ठाकुरबाबाको दाेस्राे त्रैमासिक तथा अर्धवार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले दोस्रो त्रैमासिक तथा अर्धवार्षिक सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । ठाकुरबाबा नगरपालिकाबाट प्रवाह भइरहेको सेवा सुविधा तथा वार्षिक कार्यक्रमको प्रभावकारीताका विषयमा चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक सार्वजानिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाको आयोजना तथा परिमार्ग मिडिया सेन्टर गुलरिया बर्दियाको सहजीकरणमा वडा नम्बर ६ को बकुवामा एक औपाचारिक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको नगरपालिका प्रशासनले जनाएको छ । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रममा विभिन्न वडाका नागरिकहरुले आ–आफ्नो क्षेत्रमा भएका जनगुनासो, आशा, अपेक्षा सल्लाह तथा सुझावका साथै सवालहरु राखेका छन् । नागरिकहरुबाट आएका विभिन्न सबाल तथा जिज्ञासाहरुको नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिनाकुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल र वडा नम्बर ६ का वडाअध्यक्ष जयप्रसाद पौड्यालले जवाफ प्रस्तुत गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।
नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बिना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, वडा नम्बर ६ का वडाअध्यक्ष सहित विभिन्न वडाका अध्यक्षहरु, शिक्षा शाखा प्रमुख सिताकुमारी भण्डारी, शिक्षा सुपरिवेक्षकद्वय नन्दराम अधिकारी र नवराज ढुङ्गाना लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, जेष्ठ नागरिक, लगायत सम्पुर्ण सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।