सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधन
काठमाण्डौ : सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधन भएको छ । गएराति साढे १२ बजे काठमाण्डौको सुन्धारामा रहेको काठमाण्डौ भ्याली अस्पतालमा उहाँको निधन भएको हो ।
७७ वर्षीय वैद्य लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त हुनुहुन्थ्यो । हिजो दिउँसो उहाँलाई केही असहज महसुस भएपछि बेलुकी अस्पताल लगिएको थियो ।
गएको माघ १ गते मात्रै उहाँलाई गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको थियो । उहाँका नेपाली र नेपालभाषामा थुप्रै लोकप्रिय गीतहरू छन् । उहाँका ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू लोकप्रिय छन् ।
त्यस्तै, नेपालभाषाय् ‘जय नमो सिरि बुद्ध भगवान’, ‘जिमि यःम्ह थौं जिथाय् वइ’ आदि अत्यन्त लोकप्रिय छन् । उहाँको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिने उहाँका परिवारले जानकारी दिएको छ।