onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नार्कको अर्धवार्षिक प्रगति समीक्षा र अगामी बजेट कार्यक्रम गोष्ठी सुरु 

Sambad ADD long

काठमाण्डौ : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले सरकारको नीति, लक्ष्य र उद्देश्य प्राप्त हुने गरी काम गर्नुपर्ने बताउनु भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा आर्थिक वर्ष २०८०/८१को अर्धवार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रम गोष्ठीलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक भट्टराईले यस्तो बताउनु भएको हो ।

आफ्नो जिम्मेवारी पूरा नगर्नेलाई कुनै किसिमको छुट नहुने बताउँदै उहाँले सबैले आफ्नो तोकिएको जिम्मेवारी पुरा गर्नुपर्ने निर्देशन दिनुभयो । धान, गहुँ, मकै लगायतका बालीको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने गरी अगाडी बढिरहेको सरकारको लक्ष्य पुरा गर्नका लागि नार्कका वैज्ञानिक र कर्मचारीले सोही अनुसार आफ्नो जिम्मेवारी पुरा गर्दै अगाडी बढ्नुपर्ने समेत उहाँले बताउनुभयो ।

नार्कमा काम गर्ने कर्मचारी र वैज्ञानिकहरू व्यक्तिगत चाहनामा भन्दा पनि सरकारको लक्ष्य, नीति र उद्देश्यलाई आधार मानेर अनुसन्धानका कार्यक्रमहरू तय गर्नुपर्नेमा जोड दिँदै  कार्यकारी निर्देशक भट्टराईले व्यक्तिगत चाहना र शोचबाट माथि उठेर संस्था र देशको आवश्यकतालाई विचार गरी जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले जिम्मेवारीबाट पन्छिएर असान्दर्भिक कार्यहरूमा रुमल्लिने छुट अब कसैलाई पनि नभएको बताउनुभयो ।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो सत्रको कार्यक्रममा नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे, बाली तथा बागवानी अनुसन्धान निर्देशक टिकाबहादुर कार्की, प्रशासन निर्देशक युवराज भुसाल, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. निना गोर्खाली, विभिन्न केन्द्रका प्रमुख र कार्यक्रम संयोजकहरू, योजना अधिकृत तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रमको दोस्रो सत्र नारी भवनको सभाहल र नास्री भवनको सभाहलमा छुटाछुटै गरी दुई ठाउँमा भएको थियो । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार कार्यक्रममा विभिन्न कार्यालयका अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्नुका साथै तिनको समीक्षा र आगामी वर्षको अनुसन्धान कार्यक्रमहरूको प्रस्तुति भएको थियो ।

खुमलटारस्थित नार्क अन्तर्गतका कार्यालयहरुको गत ६ महिनामा पुँजीगत र अनुसन्धानका कार्यक्रममा लक्ष्य अनुसार सन्तोषजनक प्रगति भएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रम बुधवार र बिहीबार गरी दुई दिनसम्म चल्नेछ ।

Leave A Reply

Your email address will not be published.