onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

थारु संस्कृतिको संरक्षणका लागि ठाकुरद्वारामा ‘थारु चोक’ निर्माण

थारु कला संस्कृतिको संरक्षण र संवर्धन तथा पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा

Sambad ADD long

 भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वाराको पश्चिम टोलमा थारु चोक निर्माण गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय, ठाकुरद्वारा नजिकै निर्माण गरिएको थारु चोकको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो । थारु चोकमा थारु भेसभुसामा सजिएका एक पुरुष र एक महिलाको मूर्ति समेत निर्माण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिका पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको र थारु जातिको बाहुल्यता भएकाले पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ थारु चोकको निर्माण गरिएको बताउनुभयो । ठाकुरद्वारा बर्दियामा मात्र नभई विश्वमा पर्यटकीय दृष्टिले परिचित रहेको छ । पर्यटकीय क्षेत्र तथा थारु जातिको बाहुल्यता भएको हुनाले थारु भेष झल्किने महिला र पुरुषको मूर्ति निर्माण गरी थारु चोकको नाम दिइएको लम्सालले बताउनुभयो ।

थारु चोकमा थारु पहिरन पगरी (पगिया), काँधमा हलो तथा पुरानो संस्कृति एवम् भेषमा एक पुरुष र टाउकोमा ढकिया, चोलिया, लेहङगामा ढपक्क गहना लगाएकी महिलाको आकर्षक मूर्ति निर्माण गरिएको छ । थारु समुदायको बाहुल्यता रहेको हुनाले थारु समुदायकै प्रतिनिधित्व गर्ने गरी पर्यटकको आकर्षण तथा पर्यटन प्रवर्धनका लागि मूर्ति निर्माण गरिएको पर्यटन व्यवसायी समेत रहनु भएकी नगर उपप्रमुख बिना कुमारी भट्टराईले बताउनुभयो । थारु चोक र चोकमा निर्माण गरिएको थारु समुदायको पहिचान झल्कने मूर्तिले थारु कला संस्कृतिको संरक्षण र संवर्धन तथा पर्यटन प्रवर्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

चोकको उद्घाटन कार्यक्रममा वडा नम्बर ९ कि वडा अध्यक्ष राधा चौधरीले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भयो । पश्चिम टोल विकास समितिका अध्यक्ष हिङग्वा थारुको अध्यक्षता तथा नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा उपप्रमुख बिना कुमारी भट्टराईको आतिथ्ययता रहेको थियो ।

वडा नम्बर ९ कि वडा अध्यक्ष राधा चौधरी, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोकराम, इन्जिनियर ज्ञान बहादुर थारु, राष्ट्रिय मूर्तिकार महेन्द्र पुन, होटेल व्यवसायी कृष्ण भट्टराई, मोहन चौधरी, रेशम थापा लगायत वडा नम्बर १ देखि ९ नम्बर सम्मका वडा अध्यक्षहरू, थारु सांस्कृतिक भेषमा थारु युवाहरू तथा सरोकारवाला पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.