बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिका लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । नगर क्षेत्रमा रहेका क्रियाशील प्राज्ञिक व्यक्तिहरूमध्येबाट नगर प्रमुख तिलकराम लम्सालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गर्नुभएको हो ।
प्रमुख लम्सालले कृष्णप्रसाद पौड्याललाई अध्यक्ष र खगेन्द्रप्रसाद नेपाललाई उपाध्यक्ष पदमा मनोनयन गर्नुभएको छ । जीवराज पाण्डेय, भिख्खुराम थारु, रमेशकुमार घर्ती, जयाराम वि.क., लक्ष्मी पौडेल, रिना शाही प्रज्ञा परिषद्को सदस्यमा मनोनीत हुनु भएको छ । यसै गरी प्रज्ञा परिषद्को सदस्य–सचिवमा शिक्षा शाखा प्रमुख सीता कुमारी भण्डारीलाई मनोनयन गरिएको नगरपालिकाले जनाएको छ । ठाकुरबाबा नगर प्रज्ञा प्रतिष्ठान ऐन २०८० अनुसार प्रतिष्ठान गठन गरिएको नगर प्रशासनले जनाएको छ ।
ऐनबमोजिम नगर उपप्रमुख बिनाकुमारी भट्टराईको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको र समितिले सिफारिस गरेका व्यक्तिहरूमध्येबाट नगर प्रमुख तिलकराम लम्सालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू गर्नु भएको हो । नगरपालिकाले नगरको भाषा, साहित्य, कला, संस्कृतिको उत्थानका लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको नगर प्रमुख लम्सालले बताउनुभयो ।
नगर प्रमुख लम्सालले नगरको समग्र विकासका लागि भौतिक विकासले मात्र नहुने भएकाले अब सबै क्षेत्रको विकासका लागि नगरका हरेक क्षेत्रको सहयोग आवश्यक पर्नेमा जोड दिनु भएको छ । नगरको भाषा, साहित्य ,कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने कार्यमा प्रज्ञा परिषद्का सबै व्यक्तिहरूलाई जिम्मेवार भएर एकताबद्ध रूपमा लाग्न आग्रह समेत गर्नुभयो ।