भुरीगाउँ, बर्दिया : मानव-वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि गरिएका कार्यहरुको प्रभावकारिता सम्बन्धमा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएका ठाकुरबाबा, मधुवन, बारबर्दिया र बाँसगढी नगरपालिकाका क्षेत्रहरुमा भइरहेका कार्य, चुनौतीहरु, आगामी दिनमा संचालन गर्नुपर्ने कार्यहरुका बिषयमा समेत सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
उज्यालो नेपालका कर्मचारी बद्री बिनोद दाहालले विगत २५–३० वर्षदेखि नै मानव-वन्यजन्तुबीचमा द्वन्द्व देखिएकाले २०५० सालदेखि यता हात्तीबाट सबैभन्दा धेरै ४४ जनाले ज्यान गुमाएको बताउनुभयो । वन्यजन्तुसँग सम्बन्धित घटानामध्ये आर्थिक वर्ष २०७६/७७ देखि यता सबैभन्दा धेरै हात्तीका घटना रहेको उहाँले बताउनभयो । चालु आर्थिक वर्षको हालसम्म मात्र हात्तीका ३६० वटा घटना घटेका छन् । उज्यालो नेपालका कर्मचारी दाहालले बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, सामुदायिक वन आसपासका क्षेत्रमा मानव-वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि अहिलेसम्म गरेका कार्यहरुको बारेमा समेत जानकारी दिनुभयो ।
मानव-वन्यजन्तु सहअस्तित्वका लागि निकुञ्ज आसपासका क्षेत्रमा अहिलेसम्म विद्युतीय तारबारदेखि तोष खन्ने, जैविक सिउँडी काँडाको बार, मेस वायर फेन्स, जि.आई. पाइप फेन्स, आर.सि.सि फेन्स निर्माण लगायतका कार्यहरु गरिएको दाहालले जानकारी दिनुभयो । यसैगरी वन्यजन्तुबाट बच्न र वन्यजन्तु गाउँमा प्रवेश गर्दा वन्यजन्तुबीच कस्तो व्यवहार गर्ने भन्ने बिषयमा सचेतनामुलक कार्यक्रमहरु पनि संचालन गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमलााई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले मानव वन्यजन्तु द्वन्द्व ठाकुरबाबा नगरपालिकासहित मध्यवर्ती क्षेत्रमा पर्ने देशभरिकै पालिकाहरुको साझा समस्या रहेको बताउनुभयो । उपप्रमुख बिनाकुमारी भट्टराईले वन्यजन्तु यहाँको पहिचान भएको बताउँदै पर्यटन क्षेत्रमा वन्यजन्तुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । यस्तै उहाँले सबैको साझा समस्याको रुपमा चुनौतीपूर्ण बन्दै गइरहेको मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि सबैलाई साथ र सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले मानव वन्यजन्त द्वन्द्व न्युनिकरणका क्षेत्रमा भएका कार्यहरु, त्यसको प्रभावकारिता साथै बढ्दो मानव वन्यजन्तु द्वन्द्वलाई कसरी न्यूनिकरण गर्दै लैजान सकिन्छ भन्ने बिषयमा आ–आफ्ना राय एवम् सुझावहरु राखेका छन् । मानव वन्यजन्तु द्वन्द्व रोक्न तथा मानव वन्यजन्तु सहअस्तित्वका लागि परम्परागत ज्ञानसँगै प्रविधिको प्रयोग गर्दै अघि बढ्नुपर्ने सहभागीहरुले बताएका छन् ।