onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

चुरेसँगको मेरो सामीप्ययता र अङ्ग्रेजी माध्यमको सुरुवात

Sambad ADD long

यस क्षेत्रकै अग्रणी र महत्त्वपूर्ण शिक्षण संस्थाको रूपमा पहिचान बनाउन सफल चुरे माध्यमिक विद्यालय, बगनाहाको बारेमा आफूभन्दा ठुला, अग्रज र शिक्षकहरूबाट बाल्यकालदेखि नै प्रशस्त चर्चा परिचर्चा सुनेता पनि यस विद्यालयबाट औपचारिक शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्नबाट भने बञ्चित रहेँ । तर पनि चुरेको सामीप्यताबाट भने कहिल्यै टाढा नभएको महसुस सदैव भई नै रह्यो ।

यद्यपि चुरेसँगको पहिलो औपचारिक सामीप्ययता भने विक्रम संवत् २०४७ साल माघ २९ गतेदेखि सञ्चालन भएको एसएलसी परीक्षाको लागि त्रिभुवन माध्यमिक विद्यालय, सूर्यपटुवाको परीक्षार्थीको रूपमा भएको थियो । एसएलसी परीक्षार्थीको रूपमा केवल ७ दिन चुरेको काखमा बिताएका पलहरू नै मेरो जीवनलाई पुनः डोर्‍याउँदै चुरेकै सामीप्ययतामा बिताउने स्वर्णिम दिनहरू बन्न पुगे । एसएलसी परीक्षापछि पनि विभिन्न समयमा विभिन्न उद्देश्यले पटक पटक चुरेको आत्मीयता महसुस गर्ने अवसर मिले तापनि औपचारिक रूपमै चुरे प्रवेश गर्ने अवसर भने चुरे माध्यमिक विद्यालय परिवारकै अगुवाइमा बर्दिया जिल्लाको दोस्रो क्याम्पसको रूपमा चुरे क्याम्पसको स्थापनासँगै प्राप्त भएको हो ।

बगनाहामा क्याम्पस स्थापनाको प्रसङ्ग सुरुवात भएसँगै क्याम्पस अध्यापन गर्नका लागि सम्भावित जनशक्तिको खोजी गर्ने क्रममा चुरे माध्यमिक विद्यालय तथा प्रस्तावित चुरे क्याम्पसका अध्यक्ष डवलसिंह साउँद, प्रधानाध्यापक तथा क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्याल, आदरणीय व्यक्तित्व हरिप्रसाद जोशी र तत्कालीन बबई क्याम्पस गुलरियाका क्याम्पस प्रमुख भैरवबहादुर विष्टबाट चुरे क्याम्पसमा जनसङ्ख्या विषय अध्यापन गर्नका लागि विद्यालयमा सरुवा भई आउन प्रस्ताव आएपछि चुरेमा सेवा गर्ने अवसर पाउने कुराले साँच्चै गर्वको महसुस गरेँ । त्रिभुवन विश्वविद्यालयबाट चुरे क्याम्पसको सम्बन्धन सँगै विक्रम संवत् २०६३ कार्तिक २७ गतेदेखि शुभारम्भ भएको वि एड प्रथम वर्षको पहिलो दिनको कक्षासँगै सुरु भएको चुरेको सामीप्ययताको यात्रा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पूर्णपुर, सानोश्रीबाट सरुवा भई २०६४ भदौ २७ गते चुरे माध्यमिक विद्यालय, बगनाहामा हाजिर भएसँगै अझ कसिलो बन्न पुग्यो ।

परिवर्तन आफैबाट सुरु गर्नु पर्छ भन्ने मान्यताका साथ चुरेमा अध्यापन गर्ने शिक्षकहरूले आ–आफ्ना सन्तानहरूलाई चुरेमा भर्ना गर्ने निर्णय गरियो । सोही अनुरूप प्रधानाध्यापक राजेशकुमार यादव, धर्मराज घर्ती, दुर्गा शाही र म स्वयम् लगायतका शिक्षकहरूले निजी विद्यालयमा अध्ययन गरिरहेका सन्तानहरूलाई चुरेमा भर्ना गर्‍यौँ ।

चुरेमा प्रवेशसँगै शिक्षा क्षेत्रको अनुभवले खारिनु भएका र शिक्षा क्षेत्रको विकासमै आफ्नो जीवन समर्पण गर्नु भएका पिता समानका यस क्षेत्रका शैक्षिक अगुवा आदरणीय प्रधानाध्यापक कृष्णप्रसाद पौड्याल, सहायक प्रधानाध्यापक तिलकप्रसाद शर्मा, ध्रुवबहादुर शाह, रेश्मीराज सुवेदी, सन्तराम बस्याल, ओमराज ढुङ्गाना, बुद्धिमान थारु, मक्कुराम थारु लगायतका अग्रजहरू लगायत ऊर्जावान् सहकर्मी शिक्षक साथीहरूसँग अध्यापन गर्ने अवसर प्राप्त गर्दा शिक्षण पेसाको पेसागत निखारताका लागि आवश्यक थुप्रै ज्ञान, सिपहरू प्राप्त गर्ने अवसर प्राप्त भयो । अग्रजहरूको मार्गदर्शन र सहकर्मी साथीहरूको सक्रियतामा चुरे क्याम्पस र चुरे माध्यमिक विद्यालय दुवै संस्था अगाडि बढ्दै जाने क्रममा विभिन्न शैक्षिक कार्यक्रमहरू थपिँदै गए जसले शिक्षा क्षेत्रमा रहेको चुरेको ऐतिहासिक विरासतलाई थप उचाइमा पुर्‍याउन सफल भए ।

तथापि पछिल्लो समय अभिभावक र विद्यार्थीमा देखिएको अङ्ग्रेजी मोहका कारण सामुदायिक विद्यालयप्रतिको आकर्षण क्रमशः घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने क्रममा चुरे माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेशकुमार यादव लगायतका हामी सहकर्मी शिक्षक साथीहरू बिच छलफल भई शैक्षिक सत्र २०७६ सालदेखि अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने र सोको लागि परिवर्तन आफैबाट सुरु गर्नु पर्छ भन्ने मान्यताका साथ चुरेमा अध्यापन गर्ने शिक्षकहरूले आ–आफ्ना सन्तानहरूलाई चुरेमा भर्ना गर्ने निर्णय गरियो । सोही अनुरूप प्रधानाध्यापक राजेशकुमार यादव, धर्मराज घर्ती, दुर्गा शाही र म स्वयम् लगायतका शिक्षकहरूले निजी विद्यालयमा अध्ययन गरिरहेका सन्तानहरूलाई चुरेमा भर्ना गर्‍यौँ । जसमा अन्य विद्यालयमा अध्यापन गर्ने यमकला पौडेल लगायतका शिक्षकहरू एवम् पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष डवलसिंह साउँद र मक्कुराम थारु लगायतका अभिभावकहरूले पनि साथ दिनु भयो । जसबाट हामीमा थप हौसला बढ्दै गयो ।

यसरी अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्दै गर्दा नेपाली माध्यम तर्फ ८०/९० जनासम्म विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गरी रहेका हामी शिक्षकहरूलाई ६/७ जना विद्यार्थीलाई पढाउँदा अलिक असहज महसुस हुन्थ्यो भने चुरेमा अङ्ग्रेजी माध्यम कसरी चल्छ ? भनेर सुनिने अविश्वास र विरोधका स्वरहरूले कतै चुरेको यस पटकको अङ्ग्रेजी माध्यमको पठनपाठन पनि २०६६/६७ सालको जस्तै असफल हुने त होइन भनेर चसक्क बिझाउने गर्दथ्यो । त्यसै गरी अभिभावकहरूले केही दिन पढ्न पठाएका विद्यार्थीहरू हाम्रो पढाई चित्त नबुझेर हो वा निजी विद्यालयको प्रभावले हो, विद्यार्थीहरू पुनः निजी विद्यालयतिर पठाउँदा भने साँच्चै असफल हुने त होइन भन्ने लाग्दथ्यो । तथापि हाम्रा १ जना सन्तान मात्रै भए पनि कक्षा निरन्तर चलाउने लक्ष्यका साथ कक्षा सुरु गरेका हामीहरू निरन्तर अभियानमा लागि रह्यौँ ।

अङ्ग्रेजी माध्यम सुरु गर्दा हामीले गरेको कल्पना आगामी दिनमा पुरा हुँदै “विद्यार्थी खोज्न विद्यालय होइन, विद्यालय खोज्न विद्यार्थी र अभिभावक आउने” वातावरण सिर्जना हुँदै प्रवेश परीक्षाका माध्यमबाट विद्यार्थी भर्ना गर्नु पर्ने अवस्था सिर्जना हुन पुग्ने विश्वास गर्न सकिन्छ ।

सो वर्ष कोभिडका कारण परीक्षा तथा भर्ना कार्यक्रम समेत प्रभावित हुन पुगे तापनि त्यसपछिका वर्षहरूमा भने अङ्ग्रेजी माध्यममा क्रमशः विद्यार्थी सङ्ख्यामा वृद्धि हुँदै गई शैक्षिक सत्र २०७६ मा जम्मा ८४ जनाबाट सुरु गरेको अङ्ग्रेजी माध्यमको पठनपाठन चुरेमा कार्यरत शिक्षक साथीहरूको लगनशीलता र निरन्तर सक्रियताको फल स्वरूप शैक्षिक सत्र २०८० मा अङ्ग्रेजी माध्यममा अध्ययन गर्ने ६०५ जना विद्यार्थीसँगै चुरे माध्यमिक विद्यालय बर्दिया जिल्लाकै उच्चतम विद्यार्थी हुने विद्यालयहरूको स्थानमा पुगेको सुन्न पाउँदा अत्यन्त गौरवको महसुस भएको छ । जसबाट अङ्ग्रेजी माध्यम सुरु गर्दा हामीले गरेको कल्पना आगामी दिनमा पुरा हुँदै “विद्यार्थी खोज्न विद्यालय होइन, विद्यालय खोज्न विद्यार्थी र अभिभावक आउने” वातावरण सिर्जना हुँदै प्रवेश परीक्षाका माध्यमबाट विद्यार्थी भर्ना गर्नु पर्ने अवस्था सिर्जना हुन पुग्ने विश्वास गर्न सकिन्छ । जसले विद्यालयमा विद्यार्थीको परिमाणात्मक वृद्धिसँगै गुणात्मक वृद्धि समेत भएको ज्वलन्त उदाहरण ठाकुरबाबा नगरपालिका तथा जिल्ला स्तरमा हुने विभिन्न प्रतियोगिताहरूमा चुरेको प्रस्तुति एवम् अङ्ग्रेजी माध्यमका विद्यार्थी सम्मिलित भएको २०७८ र २०७९ को एसइईको नतिजाले समेत पुष्टि गरेको छ ।

यसरी २०६४ भदौ २७ गते देखि सुरु भएको चुरे माध्यमिक विद्यालयसँगको औपचारिक सामीप्ययता २०७७ भदौ २६ गते जनचाहना आधारभूत विद्यालय, डुम्रेनीमा सरुवा रमाना भई गएपछि दैनिक गतिविधिबाट टाढा भए तापनि १३ वर्षको अवधिमा शिक्षण पेसामा निखार ल्याउनका लागि चुरेबाट प्राप्त गरेको ज्ञान, सिपले सधैँ चुरेकै वरिपरि रहेको अनुभूति गराई रहेको छ । साथै विगत लामो समयदेखि यस क्षेत्रका हजारौँ विद्यार्थीहरूलाई ज्ञान रुपी अमृत पान गराउँदै आएको चुरेको अमृत पान गर्न नपाएको तिर्खा आफ्नो शिक्षण यात्रासँगै कान्छी छोरी सुविज्ञाले २०७९ सालमा चुरेबाटै एसइई पुरा गरे सँगै केही हदसम्म मेटिएको अनुभूति भएको छ ।

Leave A Reply

Your email address will not be published.