भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा नि:शुल्क लोकसेवा तयारी कक्षा मंगलबारदेखि सुरु हुने भएको छ । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले नि:शुल्क लोकसेवा तयारी कक्षाको आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको छ ।
ठाकुरबाबा नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा समाज कल्याण उपशाखा तर्फ विनियोजित बजेटबाट नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने लक्षित वर्गका लागि नायव सुब्बा वा पाँचौ तहका लागि निःशुल्क रुपमा लोकसेवा तयारी कक्षा संचालन हुन लागेको हो । नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी, मुक्तकमैया, मुक्त कमलहरी, दलित तथा अपाङगता भएका व्यक्तिहरु गरि ३० जनाका लागि नगरपालिकाले आवेदन खुल्ला गरेको थियो ।
लक्षित वर्ग अन्तर्गतका ३० जनाका लागिलोक सेवा तयारी कक्षा संचालन गर्ने भनिएपनि ७० जनाले आवेदन दिएकाले तालिम प्रदायक संस्थासँग सम्झौता गरि ७० जनालाई नै तालिममा सहभागी गराइने महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख गोगनसरा आचार्यले जानकारी दिनुभयो । बाँकेको नेपालगन्ज स्थित स्किल ट्रेनिंङ्ग रिसर्च कन्सलटेन्सीले विद्यार्थीहरुलाई तालिम प्रदान गर्ने भएको छ । लोकसेवा कक्षा फागुुन १ गतेदेखि बिहान ८ बजेबाट नियमित रुपमा संचालन हुने नगर प्रशासनले जनाएको छ ।