शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा सामाजिक सुरक्षा भत्ता लिन सास्ती
ढिलासुस्तीले कठ्याङ्ग्रिँदो जाडोमा काँप्दै घण्टौँसम्म बैङ्कमा बस्न बाध्य
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर २ की वृद्धा अङ्नी थारुले सोमबार सामाजिक सुरक्षा भत्ता लिन जानुपर्छ भन्दै आइतबार नै योजना बनाउनु भएको थियो । बैङ्कमा पुग्न ढिलो भयो भने भत्ता पाउन ढिलो हुने चिन्ताले बिहानै १० बजे भुरीगाउँको शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा आएर बैङ्क अगाडी सिँढीमा बसिरहनुभएको थियो, तर उहाँले दिउँसो १ बजेसम्म पनि भत्ता पाउनु भएको थिएन ।
अरू वडामा वडाबाटै भत्ता पाउँदै आएको सुने पनि उहाँको वडाले भने बैङ्कमै जानुपर्ने पनेपछि उहाँका लागि बैङ्कसम्म पुगेर भत्ता लिन सकस भएको हो । “भत्ता लिन शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क पुग्दासम्म निक्कै कठिन छ, वडाबाटै भत्ता पाएको भए सजिलो हुन्थ्यो, यसरी दुःख त पाउनु पर्ने थिएन, हामीजस्ता बिरामी वृद्धवृद्धाले पाएको सास्तीबारे कसैले सुन्दैनन् ।’ भत्ता लिन बैङ्क जानुपर्ने अनि बैङ्क अगाडी घण्टौँ कुनु पर्ने भएपछि धेरै सास्ती भोग्नु परेको छ”, उहाँले भन्नुभयो ।
उहाँ जस्तै वडा नम्बर १ का अर्का एक जनाले सामाजिक सुरक्षा भत्ताको नाममा सरकारले जेष्ठ नागरिकलाई दुःख दिएको बताउनुभयो । “सरकारले भत्ता दिने हो भने घर छेउमै दिने वातावरण मिलाउनुपर्छ, भत्ता बुझ्न घण्टौँसम्म हिँडेर वा महँगो अटो भाडा खर्चेर बैङ्क पुगे पनि लामो समयसम्म लाइनमा बस्न हामी बुढापाका सक्दैनौँ, भत्ता लिन बैङ्कमा निकै झन्झटिलो प्रक्रिया छ ।” बैङ्क मार्फत भत्ता बुझ्ने प्रक्रिया निकै झन्झटिलै रहेको बताउँदै उहाँले भन्नुभयो, “सरकारले सुविधा दिने बहानामा झन् वृद्ध वृद्धालाई दुःख मात्र दियो । गर्मियाममा चर्को घाम, वर्षामा झरी, हिउँदमा जाडो भत्ता लिनका लागि ज्येष्ठ नागरिकहरूले सास्ती भोग्नु परेको छ ।”
ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्तिहरू र एकल महिलाहरूले पनि भत्ता लिन सास्ती खेप्नु परेको छ । शारीरिक अपाङ्गता तथा दृष्टिविहीनलाई झनै सास्ती छ । भत्ता लिनकै लागि भोक भोकै दिन बिताउनुपर्ने भन्दै बिरामी, वृद्ध वृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूले थप सास्ती भोग्नु परेको उहाँहरूको भनाई छ । वडाबाटै भत्ता वितरण गर्ने हो भने कसैलाई पनि सास्ती नहुने सबैलाई सहज हुने बैङ्कमा सास्ती खेपिरहनुभएका वृद्धवृद्धाहरुको भनाई थियो ।
संवादकर्मीले शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको भुरीगाउँ शाखामा जे देखे
“म बिहानै आएको जाडोले काँप्न लागेकी छु, बिरामी पनि छु मलाई छिटो भत्ता दिलाउन भन्दिनुस् न, यस्तो जाडोमा बिहानै आएको अहिलेसम्म पनि भत्ता दिएको छैन” ठाकुरबाबा नगरपालिका वडा नम्बर २ की वृद्धा अङ्नी थारुले कठ्याङ्ग्रिँदो जाडोमा काँप्दै भन्नुभयो । उहाँ सामाजिक सुरक्षा भत्ता लिन भुरीगाउँको साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क आउनु भएकी वृद्धा हुनुहुन्थ्यो ।
तराई क्षेत्रका अधिकांश जिल्लामा झैँ बर्दियाको भुरीगाउँमा पनि केही दिन यता कठ्याङ्ग्रिँदो जाडो छ । सोमवार दिउँसो १ बजेतिर पनि जाडो उत्तिकै थियो । त्यही जाडोमा भुरीगाउँ बजारको एउटा घरको दोस्रो तलामा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको तलतिर कोही वृद्धवृद्धाहरु लट्ठी टेकेर उभिइरहनु भएको थियो, कोही बैङ्क माथि जाने सिँढी नजिक बसिरहनुभएको थियो । बैङ्कको अघि उभिएका र बसिरहेका वृद्धवृद्धाहरु मध्ये एक वृद्धा जाडोले लुगलुग काँप्दै हुनुहुन्थ्यो, “म बिहानै आएको जाडोले काँप्न लागेको छु, बिरामी पनि छु मलाई छिटो दिलाउन भन्दिनुस् न । यस्तो जाडोमा बिहानै आएको अहिलेसम्म पनि भत्ता दिएको छैन”, आफ्नो दु:खेसो पोख्दै अङ्नी थारुले आग्रह गर्दै रेकर्डर तिर हेरेर भन्नुभयो ।
अर्का एक वृद्धले भन्नुभयो, “बैङ्कमा खाता खोलेका अरू मानिसहरू बैङ्क भित्र जान्छन् तर हामी वृद्धवृद्धाहरु किन बाहिरको बाहिरै ? बैङ्क भित्र जान नदिएरै बाहिरै धर्ना बसे झैँ जाडोमा किन यस्तो सजाय ? ज्येष्ठ नागरिकलाई दिने हाम्रो भत्ता वडामा वितरण गर्दा सहज रूपमा पाउने थियौँ, आउजाउ दुख पनि हुने थिएन, खर्च पनि हुने थिएन ।” बर्दियाको भुरीगाउँमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको ढिलासुस्तीले सामाजिक सुरक्षा भत्ता लिन जाने वृद्धवृद्धाले यसरी सास्ती खेप्नु परेको छ । ठाकुरबाबा नगरपालिकाका अन्य वडाहरू भन्दा पनि बढी वडा नम्बर १ र २ का ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क, भुरीगाउँले सहज ढङ्गबाट वितरण नगरिँदा वृद्धवृद्धाहरुले थप सास्ती खेप्नु परेको हो ।
यस्तो जाडोमा बैङ्क बाहिरै बस्न बाध्य छौँ । बिहानबाट दिउँसोसम्म पनि पालो आउँदैन । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने नाममा नगरपालिका भित्र रहेका विभिन्न बैङ्क मार्फत विभिन्न वडाका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिए पनि शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कठ्याङ्ग्रिँदो जाडोमा वृद्धवृद्धालाई घण्टौँसम्म कुराएकाले आफूहरूले सास्ती खेप्नु परेको वृद्धवृद्धाहरुको गुनासो छ । नगरपालिकाका अधिकांश वडाहरूले आफ्ना वडाका गाउँ, टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिन सुरु भएको छ । तर केही वडाका वृद्धवृद्धाहरु भने वडाका गाउँ टोलबाट नभई अझैँ पनि बैङ्क मार्फत वितरण भएपछि आफूहरूले सास्ती खेप्नु परेको अधिकांश वृद्धवृद्धाहरुले दु:खेसो पोख्नुभयो ।
यसैबीच शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क भुरीगाउँमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको र बैङ्कको ढिलासुस्तीले ठाकुरबाबा नगरपालिका वडा नम्बर १ र २ का वृद्ध वृद्धा भत्ता लिन कठ्याङ्ग्रिँदो जाडोमा लुगलुग काँप्दै घण्टौँसम्म बैङ्कमा लामबद्ध हुन बाध्य भएको जानकारी आएपछि रेडियो टाइगरबाट संवादकर्मी बैङ्क पुग्दा बैङ्कका कर्मचारी नवीन जोशीले अभद्र शैलीमौ “एकै चोटी आए त भिड भइहाल्छ” भनेर जवाफ फर्काए । राम्ररी बोल्न आग्रह गर्दा पनि सहज बनाउनुको साटो सबै एकै चोटी आएकाले भिड भएको बताउँदै जंगिएर जवाफ दिए ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा ऋण शाखामा कार्यरत नवीन जोशीले सेवाग्राहीको भिडको विषयमा जानकारी दिनुको सट्टा वादविवाद गर्न थालेपछि शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका शाखा प्रमुख शिवनारायण यादवले उनलाई अर्को कोठामा पठाउँदै उनले बोल्न नजानेको त्यसका लागि माफी चाहन्छु भन्दै सामाजिक सुरक्षा भत्ता वितरणमा भएको कठिनाइका बारेमा बताउँदा वडाभरिका सेवाग्राहीहरू भत्ता वितरणका दिन एकै पटक आउने गरेका कारण सास्ती खेप्नु परेको उहाँको भनाई छ । सामाजिक सुरक्षा भत्ता वितरणको दिन सेवाग्राहीहरूको भिड र चिसोका कारण सहज रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क भुरिगाउँ शाखाका प्रमुख शिवनारायण यादवले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता वितरण सबै वडाबाट नभएको बताउँदै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले अधिकांश वडाहरूले बैङ्कसँग सहकार्य गरेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने काम सुरु गर्नुभएको छ । बाँकी वडाहरूलाई पनि वडाबाटै वितरण गर्ने वातावरण बनाउन आग्रह गरेको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण कार्य असहज हुँदै गएको जानकारी प्राप्त भएपछि वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनाल र वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाई बैङ्क कार्यालयमा जानु भएको थियो । उहाँ दुवै जना वडा अध्यक्षले आगामी दिनमा बैङ्कसँग सहकार्य गरेर भत्ता वितरण प्रक्रियालाई सहज बनाउने प्रतिबद्धता दिनुभयो ।
आफ्ना वडाका वृद्धवृद्धाहरुले सामाजिक सुरक्षा भत्ता लिन जाँदा पाएको सास्तीका बारेमा जानकारी भएको र यसलाई छिट्टै सहज बनाउने वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाईले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई टोल स्तरीय बनाई मिति तोकेर वितरण गर्न सकेमा सेवाग्राहीले खेप्नु परेको दुःखमा सहजता आउने वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनालले बताउनुभयो ।
‘सामाजिक सुरक्षा भत्ता अधिकांश वडामा वडाबाटै वितरण सुरु भएपछि ज्येष्ठ नागरिकहरू खुसी’
सामाजिक सुरक्षा भत्ता ठाकुरबाबा नगरपालिकाका अधिकांश वडामा वडाबाटै वितरण सुरु भएपछि ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । वर्षौँदेखि सामाजिक सुरक्षा भत्ता लिन बैङ्क धाउनुपर्ने अवस्थाको अन्त्य हुँदा ठाकुरबाबा नगरपालिकाका अधिकांश वडाका बासिन्दा खुसी भएका छन् । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने भनेपछि केही वडाले बैङ्कसँगको सहकार्यमा वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएका हुन् ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका हरेक वडाबाट कम्तीमा ३ सयदेखि ७ सय जनालाई सहज भएको छ । नगरपालिकाका सबै वडाका नागरिकहरूले यसअघि स्थानीयवासीले सामाजिक सुरक्षा भत्ता लिन भुरीगाउँ वा ठाकुरद्धारा जानुपर्ने बाध्यता थियो । दिनभरि बैङ्कमा भत्ता लिन लाइनमा बसेर घर फर्किँदा झमक्कै साँझ पर्ने अवस्था थियो, पाँच वर्ष यसरी भत्ता लिन सास्ती थियो अहिले भने केही वडाले सहज बनाएका छन् । अब बैङ्क धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।
विगतका वर्षदेखि नै बैङ्कसँग सहकार्य गरेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर विष्टले जानकारी दिनुभयो । वडाबाटै भत्ता वितरण गर्न पाउँदा चुनावका बेला स्थानीयसँग गरेको एउटा वाचा पनि पूरा भएको वडा नम्बर अध्यक्ष कलम विष्टले बताउनुभयो । भत्ता वितरण गर्दै आएको एन.आई.सी एसिया बैङ्क भुरीगाउँ शाखासँग समन्वय गरी वडाबाटै वितरण गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । वडा नम्बर ७ का ज्येष्ठ नागरिकलाई अब दुई तीन दिन भित्र वडाबाटै भत्ता वितरण गर्ने उहाँले बताउनुभयो ।
यसैबिच वडा नम्बर ३ कार्यालयले पनि मङ्गलवार ९ गतेबाट ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने वडा अध्यक्ष श्रीकृष्ण थारुले जानकारी दिनुभयो । बाँकी वडा नम्बर १, २, ३ र ९ मा पनि वडाबाटै भत्ता वितरणको योजना रहेको वडा अध्यक्षहरूलाई वडाबाटै वितरण गर्न जानकारी गराइएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।