भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका-१, भुरीगाँउमा शाखा कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सदस्यहरूका लागि तीन दिने व्यावसायिक भैँसी पालन तालिम सञ्चालन गरेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय भुरीगाउँले संस्थामा आवद्ध सदस्यहरूका लागि तीन दिने व्यावसायिक भैँसी पालन तालिमको आयोजना गरेको हो ।
संस्थामा आवद्ध ३५ जना ग्राहक सदस्यहरूलाई भैँसी पालन सिप सिकाउने तथा सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको शाखा कार्यालय भुरीगाउँका प्रमुख हरिबोल भट्टराईले जानकारी दिनुभयो । मंगलबारदेखि सुरु भएको तालिम बिहिवार सम्पन्न हुनेछ । तालिममा ठाकुरबाबा नगरपालिका पशु सेवा शाखाका प्रमुख अमरबहादुर शाही र पशु सेवा केन्द्र प्रमुख चन्द्रबहादुर महतरालेप्रशिक्षण दिनुहुने संस्थाले जनाएको छ । ग्राहक सदस्यहरूलाई व्यावसायिक रूपमा भैँसी पालन कसरी गर्न सकिन्छ भन्ने बारेमा सहभागीहरूलाई प्रशिक्षण गराइने जनाइएको छ ।
यसैबीच निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्यहरूका कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने छोराछोरीहरुमध्ये १-१ जना छात्र र छात्रालाई पढाईप्रति हौसला बढाउने उद्देश्यले जनही दस हजार रुपैयाँ प्रदान गरेको शाखा प्रमुख भट्टराईले बताउनुभयो । कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष निमराज खनालको प्रमुख आतिथ्यता रहेको थियो ।