
जन्ममिति: विक्रम संवत् २०१३।०५।०५
सेवा प्रवेश मिति: विक्रम संवत् २०३४।१०।२५ कर्मचारीको रूपमा
शिक्षकको रूपमा नियुक्ति परिवर्तन: विक्रम संवत् २०४५।०३।२५
स्थायी नियुक्ति: विक्रम संवत् २०४८।०८।१०
अवकाश मिति: विक्रम संवत् २०७३।०५।०५
विषय सामाजिक शिक्षा भनिए पनि त्यसमा विश्वको कथा, हाम्रो आर्थिक जीवन, वर्तमान नेपाल, हाम्रा सामाजिक सांस्कृतिक संस्थाहरू, हाम्रो परम्परा, हाम्रो सरकार, अरू देशमा जनजीवन, संसारका विगत महान् सभ्यताहरू, संयुक्त राष्ट्र सङ्घ जस्ता खण्डहरू समावेश थिए । यो विषयमा भूगोलदेखि खगोलसम्म समेटिएकाले पढाउन अलि अप्ठ्यारो पनि थियो । हो, यही विषय पढाउने असल गुरु ओम ढुङ्गाना बारे केही लेख्न मन लाग्यो ।
उहाँ त्यति बेला भर्खर शिक्षक नियुक्त हुनु भएको थियो विक्रम संवत् २०४५ सालमा । त्यसअघि कर्मचारी नै हुनुहुन्थ्यो । हामीलाई सामाजिक पढाउनुभयो । प्राइभेट बाँदरका चार प्रजाति चिम्पान्जी, गोरिल्ला, ओराङगवटन र गिब्बनबारे पहिलो पटक उहाँले नै व्याख्या गर्नुभएको हो । मेरो मनमा लाग्यो, बाँदर भन्दैमा एकै हुँदा रहेनछन् भने हामी मानिसमा एकरूपता खोज्ने भूल गर्छौँ ।
त्यही पुस्तकको अन्तिमतिर समानता भित्रका असमानताहरू भन्ने पाठ पनि थियो । त्यसमा माया, एज्टेक र इन्का सभ्यताको बेली बिस्तार थियो । यो त्यति बेलाको कुरा हो जति बेला हामीलाई, किराँत, नेवार, खस, थारु जस्ता सभ्यताको ज्ञान थिएन । ओम ढुङ्गाना सर पनि विद्यार्थी बिचका समानता भित्रका असमानता बुझेरै होला एकदमै शान्त, संयमित र मौन हुनुहुन्थ्यो ।
संयुक्त राष्ट्र सङ्घबारे बाबुछोराको गन्थन गरेको पाठ थियो । जसबाट बुझियो ह्याभियर पेरेज द कोयार त्यति बेलाका महासचिव थिए । गाउँमा सामान्य ज्ञान, रेडियो, पत्रपत्रिका उपलब्ध नहुने जमानामा हाम्रा लागि यस्ता कुरा अनौठा थिए । किन कि पहिलो पटक ढुङ्गाना सरबाट यो कुरा सुन्दै थियौँ ।
स्कुलमा कुनै कुनै बेला एउटा पत्रिका आउँथ्यो जसको नाम थियो साप्ताहिक मञ्च । त्यसका प्रधान सम्पादक थिए पदम ठकुराठी । पछि उनलाई पञ्चायत भित्रकै कुनै गिरोहले गोली हानेर घाइते बनायो । उनी बाल बाल बाँचे तर एउटा आँखा पूरै गुमाए । उनको पत्रिकामा सुलसुले नामको छोटो स्तम्भ आउँथ्यो । त्यसले पञ्चायती शासनमा प्रस्ट भन्न नमिल्ने विवादास्पद समाचारलाई चाखलाग्दो तरिकाले छोटकरीमा दिन्थ्यो । लैलैमा लागेर केही नबुझे पनि हामी त्यो हेथ्र्यौं, सरहरूले पढिसकेपछि । त्यसमा भएका रमाइला उटपट्याङ कुराबाहेक राजनीतिक कुरा हामी बुझ्दैनथ्यौँ । ओम सरले सामाजिक पढाउँदाको बेलिबिस्तारले मनमा आनन्द जगाउँथ्यो भने यस्ता पत्रिकामा भएका घटना दुर्घटनाले त्यो आनन्द भङ्ग गर्थे ।
दुई महादेशमा फैलिएको देश भनेर सोभियत सङ्घबारे पढाउँदासम्म उहाँ हामी सबैका मनमा फैली सक्नु भएको थियो । चार शहीदका गाथा सुन्दा देशका लागि बलिदान दिन तत्पर रहने प्रण भरिएको थियो । वर्णाश्रमका चार आश्रमबारे सुन्दा सबैभन्दा सजिलो सन्न्यासी हुनु जस्तो लागेको थियो । घरेलु र ठुला उद्योगहरूबारे जान्दा इलमी बन्ने भनेको के हो भन्ने थाहा भयो ।
यी सबै ज्ञानगुनका कुरा एक वर्षमा हाम्रा मस्तिष्कमा भरिदिने गुरु ओम ढुङ्गाना अत्यन्तै सरल, नम्र र मिजासिला हुनुहुन्थ्यो । जाडो महिनामा चउरमा उहाँलाई वरिपरि घेरा हालेर हरियो दुबोका मसिना डाँठ दाँतले कुटुकुटु टोक्दै सामाजिक जीवनका पाठ सुन्दै बिताएका ती क्षणहरू अहिले पनि ताजै छन् । छोटो समयको साथ तर लामो सम्झना छोडेर ओम सरले हाम्रो दिलमा सदाका लागि बास गर्नुभयो ।
कम बोल्ने स्वभावका ढुङ्गाना सरको धेरै काम त एकाउन्टेन्टकै जिम्मेवारी हो । यो जिम्मेवारीमा पनि उहाँको दखल राम्रो रह्यो । मक्कु सर र उहाँको जोडाले धानेको स्कुलको हिसाब किताब सधैँ दुरुस्त रह्यो, उदाहरणीय रह्यो ।