राजापुर, बर्दिया : बाल अधिकार संरक्षण समितिसँग आपातकालीन अवस्थामा बाल संरक्षणका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा नम्बर ८ मा आपातकालीन अवस्थामा बाल संरक्षण, शिक्षा, प्रजनन स्वास्थ्य अधिकार, यौनिक तथा लैङ्गिक हिंसाका मामिला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रले राजापुर नगरपालिकाको सहकार्यमा राजापुर नगरपालिकामा बालिका सशक्त परियोजना सञ्चालन गरिरहेको छ । अभिमुखीकरण कार्यक्रममा उपस्थित सोही वडामा सञ्चालनमा रहेका विद्यालयका प्रधानाध्यापक, वडाका जनप्रतिनिधिहरू तथा बाल क्लबका प्रतिनिधीहरुले बिपदको समयमा बाल बालिकाहरूको संरक्षण कसरी गर्ने भन्ने बारेमा आफ्नो धारणा प्रस्तुत गरेका छन् ।
राजापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकिरण थारुको प्रमुख आतिथ्ययतामा सञ्चालन भएको कार्यक्रमलाई नगरपालिकाको महिला बालबालिका एवम् ज्येष्ठ नागरिक शाखा प्रमुख रिता चौधरीले सहजीकरण गर्नुभएको थियो।