राजापुर, बर्दिया : बर्दिया अहिले महोत्सवमय भएको छ, चारै तिर माघको चहलपहल छ । महोत्सवमा व्यापारीहरू व्यापार गर्नमा व्यस्त छन् भने महोत्सव हेर्न आउने पनि आफ्नै धुनमा छन् । यस्तो जाडोमा एक जना शिक्षक यो संसारको मोहमाया बाट पर भएर समाजको लागि केही गर्न सके त्यही नै वास्तविक कमाइ हो भनेर लागि पर्नु भएको छ ।
बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन भई रहेको बर्दिया राजापुर महोत्सवमा एउटा स्टल लिएर बस्नु भएका शिव कोइरालाले स्टलमा राखिएको पुरानो कपडा एवम् पुस्तक चाहिए लैजान र आफ्नो घरमा प्रयोग विहीन अवस्थामा रहेको भए सोही स्टलमा ल्याएर दिएर जान अनुरोध गर्ने गर्नुभएको छ । अहिले उहाँको सो स्टलमा थुप्रै किताबहरू जम्मा भइसकेका छन् र आवश्यक पर्नेले कुनै पनि पुस्तक आफ्नो प्रयोगमा आउने भए निःशुल्क लैजान सक्छन् भने प्रयोगविहीन अवस्थामा आफूसँग भएका पुस्तकहरू छोडेर जान सक्दछन् ।
“तपाईँलाई प्रयोगमा नआएका पुस्तक वा तपाईँको आवश्यकता पुरा गरिसकेका पुस्तकहरूले अरूको आवश्यकता पूर्ति गर्न सहयोग गर्छ” स्टलका सञ्चालक कोइरालाले बताउनुभयो । कोइरालाद्वारा सञ्चालित स्टलमा कपडाहरु पनि संकलन हुँदै गएको छ । प्रयोगविहीन दिएर जान र प्रयोगमा आउने लिएर जान सकिन्छ । चिसोको यो समयमा धेरे जनासँग चिसो छल्न सक्ने कपडा समेत नभएको अवस्था रहेकोले आफूलाई प्रयोगमा नआएको कपडाहरू स्टलमा छोडेर जान समेत उहाँले सबैलाई आग्रह गर्दै आइ रहनु भएको छ ।
कोइरालाद्वारा सञ्चालित स्टलको अर्को विशेषता पनि छ । त्यो हो आयुर्वेदिक औषधिको जानकारी । शिक्षक शिव कोइराला आयुर्वेदिक जडीबुटीमा दखल राख्ने व्यक्ति भएकाले उहाँले हाम्रो वरिपरि भएका झारपात र रुख बिरुवालाई कसरी औषधिको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी समेत दिँदै आइ रहनु भएको छ । उहाँले रोग लागेर औषधोपचार गर्न तर्फ लाग्नु भन्दा रोग नै लाग्न नदिने विधि बारे महोत्सवमा आउनेहरूलाई बताउने गर्नु भएको छ । “दुबोले आँखालाई फाइदा गर्छ, तुलसीको सेवनले स्वास्थ्यका कैयौँ समस्या समाधान हुन्छ” उहाँले भन्नुभयो, “मह, गाइको घ्यु नियमित खानाले स्वास्थ्य राम्रो हुन्छ।” पछिल्लो समयमा मानिसको आहार बिहार ठिक नभएर मानिसले दुख पाएको उहाँको बुझाइ रहेको छ ।
पुस ९ गतेसम्म चल्ने बर्दिया राजापुर महोत्सव पछि राजापुर नगरपालिकामा सञ्चालन हुने मेयर कप खेलकुद स्थलमा यस्तै प्रकारको स्टल लगाउने योजनामा आफू रहेको कोइरालाले बताउनुभयो । पुराना किताब एवम् कपडा धेरै सङ्कलन भएर राजापुरमा त्यसको खपत नभए त्यसलाई धनगढी, नेपालगन्ज वा कोहलपुरको कपडा बैङ्कमा दिने योजनामा आफू रहेको उहाँले बताउनुभयो । किताब एवं कपडा बैङ्कमा हालसम्म विद्यार्थीहरू बाहेक कसैले पनि सहयोग नगरेको र कोही आएर स्वेच्छाले जोडिन चाहे सबैलाई स्वागत गर्न आफू तत्पर रहेको बताउँदै सबैलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
शिव कोइराला पेसाले सरकारी जागिरे हुनुहुन्छ । उहाँ राजापुर नगरपालिका–९, मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापन गराउनुहुन्छ । माघको रमझममा शिक्षक कोइराला पनि अरू जस्तै रमाएर बस्न सक्नुहुन्थ्यो । उहाँ घरैमा बसेर सामाजिक सञ्जालमा लामो लामो राष्ट्रवादी भाषण लेख्दै पनि बस्न सक्नुहुन्थ्यो वा साथीहरूसँग पिकनिक मा रमाउँदै भनेर फोटो हाल्न पनि सक्नुहुन्थ्यो तर उहाँको चेतनाले यसो गर्नुको साटो बिदाको समयलाई सामाजिक कार्यको लागी उपयोग गर्न प्रेरित गरेको छ ।
उहाँसँग अहिले उहाँले पढाउने विद्यालयका विद्यार्थीहरू जोडिएर सहयोग गरी रहेका छन् । उहाँको यो कार्यले जाडोमा कपडा नभएकाले कपडा पाउने छन्, पढ्न रुचि राख्ने तर पुस्तक नहुनेले पुस्तक पाउने छन् ।