लो समय मधुवन नगरपालिकाले पनि यस क्षेत्रलाई बेसार पकेट क्षेत्र घोषणा गरी बेसार खेतीलाई प्रोत्साहन गर्ने प्रयास थालेको जनाएको छ ।