onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

निर्धन उत्थान लघुवित्तद्वारा व्यावसायिक भैँसी पालन तालिम सम्पन्न

संस्थामा आवद्ध महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा

Sambad ADD long

भुरीगाउँ, बर्दिया : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सदस्यहरूका लागि संचालन गरेको तीन दिने व्यावसायिक भैँसी पालन तालिम सम्पन्न भएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय भुरीगाउँले संस्थामा आवद्ध सदस्यहरूका लागि तीन दिने व्यावसायिक भैँसी पालन तालिमको आयोजना गरेको हो ।

संस्थामा आवद्ध ३५ जना ग्राहक सदस्यहरूलाई भैँसी पालन सिप सिकाउने तथा सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको शाखा कार्यालय भुरीगाउँका प्रमुख हरिबोल भट्टराईले जानकारी दिनुभयो । तालिममा ठाकुरबाबा नगरपालिका पशु सेवा शाखाका प्रमुख अमरबहादुर शाही र पशु सेवा केन्द्र प्रमुख चन्द्रबहादुर महतराले तालिममा सहभागि सदस्यहरूलाई प्रशिक्षण दिनुभएको छ ।

ग्राहक सदस्यहरूलाई व्यावसायिक रूपमा भैँसी पालन गरेर आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने बारेमा सहभागीहरूलाई प्रशिक्षण गराइएको छ । यसैगरी भैँसीका लागि आवश्यक आहाराको जानकारीसँगै, सन्तुलित आहारा बनाउने विधि, गोठ व्यवस्थापनका बारेमा समेत प्रशिक्षण गराइएको शाखा कार्यालय भुरीगाउँका प्रमुख हरिबोल भट्टराईले बताउनुभयो ।

संस्थाले आयोजना गरेको तीन दिने व्यावसायिक भैँसी पालन तालिमबाट प्राप्त ज्ञान व्यवहारिक रुपमा प्रयोग गर्ने र आफ्नो जिविकोपार्जनमा सहज हुने सहभागिहरुको भनाइ छ । चुलोचौकोमा मात्र सिमित महिला दिदीबहिनीहरुका लागि संस्थाले व्यावसायिक रुपमा तालिम प्रदान गरेर परनिर्भरता हटाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरुले बताएका छन् ।

तालिम पश्चात् संस्थामा आबद्ध ग्राहक सदस्यहरूको ज्ञान, सिप, दक्षता र सोचाइमा सकारात्मक प्रभाव पर्नुका साथै महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय भुरीगाउँका प्रमुख हरिबोल भट्टराईले बताउनुभयो ।

व्यावसायिक भैँसी पालन तालिममा सहभागी सदस्यहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । मंगलबारदेखि सुरु भएको तालिम बिहिवार सम्पन्न भएको हो ।

Comments are closed.