सरस्वती आवि नेउलापुरले ४३ औं वार्षिकोत्सब मनायो
समुदायले अपनत्व लिएमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धी हुन्छ : ठाकुरबाबा नगर प्रमुख
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुरमा रहेको सरस्वती आधारभूत विद्यालय नेउलापुरको ४३औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सरस्वती पूजाका दिन स्थापना भएकोले विद्यालय परिवारले ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल तथा स्थानीय शिक्षाप्रेमि, समाजसेवी तथा अभिभावकहरुको वृहत् सहभागीतामा औपचारिक रुपमा पहिलो पटक यस वर्ष आज सरस्वती पूजाका दिन वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक भरत अधिकारीले विद्यालयको आर्थिक वर्षको विवरण प्रस्तुत गर्दै विद्यालयका विविध विषयमा जानकारीका साथै विद्यालयको संक्षिप्त पृष्ठभुमिका विषयमा जानकारी गराउँदै विद्यालयलाई आगामि दुई वर्ष भित्र नमुना बनाएर देखाउन विद्यालय परिवार लागि परेको बताउनुभयो ।
स्थापनाकालदेखि सम्भवतः हालसम्म विद्यालयले पहिलोपटक आयोजना गरेको ४३औँ वार्षिकोत्सवका अवसरमा झण्डै ४३ वर्ष अघि २०३७ सालमा स्थापना भएको विद्यालय व्यवस्थापन समितीका संस्थापक अध्यक्ष स्वर्गिय जगन्नाथ योगी, सदस्यहरु स्वर्गिय जुगराम थारु, स्वर्गिय बलबहादुर महतरालाई मरोणाप्रान्त सम्मान गर्दै उहाँहरुका घरपरिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । यसैगरि संस्थापक सदस्यहरु रुपलाल शर्मा, गोपाल थारुलाई पनि दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको छ ।
सरस्वती आधारभुत विद्यालय नेउलापुरको ४३औँ वार्षिकोत्सवका अवसरमा विद्यालयका संस्थापक शिक्षक स्वर्गिय मोहननाथ योगीलाई मरोणाप्रान्त सम्मान उहाँका घरपरिवाका सदस्यलाई सम्मान पत्र प्रदान गरिएको छ । यसैगरि संस्थापक शिक्षक लक्ष्मीनाथ योगी, शिक्षक राधेश्याम थारु, घुमलाल चौधरी, लोकनाथ शर्मा, राजेन्द्रप्रसाद शर्मा, शुकबहादुर थारु र खडानन्द ढकाललाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ ।
यस्तै कार्यक्रममा विद्यालय व्यस्थापन समितीका पुर्व अध्यक्षहरु स्वर्गिय देवीराम उपाध्याय, स्वर्गिय राजेन्द्रबहादुर शाह, स्वर्गिय मानसिँह विष्ट, स्वर्गीय छेदा थारु, स्वर्गिय इन्द्रलाल शर्मालाई मारोणाप्रान्त सम्मान घरपरिवारका सदस्यहरुलाई सम्मानपत्र प्रदान गरि सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक भरत अधिकारीले बताउनुभयो ।
यस्तै विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्षहरु लक्ष्मणबहादुर रावत, दुर्गा थारु, चिरन्जीबी योगी (भावुक), दिपबहादुर बोगटीलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ । यसैगरि विद्यालय स्थापनाकालदेखि नै विभिन्न समयमा विद्यालयलाई सहयोग गर्ने नेउलापुर मध्यवर्ती सामुदायिक वन, सोनवर्षा सामुदायिक वन, कोपिला सामुदायिक वन, बेस बर्दिया, भेरी वातावरणिय विशिष्टता समुह (बी-ग्रुप)लाई पनि सम्मान गरेको विद्यालयका प्रधानाध्यापक अधिकारीले बताउनुभयो । यस्तै विगतका वर्षहरुमा विद्यालयमा अध्यापन गरि सरुवा तथा अवकास प्राप्त पुर्व शिक्षकहरुलाई पनि प्रसंसापत्र प्रदान गरि बिदाई गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै विद्याकी देवी सरस्वतीको आरधना, पुस्तक दिवस तथा सरस्वती आधारभुत विद्यालय नेउलापुरको ४३औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै जुन उद्धेश्यका साथ हाम्रा पुर्खाले विद्यालयलाई यहाँसम्म ल्याउनु भएको छ र आगामी दिनमा अघि बढाउने जिम्मा हाम्रै काँधमा रहेको बताउनुभयो । विद्यायलयलाई यहाँसम्म ल्याई पुर्याउनेलाई नगर प्रमुख तिलकराम लम्सालले सम्झिँदै धन्यवाद दिनुभयो ।
“अहिले नगरपालिकाले सामुदायिक द्यिालयमा अध्ययनरत विद्यार्थीहरुका लागि कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान सुरु गरेको छ । शिक्षालाई निःशुल्क गर्दैमा शिक्षामा सुधार भने पक्कै हुँदैन, विद्यालयलाई समुदायले अपनत्व नगरेसम्म शिक्षा गुणस्तरिय हुँदैन” उहाँले भन्नुभयो । आफ्ना छोराछोरीको पढाईका विषयमा अभिभावक र शिक्षकले पनि चाँसो राख्नुपर्ने नगर प्रमुख लम्सालले बताउनुभयो ।
शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउनका लागि पहिले विद्यार्थी, दोस्रो शिक्षक, तेस्रो अविभावक र चौथो सरकारको भुमिका रहेमा विद्यार्थीहरुको शिक्षा सुधार हुने नगर प्रमुख लम्सालले बताउँदै सरस्वती आधारभुत विद्यालय नेउलापुरको वार्षिकोत्सव कार्यक्रममा सहभागि सम्पुर्ण शिक्षाप्रेमी एवम अभिभावकहरु प्रति उहाँले आभार प्रकट गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितका पुर्व अध्यक्ष दुर्गा थारु, समाजसेवी एवम शिक्षाप्रेमी जनार्दन योगी, समाजसेवी, शान्ता भण्डारी, समाजसेवी एवं शिक्षाप्रेमी अर्जुन शर्मा लगायत सम्पुर्ण वक्ताहरुले विद्यालयको वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै विगतमा जस्तै आगामी दिनहरुमा पनि विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर माथी उठाउन सक्दो सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यालयले ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साललाई उहाँकै फोटो मायाँको चिनो स्वरुप प्रदान गरेको छ । यस्तै विद्यालयका पुर्व प्रधानाध्यापक घुमलाल चौधरीले विद्यार्थीहरुलाई खेलकुदका सामग्री प्रदान गर्नुभयो । यसैबीच विद्यालयका पुर्व प्रधानाध्यापकद्धय घुमलाल चौधरी र पंकस थारुलाई वडा नम्बर ३ को कार्यालयले पनि मायाको चिनोसहित सम्मान गरेको छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले विद्यालयको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै समुदायमा अहिले पनि सरकारी र निजि विद्यालयलाई हेरिने दृष्टिकोण फरक भएको उहाँले बताउनुभयो । उहाँले निजि विद्यालयमा सरकारी भन्दा राम्रो पढाई हुन्छ भन्ने गलत धारणा हटाउनुपर्ने र पढाईका लागि उचित किसिमको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । विद्यालयमा भएका विभिन्न समस्या खानेपानी तथा सौचालय तथा अन्य समस्याहरुलाई समाधान गर्न तर्फ आफुले पहल गर्ने समेत उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुपकला कार्कीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष श्रीकृष्ण थारुको विशिष्ट आतिथ्यता एवं संस्थापक अध्यक्षका घरपरिवारका सदस्यहरु, संस्थापक सदस्यहरु, संस्थापक शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु, ठाकुरबाबा नगरपालिकाका शिक्षा सुपरिवेक्षक नन्दराम अधिकारी, विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु, सामुदायिक वनका अध्यक्ष, वडघर, स्थानीय शिक्षाप्रेमी, समाजेवी लगायत अभिभावकहरुको सहगागिता रहेको कार्यक्रम संचालक शिक्षक चुडामणि अर्यालले जानकारी दिनुभयो ।