onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

‘टुर डे ठाकुरद्वारा’को तयारीमा तीव्रता

Sambad ADD long

बर्दिया : नेपालगन्ज साइकल उत्सव अन्तरगत छैटौँ संस्करणका लागि आयोजना गरिन लागेको ‘टुर डे ठाकुरद्वारा’को तयारीलाई तीव्रता दिइएको छ । तयारीका लागि विभिन्न जिम्मेवारी तोकेर आयोजकहरू सक्रिय रूपमा लागेको आयोजक संस्थाले जनाएको छ ।

स्रोतको सुनिश्चिततानै चुनौती बनेको बताउँदै नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटा र इभेन्ट डाइरेक्टर सतिश निरौला काठमाण्डौ पुगेको सञ्चार समितिका सदस्य विष्णु कँडेलले जानकारी दिनुभयो । सञ्चार सदस्य कँडेलका अनुसार तयारीका लागि आवश्यक स्रोत र राष्ट्रिय-अन्तर्राष्ट्रिय सहभागिताका लागि अध्यक्ष सापकोटा र वर्तमान अध्यक्ष निरौला काठमाण्डौ जानुभएको हो ।

इभेन्ट डाइरेक्टर निरौलाले काठमाण्डौमा आफूहरू विभिन्न निकायमा स्रोतका लागि प्रस्ताव लिएर गएको बताउनुभयो । फोन पे, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल टेलिकम, राष्ट्रिय खेलकुद परिषद् लगायतका कार्यालयमा प्रपोजल दिएको जानकारी दिँदै सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएकाले आफूहरू उत्साहित भएको बताउनुभयो । टुर डे ठाकुरद्वारामा सहभागिता जनाउन काठमाण्डौ, ललितपुर, भक्तपुर लगायतका साइकल प्रेमीहरूसँग भेटघाट गरी निमन्त्रणा समेत गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा पनि तयारीलाई तीव्र पारिएको आयोजक संस्था नेपालगन्ज साइक्लिङ क्लबका सचिव इन्द्र गिरिले बताउनुभयो । सचिव गिरिका अनुसार, बाँके र बर्दियाका स्थानीय सरकारसँग भेटघाट र छलफल अगाडि बढाइएको छ भने स्थानीय उद्योगी, व्यवसायी लगायत सरोकारवाला सँग छलफल र आयोजनाका बारे विमर्श गरिएको छ ।

नेतृत्व नेपालगन्ज फर्किएपछि सबै तयारीले मूर्तरूप पाउने बताउँदै क्लबका सदस्य कँडेलले माघ २० गतेसम्म तयारी सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो । दैनिक नेपालगन्जबाट साभार

Leave A Reply

Your email address will not be published.