onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

गणपति लघुवित्तद्वारा सदस्यहरूलाई व्यावसायिक बाख्रा पालन तालिम प्रदान

Sambad ADD long

बाँसगढी, बर्दिया : बाँसगढी नगरपालिकामा एक दिने व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बाँसगढीले सिप विकास तालिम अन्तरगत सदस्यहरूका लागि एक दिने व्यावसायिक बाख्रा पालन तालिमको आयोजना गरेको हो ।

संस्थामा आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बाख्रा पालन गरिरहेका ३१ जना ग्राहक सदस्यहरूलाई तालिम प्रदान गरिएको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको अनुगमन कार्यालय बाँसगढीका अनुगमन अधिकृत गोकर्णप्रसाद जोशीले जानकारी दिनुभयो । तालिमका प्रशिक्षक बाँसगढी नगरपालिका पशु शाखामा कार्यरत पशु प्राविधिक घनश्याम तिवारीले व्यावसायिक रूपमा बाख्रा पालन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै व्यावसायिक बाख्रा पालनको फाइदाका बारेमा सहभागीहरूलाई प्रशिक्षण गराउनु भएको जनाइएको छ ।

पशु प्राविधिक तिवारीले बाख्रा पालन गर्दा खोरको व्यवस्थापन गर्ने तरिकाबारे बताउँदै खोर व्यवस्थापन नहुँदा बाख्रामा लाग्ने रोगहरूका बारेमा जानकारी दिनुभयो । बाख्राका लागि आवश्यक सन्तुलित आहाराको जानकारीसँगै, सन्तुलित आहारा बनाउने विधिको बारेमा समेत प्रशिक्षार्थीहरूलाई जानकारी दिनुभयो । गणपति लघुवित्त वित्तीय संस्थाका तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाको प्रमुख आतिथ्ययता तथा शाखा प्रबन्धक हिक्मत ढकालको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण शाखाका सहायक लोकेन्द्रप्रसाद भट्टले गर्नु भएको थियो भने पशु शाखा कार्यालय बाँसगढीका पशु विकास अधिकृत ठाकुरदयाल शाहको समेत उपस्थिति रहेको थियो । व्यावसायिक बाख्रा पालन तालिममा सहभागी सदस्यहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.