onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

भुरीगाउँ बजारका संस्थापक देवीराम उपाध्यायको सम्मानमा ‘देवीराम चोक’

Sambad ADD long

भुरीगाउँ, बर्दिया : पूर्व–पश्चिम राजमार्ग अन्तरगत ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ भुरीगाउँ बजारको मुख्य चोक अब देवीराम चोक भएको छ । भुरीगाउँ बजारका संस्थापक स्व. देवीराम उपाध्यायको सम्मानमा उहाँको अर्ध कदको सालिक निर्माण गरी चोकको नामकरण गरिएको हो ।

ठाकुरबाबा नगरपालिकाले आइतबार आयोजना गरेको एक औपचारिक कार्यक्रमका बिच स्व. देवीराम उपाध्यायको अर्ध कदको सालिकको अनावरण गर्नु भएको हो । नगर प्रमुख लम्सालले उपाध्यायको अर्ध कदको सालिकमा माला र टिका लगाई उहाँको योगदानको सम्झना गर्नुभयो । नगर प्रमुख लम्सालसँगै उपप्रमुख बिनाकुमारी भट्टराई, वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनाल लगायत स्थानीय बासिन्दाको सहभागितामा चोक अनावरण गरिएको हो ।

कार्यक्रममा उपप्रमुख बिनाकुमारी भट्टराई, वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनाल र स्व. देवीराम उपाध्यायका परिवार तथा भुरीगाउँ बजार क्षेत्रका व्यवसायी तथा राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी सहितले स्व. उपाध्यायको अर्ध कदको सालिकमा टिका लगाई उहाँको सम्झना गरेका छन् ।

कार्यक्रममा स्वर्गीय देवीराम उपाध्यायको संक्षिप्त परिचय सहित उहाँको स्वभावसँगै जीवनी बताउँदै स्वर्गीय देवीराम उपाध्यायका प्रमुख सल्लाहकार समेत रहनुभएका योगराज ढकालले भुरीगाउँ बजारका लागि पुर्‍याउनु भएको योगदानको विषयमा चर्चा गर्नुभयो । स्वर्गीय देवीराम उपाध्यायका प्रमुख सल्लाहकारका रूपमा रहनुभएका योगराज ढकालले उहाँको भुरीगाउँ बजारको स्थापनाका लागि जहिले पनि निरन्तर लागि योजनाका कुराहरू मात्र गर्ने गरेको स्मरण समेत गर्नुभयो ।

साबिकको भेरी अञ्चल दैलेख जिल्लाको साततला गाउँ विकास समिति वडा नम्बर २ हाल आठविस नगरपालिका वडा नम्बर २ साततला गाउँमा बुवा मयाराम उपाध्याय र आमा जयन्ती उपाध्यायका ज्येष्ठ सन्तानका रूपमा देवीराम उपाध्यायको विक्रम संवत् १९८९ पुस १७ गते जन्म भएको थियो । उहाँ २०२९ सालमा बर्दियाको साबिकको नेउलापुर गाउँ विकास समिति भुरीगाउँ आउनुभएको थियो । उहाँ २०३९ सालमा नेउलापुर गाउँ विकास समितिका प्रधानपञ्च भई भुरीगाउँ बजारको परिकल्पना गरी हाल ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बजारको स्थापना गर्नुभएको शिलालेखमा उल्लेख गरिएको छ ।

बजार व्यवस्थापनका लागि स्थानीयहरूले समेत साथ सहयोग गर्नुभएकोमा अहिले भुरीगाउँ बजार ठाकुरबाबा नगरपालिकाकै केन्द्र बन्न सफल भएको छ । यसरी नै आगामी दिनमा भुरीगाउँ बजारलाई अझै सुन्दर, रमणीय तथा व्यवस्थित बनाउनका लागि सबैको साथ र सहयोगका लागि नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिनाकुमारी भट्टराई र वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनालले सबैलाई आग्रह गर्नुभयो ।

यस्तै देवीराम उपाध्यायको परिवारका तर्फबाट बोल्दै खगेन्द्र उपाध्यायले आफू सानैदेखि उहाँकै मायामा हुर्किएको स्मरण गर्दै उहाँले जहिले पनि भुरीगाउँ बजारकै विषयमा कुरा गर्ने गरेको अहिले पनि स्मरण हुने गरेको बताउनुभयो । उहाँले देवीराम उपाध्यायको योजनामा अन्य स्थानीय व्यक्तिहरूले पनि सहयोग गरेको बताउँदै स्थानीय कल्लु थारु, रङ्गबहादुर थापा, जगन्नाथ योगी, भिमलाल थारु, नन्दराम तिमिल्सिना लगायतका व्यक्तिहरूले पनि यसका लागि सहयोग गरेको बताउँदै सहयोग गर्नुभएका सम्पूर्ण व्यक्तिहरूलाई परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्: को हुन् देविराम उपाध्याय ?

Leave A Reply

Your email address will not be published.