भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरणका लागि नाप नक्सा शुरु
आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन नगर प्रमुखको आग्रह
भुरीगाउँ, बर्दिया : भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरणका लागि ठाकुरबाबा नगरपालिकाले मंगलबारबाट जग्गा नाप नक्सा शुरु गरेको छ । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि ठाकुरबाबा नगरपालिकाले मंगलबारदेखि वडा नम्बर ५ को अरहरिया फाँटाबाट जग्गा नाप नक्सा कार्यको सुरुवात गरेको हो ।
भूमिहीन दलित, सुकुम्बासी, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय ठाकुरबाबा नगरपालिकाको आयोजनामा नगर प्रमुख तिलकराम लम्साल र बिनाकुमारी भट्टराईले जग्गाको नाप नक्सा कार्यको उद्घाटन गर्नुभयो । राष्ट्रिय भूमि आयोग बर्दियाका अध्यक्ष बिनाराम थारु, नापी कार्यालय बर्दियाका प्रमुख किसनसिँह बिष्ट लगायत जनप्रतिनिधिहरु, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको उपस्थितिमा जग्गाको नाप नक्सा कार्य शुरु गरिएको नगरपालिकाका प्रशासन शाखा अधिकृत अनन्तराज सुवेदीले जानकारी दिनुभयो ।
जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्ति उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीहरुलाई नगर प्रमुख तिलकराम लम्साल र उपप्रमुख बिनाकुमारी भट्टराईले आग्रह गर्नुभयो । प्राविधीक कर्मचारीहरु नाप नक्साका लागि स्थलगत रुपमै खटाइएको र समयमै नापनक्साको कार्य सम्पन्न गरेर चाँडै लालपूर्जा वितरण गरिने नगर प्रमुख लम्सालले बताउनुभयो । जग्गा नाप नक्सा गर्ने क्रममा साना साना कुरामा चित्त नदु:खाउन तथा कुनैपनि समस्या भए वडा तथा नगरपालिकामा जानकारी दिन लम्सालले अनुरोध गनुभयो ।
जग्गा नाप नक्सा सुरुवात कार्यक्रमको उद्घाटनमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तथा स्थानीय भूमिहीन सहजिकरण समितीका संयोजक तिलकराम लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बिनाकुमारी भट्टराई, राष्ट्रिय भूमि आयोग बर्दियाका अध्यक्ष बिनाराम थारु, नापी अधिकृत किसनसिँह बिष्टको सहभागिता रहेको थियो ।