onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : बजारक्षेत्रमा सडक छेउका सामग्रीहरु हटाउन सुरु

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले सडक वरपर रहेका सामाग्रीहरु हटाउन सुरु गरेको छ । सडक क्षेत्र वरपर रहेका सामाग्रीहरु हटाउनका लागि ठाकुरबाबा नगरपालिकाले ३ दिने सूचना जारी गरेसंगै सोमबारदेखि हटाउन सुरुवात गरेको हो ।

सोमबारदेखि भुरीगाउँ बजारको ५०० मिटर पश्चिम तर्फबाट पूर्व-पश्चिम राजमार्ग सडकको विचबाट २५ मिटर दायाँबायाँका सामग्रीहरु नगर प्रहरी सहितको टोलीले हटाउन सुरु गरेको नगरपालिका प्रशासनले जनाएको छ । यस्तै हुलाकी सडक अन्तर्गत गुलरिया–भुरीगाउँ सडकको विचबाट १५ मिटर, आम्बासा–ठाकुरद्वारा सडकको विचबाट १२ मिटर र अन्य सडकहरुको विचबाट १० मिटर दाँयाबाँयाका सामाग्रीहरु हटाइने नगर प्रशासनले जनाएको छ ।

नगरपालिका भित्रका भुरीगाउँ, ठाकुरद्वारा, बगनाहा, शाहिपुर र बकुवा लगायतका मुख्य बजारहरुलाई व्यवस्थित बनाउनका लागि सामग्रीहरु हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । बजारको सौन्दर्यता र गरिमा बढाउनुका साथै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले नगर प्रहरी सहितको टोलीले सडक छेउका सामाग्रीहरु हटाउन सुरु गरेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको सूचनालाई वेवास्ता गरि प्रतिकुल कार्यहरु गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने समेत नगरपालिका प्रशासनले जनाएको छ ।

बजारक्षेत्रमा सडकको दाँयाबाँया किनारमा राखिएका फ्रेस हाउस, हार्डवेयर तथा फेन्सीका सामाग्रीहरु, भर्‍याङ्ग लगायतका निर्माण सामाग्रीहरुका कारण बजारको सौन्दर्यता बिग्रने र दुर्घटनाको जोखिम समेत रहेकाले व्यवस्थापन गर्नका लागि भन्दै यसअघि नै नगरपालिकाले सूचना जारी गरेको थियो । सूचनामा भुरीगाउँ लगायत बजारक्षेत्रमा सञ्चालित अटो रिक्सा र ई–रिक्सालाई व्यवस्थित गर्नका लागि नगरपालिकाले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गरि व्यवस्थित रुपले सञ्चालन गर्न समेत आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.