भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले वडा नम्बर १ भुरीगाउँ बजार क्षेत्रमा पर्ने पुर्व-पश्चिम राजमार्गको दायाँ-बायाँ २५-२५ मिटर सडक किनारमा रहेका स्थायी तथा अस्थायी संरचना हटाएर बजार क्षेत्रमा पर्ने सडक चौडा गर्ने कामलाई निरन्तरता दिएको छ ।
ठाकुरबाबा नगरपालिकाले सूचना जारी गर्दै तत्कालका लागि भुरीगाउँ बजार क्षेत्रको झण्डै एक किलोमिटर क्षेत्रमा पर्ने राजमार्ग किनारका अस्थायी तथा स्थायी संरचना हटाएर सडक चौडा गर्ने कामलाई एक साता अघि माघ १५ गतेदेखि सुरु गरेको हो ।नगरपालिकाको जेसिभी र नगर प्रहरीको टोली खटिएर राजमार्ग किनारमा संरचना हटाउँदै माटो तथा ग्राभेल सम्याउने काम गरिरहेको छ ।
बजार क्षेत्रमा पर्ने राजमार्गको बीच भागबाट २५ मिटर भित्र रहेका केहि स्थायी तथा अस्थायी संरचना हटाउनका लागि नगरपालिकाले १५ दिने सुचना जारी गरेको छ । संरचना नहटाएमा नगरपालिकाले नगर प्रहरी र जेसीभीको सहायताबाट हटाउने जनाएको छ । भुरीगाउँ बजार क्षेत्रको सडक चौडा गर्न थालेपछि बजार क्षेत्रमा हुने दुर्घटना न्युनिकरण हुने र बजार क्षेत्र शुन्दर तथा व्यवस्थित देखिने अपेक्षा गर्दै नगरपालिकाले सुरु गरेको काम प्रति स्थानीय नगरबासीले प्रशंसा गर्न थालेका छन् ।
भुरीगाउँ बजार क्षेत्रमा पर्ने सडक क्षेत्र चौडा गर्न थालेपनि सडक छेमै रहेका विद्युतका पोल र सोलर बत्तीका पोलले गर्दा सममस्या भएको छ । विद्युतका पोल व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिमसंगै शुन्दर र व्यवस्थित नदेखिएको स्थानीयले गुनासो गरेका छन् । सडक किनारमा रहेका विद्युतका पोल नहटाइँदा काममा समेत बाधा पुगेको छ । विद्युतका पोल सार्ने काम छिटो सुरु हुनुपर्ने स्थानीयबासीले माग गरेका छन् । सधैं हिलाम्य र धुलाम्य हुनेभुरीगाउँ बजार क्षेत्रका व्यापारीका पसल तथा घर अगाडीको सडक चौडा भएपछि स्थानीयको मनमा खुसी छायो । तर, सडक छेउमै रहेका विद्युत पोल देखेर स्थानीयबासीको मन खिन्न छ ।
पसल र घर अगाडी सडक चौडा त बन्यो, सडक छेउमा रहेका विद्युतका पोलहरु अझैँ सारीएको छैन कुनै दिन यि विद्युतका पोलले सडक दुर्घटना गराउने बेर छैन । बजार पनि शुन्दर र व्यवस्थित देखिएन स्थानीय गणेश बहादुर कठायतले भन्नुभयो । विद्युतका पोल अहिलेसम्म हटाउन कसैले चासो नदिएको उहाँले गुनासो पोख्नुभयो । सडक निर्माण गर्ने क्रममा विद्युत पोलको व्यवस्थापन नगरिदा दुर्घटनाको जोखिम बढाएको हो ।
यसै सन्दर्भमा बजार क्षेत्रका विद्युतका पोल व्यवस्थापन गर्ने काम कहिले हुने भन्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालसंग कुराकानी गर्दा विद्युत प्राधिकरण वितरण शाखा गुलरियाका प्रमुखसंग निरन्तर संवाद भईरहेको छ, पोल हटाउने र सार्ने काम सुरु गराउन आग्रह गरिएको छ, केहि दिन भित्रमा सुरु हुने उहाँले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाले भुरीगाउँ बजार क्षेत्रमा सडक चौडा गर्ने काम सुरु गरेको र विद्युतका पोल व्यस्थापन गर्नुपर्ने भन्ने जानकारी पाएपछि तत्काल बजार क्षेत्रका विद्युतका पोल व्यवस्थापन गर्ने विद्युत प्राधिकरण वितरण शाखा गुलरियाका प्रमुख नारायण अर्यालले बताउनुभयो ।