काठमाण्डौ : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराईले खाद्य तथा पोषण सुरक्षाका लागि नार्कका वैज्ञानिकहरुले गरेका अनुसन्धान फलदायी रहेको बताउनु भएको छ । नार्क अन्तर्गतको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले आयोजना गरेको संकटको बेला तरकारीको बजार व्यवस्थापन विषयक १ दिने कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै डा. भट्टराईले संकट र महामारीको बेला खाद्यसुरक्षा पनि संकटमा पर्ने हुनाले त्यस्तो बेलामा जोखिमबाट जोगिएर गरिने कृषि उत्पादन र व्यवस्थापनले ठूलो महत्व राख्ने बताउनुभयो ।
अष्ट्रेलियाको एसिआइएआर, यूनिभर्सिटी अफ न्यू इंगल्याण्ड र नार्कको सहकार्यमा सञ्चालित तरकारीको आपूर्ति श्रृंखलामा संकटका कारण उत्पन्न हुने व्यवधान र तिनको न्यूनीकरणका उपायहरुबारे गरिएको अनुसन्धानका मुख्य उपलब्धि सरोकारवालाहरु माझ पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा मुख्य अनुसन्धानकर्ता दीपा देवकोटाले कोभिड जस्ता महामारी र अन्य संकटका बेला महिला र पुरुष कृषकहरुमा फरक किसिमले प्रभाव पार्ने जानकारी दिनुभयो । उहाँले चितवन र धादिङका २०० भन्दा बढी तरकारी उत्पादकहरुमाझ गरिएको अनुसन्धानको नतिजाले संकटका बेला उत्पादनमा ह्रास र उत्पादनोपरान्तको क्षति उल्लेखनीय रुपमा बढ्ने गरेको बताउनुभयो । यस्तो संकटको बेला उत्पादन सामग्रीको अभाव हुने र महिला कृषकलाई संकटको बोझ बढी हुने गरेको पाइएको समेत उनले जानकारी दिनुभयो । यस्ता व्यवधानबाट हुने नोक्सानी न्यूनीकरण गर्न प्राङ्गारिक मलखादको उपयोग, बीउवृद्धिका कार्यक्रमहरु, उत्पादनोपरान्तका प्रविधिको अवलम्बन, सामुहिक बजारीकरण जस्ता उपाय समेत सुझाइएको बताउनुभयो ।
कार्यक्रममा प्रस्तुति दिंदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तर्फबाट सुनिता पाण्डेले कोभिड महामारीको बेला अनलाइन मार्केटिंगको अवधारणा प्रभावकारी रहेको र संकटमोचनका उपायहरु वृहत भन्दा स्थानीय र सानो तहमा बढी प्रभावकारी भएको बताउनुभयो । मूल्यश्रृंखला विकास परियोजनाको तर्फबाट शिवसुन्दर श्रेष्ठले संकट व्यवस्थापनमा स्थानीय सरकारको दायित्व प्रष्ट देखिएको बताउनुभयो । उहाँले मूल्य श्रृंखला विकास परियोजनाको कार्यान्वयन पनि कोभिडको संकट उच्च रहेको बेलामा भएको तर नार्कका वैज्ञानिकहरुले उत्पादनोपरान्तका उपयुक्त प्रविधि विकासमा उल्लेखनीय योगदान गरेकाले ती प्रविधिहरु आउँदा संकटमा पनि काम लाग्ने बताउनुभयो ।
सभापतिको मन्तव्य राख्दै राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्णप्रसाद तिमसिनाले परियोजनाले संकटका बेला तरकारी व्यवस्थापनका धेरै महत्वपूर्ण पक्षहरु उजागर गरेको र समाधानका उपाय पनि सुझाएको हुँदा ती सुझावलाई नीतिगत तहमा लागू गर्न सके किसानका लागि र उपभोक्ताका लागि फलदायी हुने बताउनुभयो । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले संकट जुनसुकै बेला पनि आउनसक्ने हुनाले नेपालको कृषिमा जोखिम उत्पन्न हुन नदिन यस्ता किसिमका अनुसन्धान र तिनका प्रतिफलहरु उपयोगी हुने जानकारी दिनुभयो ।
प्राविधिक सत्रका सञ्चालक नार्कका बाली तथा वागवानी अनुसन्धान निर्देशक डा. टिकाबहादुुर कार्कीले कार्यक्रमका प्रस्तुतिहरुले संकटमा तरकारीको आपूर्ति शृङ्खलामा आइपर्ने व्यवधान निवारण गर्न नीतिगत सुझाव दिएको र परियोजनाबाट प्राप्त उपलब्धिहरुलाई अँझै व्यापक रुपमा सरोकारवालाहरु समक्ष पुर्याउनुपर्ने खाँचो रहेको बताउनुभयो । कार्यक्रममा नार्कका योजना तथा समन्यव निर्देशक डा. लुमानिधि पाण्डे, विभिन्न अनुसन्धान केन्द्रका प्रमुखहरु, वैज्ञानिकहरु तथा कृषि प्रसारकर्ताहरूको सहभागिता रहेको थियो ।