onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा निःशुल्क कान जाँच उपचार शिविर सुरु

आवश्यक सहयोग गर्न सम्पूर्णलाई ठाकुरबाबा नगर प्रशासनको आग्रह

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्था, गाँउटोल तथा वडाहरूमा सञ्चालन हुने गरी निःशुल्क कान जाँच उपचार शिविर शुभारम्भ भएको छ । ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको नेउलापुर स्वास्थ्य चौकीबाट हिजो मङ्गलवारदेखि शिविरको सुरुवात भएको हो ।

नेउलापुर स्वास्थ्य चौकी भुरीगाउँमा सम्पन्न भएको शिविरमा १५० जना बढीले सेवा लिएका थिए । तीमध्ये १४ जनामा कान पाक्ने समस्या देखिएको छ भने १० जनामा कान नसुन्ने समस्या देखिएको पाइएको वरिष्ठ कान सहायक चिकित्सक तीर्थमान थारुले जानकारी दिनुभयो । शिविर माघ २९ गतेसम्म सञ्चालन हुनेछ । रानीपुरमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा माघ ११ गते बिहीबार तथा आधारभूत स्वास्थ्य केन्द्र गोदानामा माघ १५ गते सोमबार कान जाँच तथा उपचार शिविर सञ्चालन हुनेछ ।

यसैगरी बगनाहा स्वास्थ्य चौकीमा माघ १७ गते बुधवार, बनकट्टीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा माघ १८ गते बिहीबार, शिवपुर स्वास्थ्य चौकीमा माघ २२ गते सोमबार र मोहनपुर स्थित आधारभूत स्वास्थ्य केन्द्रमा माघ २४ गते बुधवार शिविर सञ्चालन हुने भएको छ । ठाकुरद्वारा स्वास्थ्य चौकी चिट्कैयामा माघ २५ गते बिहीबार र ठाकुरद्वारा स्थित आधारभूत स्वास्थ्य केन्द्रमा माघ २९ गते सोमबार जाँच हुने नगरपालिका प्रशासनले जनाएको छ । व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको आयोजना र ठाकुरबाबा नगरपालिका सैनवारको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जले प्राथमिक कान उपचार सेवालाई बाँकेमा मात्र नभएर जिल्ला बाहिर समेत प्रभावकारी बनाउँदै लगेको छ । चालु आर्थिक वर्षमा मात्रै व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जले बाँके र बर्दियामा २४ ठाउँमा शिविर गरिसकेको छ । तीमध्ये अधिकांश बर्दियामा शिविर भएका छन् । उक्त शिविरहरूमा वरिष्ठ कान सहायक चिकित्सक तीर्थमान थारु र भीषण थारुले सेवा दिँदै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.