onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

तिलकप्रसाद शर्मा शास्त्री: शैले शैले न माणिक्यम्

Sambad ADD long

सुखार्थी त्यजते विद्यां विद्यार्थी त्यजते सुखम् ।
सुखार्थिन: कुतो विद्या कुतो विद्यार्थिनस् सुखम् ॥

अर्थात् सुख खोज्ने व्यक्तिले ज्ञान प्राप्त गर्न सक्दैन र जसले ज्ञान प्राप्त गर्न चाहन्छ उसले सुख त्याग्नुपर्दछ । हामीलाई निम्न माध्यमिक तहमा नेपाली र संस्कृत अनि माध्यमिक तहमा नेपाली पढाउने तिलक सरले कण्ठस्थ पार्न लगाउनु भएका यी उक्तिले शिक्षा आर्जनमा आइपर्ने सबै कष्टलाई हाँसी हाँसी बेहोर्न प्रेरित गरिरहे ।

राधा र सीताका रूप चलाउन हप्तौँसम्म क्लासमा उभ्याएर वाचन गर्न लगाउनु, संस्कृतका क्लिष्ट शब्दहरू, समास, कारक, विभक्ति र यावत् व्याकरणको समग्र ज्ञान नहुने हो भने नेपाली भाषामा कथ्य र लेख्य दुवै क्षेत्रमा सफल हुन सकिँदैन भन्ने उहाँको बुझाइले हामीलाई पनि कष्ट साध्य संस्कृतका शब्दहरूको इतिवृत्तमा चल्न बाध्य बनाए । संयोग नै भन्नुपर्छ आज उहाँ बारे नै यो लेख लेख्ने हिम्मत गरेको छु । नेपाली लेखनमा उहाँकै प्रेरणा र योगदानका कारण केही कनीकुथी लेख्न सकिएको हो । त्यसपछि कलेजमा नेपाली विषय प्राथमिकतामा नपरेकाले सर्वोत्कृष्ट लेखन हासिल गर्न सकिएन जसको छाया यी लेखहरूमा पनि परिरहेको छ, म स्विकार्छु ।

अरू सरहरूले जस्तै उहाँले पनि वर्षा याममा हामी केहीलाई घरमा पढाउनुभयो । भैँसी बान्ने खुला गोठमा दिउँसो सरसर हावा चलिरहेका बेला डोरीले बुनेका खटियामा बसेर कृष्णप्रसाद पराजुलीको राम्रो रचनास् मीठो नेपाली र भानुभक्त पोखरेलको बोध शैली र अभिव्यक्ति पढ्नुको मज्जा नै बेग्लै । तिनै दुई पुस्तकमा रहेका कुराको उहाँले गरेका व्याख्याले नेपाली विषयमा उत्कृष्ट नम्बर ल्याउन सहयोग पुगेको हो । छिनछिनमा कुवामा पानी खान जाने निहुँले कुवाको वरिपरि उम्रेका गोरखपान (जसको फूल खाँदा टिमुरले झैँ मुख रमरमाउँछ, जसलाई रमरम मरौटी पनि भन्छन्) चपाएर निद्रा भगाउनु, जम्ती खोलामा धूपको बेला पौडी खेल्नु अनि नेपाली किताबका विवेचना, प्रसङ्ग व्याख्या र व्याकरणका अभ्यास गर्नु साँच्चिकै मन लाग्ने कुरा थिए ।

कक्षा ९ मा चाँदनी शाहको शान्तिको ध्वनि छर्दै जाऊ भन्ने कविताको ‘ध्रुवतारा जस्तै सधैँ सत्य अटल अमर बनेर, संसारका कुना कुनामा शान्तिको ध्वनि छर्दै जाऊ तिमी…’ भन्ने पङ्क्तिको व्याख्या गर्नुपर्ने थियो । कारणवश मैले त्यो कक्षा छुटाएको थिएँ । होमवर्कमा मैले आफ्नै दिमाग लगाएर त्यसको व्याख्या गरेँ यसरी: ‘जसरी सत्यताको पक्षमा अटल रहेर ध्रुवलाई मानिसहरू सम्झन्छन्, हाम्रा राजालाई पनि मानिसहरू चिरकालसम्म त्यसरी नै सम्झुन् ।’ किन कि त्यस बेला देशभर राजा रानीको बयान बाहेक केही सुनिँदैनथ्यो । मेरो त्यो व्याख्या तिलक सरको रातो मसीले इन्टु लागेर आयो र तल एक अनुच्छेद लेखिएको थियो: प्रस्तुत कवितामा कवयित्री चाँदनी शाहले कर्मठ नेपालीलाई….. आग्रह गरेकी छन् । बल्ल मेरो घैँटोमा घाम लाग्यो । त्यस दिन बुझेँ किन विद्यार्थीलाई एउटा शिक्षकको जरुरत पर्दछ रु ट्र्याकमा ल्याउन ।

विजय मल्लको अन्तिम भोज कथा होस् या क्षेत्र प्रताप अधिकारीको नयाँ वर्ष कविता, भैरव अर्यालको टाउको निबन्ध होस् या नेत्रलाल र कर्णकान्तको कथा, लेखनाथको वसन्त कोकिल, कृष्णप्रसाद भट्टराईको आमा कविता, बालकृष्ण समको इच्छा कविता, देव शमशेर बारेको गलहत्ती एकाङ्की, दसैँ सम्बन्धी टीका एकाङ्की या घनघस्याको उकालो काट्दा जस्तो यात्रा संस्मरण सबै सबै पाठहरूलाई सरल तरिकाले व्याख्या गरिदिएर अहिलेसम्म पनि स्मृतिमा रहन सक्नु उहाँकै कुशल शिक्षण शैलीका कारण सम्भव भएको हो ।

एउटा अर्को प्रसङ्ग जोडौँ

कलहान्तानि हर्म्याणि कुवाक्यान्तं च सौहृदम्।
कुराजान्तानि राष्ट्राणि कुकर्मान्तं यशो नृणाम्॥

अर्थात् कलहले परिवार टुक्रिन्छ, तुच्छ बोली वचनले साथीभाइ टाढा हुन्छन्, खराब शासकका कारण राष्ट्रमा विनाश हुन्छ, कुकर्मका कारण इज्जत प्रतिष्ठा नाश हुन्छ । तिलक सरले सुनाएको पञ्चतन्त्रको यो उक्ति यति बेला हाम्रो परिवेशमा हुबहु मिलिरहेको देख्दा लाग्छ नीतिज्ञहरू पनि एक किसिमका वैज्ञानिक नै हुन् ।

ऐक्यं बलं समाजस्य तदभावे स दुर्बल:,
तस्मात ऐक्यं प्रशंसन्ति दृढं राष्ट्र हितैषिण:

अर्थात् एकता नै समाजको बल हो, एकताहीन समाज कमजोर हुन्छ, तसर्थ राष्ट्रहित सोच्नेहरू राष्ट्रिय एकतालाई जोड दिन्छन् । तिलक सरले सुनाएको संस्कृत सुभाषितको यो उक्ति आजको नेपालमा सान्दर्भिक लागेको छ । सरस्वती पूजामा तिलक सरले
“या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा”

“शुक्लां ब्रह्मविचारसारपरमामाद्यां जगद्व्यापिनीं
वीणापुस्तकधारिणीमभयदां जाड्यान्धकारापहाम्
हस्ते स्फाटिकमालिकां च दधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्”
भनेर सरस्वती पूजा गरेपछि हलुवाको प्रसाद खाँदाको बेला होस् या शिवजीको स्तोत्र
“मन्दारमाला कुलितालकायै
कपालमालाङ्कितशेखराय।
दिव्यम्बरायै च दिगम्बराय
नम: शिवायै च नम: शिवाय ॥”
भनेको बेला होस् नैतिक, धार्मिक तथा सामाजिक आचरणमा सकारात्मक प्रभाव पार्ने कुनै पनि प्रवचनले मन छुन्थ्यो नै ।

उहाँको पाठ्य शैली, गीति शैली र लेखन शैलीले चुरे स्कुलमा अमोट छाप छोडेको थियो । स्कुलका भित्तामा लेखिने वाल पेन्टिङ होस् या कागजमा कोरिने आर्ट, धेरथोर यी सबै कुरामा दखल भएका उहाँका लागि उपयुक्त प्लेटफर्म नभएर पनि होला एक नेपाली पढाउने शिक्षकको पहिचानमा मात्रै खुम्चिएर बस्नु परेको । आजभोलि हामी गुरुलाई दुई कौडीका मान्छे ठान्दैनौँ । सबैले हेला गरिने पात्र बनेका मास्टरहरू । यसैको परिणाम होस् निरन्तर असफल विद्यार्थीहरू ।

मलाई तिलक सरले बताउनु भएको अर्को हितोपदेश सम्झनामा छ:

यथा खनन्खनित्रेण नरो वार्यधिगच्छति ।
तथा गुरुगतां विद्यां शुश्रूषुरधिगच्छति ॥

अर्थात् जसरी जमीनलाई खनेको खन्यै गर्‍योभने पानी निस्कन्छ, त्यसैगरि गुरूको सेवासुश्रुषा (चाकडी हैन) गर्‍योभने ज्ञान प्राप्त हुन्छ, न कि गुरूको निन्दा या अवहेलना गर्नाले । गुरू त्यसबेलामात्र प्रसन्न हुन्छन् जब हामी अध्ययनमा उत्कृष्ट हुन्छौं, उनलाई अरू केही चाहिंदैन हामीले राम्ररी पढिदिए मात्र पुग्छ र यही नै उनका लागि सेवा गरेको ठहर्छ ।

तिलकसर सर्वगुण सम्पन्न मान्छे हुनुहुन्न, कमजोरी उहाँका पनि थिए, मेरा तपाइँका हामी सबैका छन् । तिलक सर जस्तै अन्य सरहरूबारे पनि लेखिरहँदा मलाई तिलक सरले नै भनेको यो उक्ति याद आउँछ:
आरोप्यते शिला शैले यथा यत्नेन भूयसा ।
निपात्यते सुखेनाधस्तथात्मा गुणदोषयो:॥

अर्थात् ठूलो ढुंगालाई पहाडको चुचुरोमा बोकेर लैजानु जति गाह्रो छ, त्यसबाट खसाल्नु त्यति नै सजिलो । मान्छेलाई पनि सद्गुणले युक्त गर्नु जति कठिन छ, उस्का दुर्गुण औंल्याएर खसाल्नु त्यति नै सहज । हितोपदेशको यो श्लोकलाई विचार गरी म कठीन काम रोजिरहेको छु र व्यक्तिगत नकारात्मक कुराहरू लेख्नु जस्तो सजिलो काम गर्न मलाई पटक्कै मन लाग्दैन । त्यस्तो कुरा लेखूँ जुन अहिलेको र भावी पुस्ताको लागि प्रेरक बन्न सकोस् ।

अन्तत:
शैले शैले न माणिक्यं मौक्तिकं न गजे गजे ।
साधवो न हि सर्वत्र चन्दनं न वने वने ॥

अर्थात् सबै पर्वतमा माणिक नभएझैं, सबै हात्तीमा मोतीनभेटिए झैं, सबै ठाउँमा साधु नमिले झैं, सबै वनमा चन्दन नभेटिए झैं, सबै स्कूलहरूमा तिलकसर जस्ता शिक्षक भेटिंदैनन् ।

Leave A Reply

Your email address will not be published.