कोहलपुर, बाँके : मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्व कायम गर्नका लागि प्रशिक्षकका लागि प्रशिक्षण तालिम सम्पन्न भएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान अन्तरगतका ९ वटा उपसमितिका युवाहरूलाई समुदायमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा सहअस्तित्वका लागि प्रशिक्षण तालिम प्रदान गरिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र मा रहेका ९ वटा चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान उपसमितिका युवाहरूलाई २ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिई मानव वन्यजन्तु सहअस्तित्व तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि, समुदायमा अभियानका रूपमा परिचालन गरिएको छ ।
पुस २५ गतेदेखि सुरु भएको तालिममा ९ जनाको प्रशिक्षक प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालिम पछि प्रशिक्षकका रूपमा सहभागीहरूले आआफ्नो समुदायमा मानव वन्यजन्तु सहअस्तित्वका लागि अभियान अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मानव र वन्यजन्तुको बिचमा हुन सक्ने द्वन्द्वलाई कम गर्न वन्यजन्तुको बानीलाई परिवर्तन गर्न नसकिने र वन्यजन्तुको बानीलाई सहअस्तित्वमा लैजानको लागि मानिसले आफ्नो बानी व्यवहार परिवर्तन गर्नु पर्ने तालिमका संयोजक राष्ट्रिय प्रकृति संरक्षण कोष ठाकुरद्वारा बर्दियाका उमेश पौडेलले बताउनु भयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतका १९ वटा चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान उपसमितिका १९ जनालाई २ वर्ष अगाडिदेखि समुदायमा व्यवहार परिवर्तन अभियान सञ्चालन गरी राम्रो नतिजा आएपछि बाँकेमा पनि यो अभियानलाई निरन्तरता दिन लागिएको हो । अभियानको मुख्य उद्देश्य समुदायलाई वन्यजन्तु संरक्षण गर्नु पर्छ भन्नू भन्दा पनि वन्यजन्तुबाट हुन सक्ने खतरा र द्वन्द्वबाट बच्न सिकाउनु रहेको छ ।
समुदायका सदस्यहरूलाई वन्यजन्तु संरक्षणमा स्वाभाविक रूपमा जोडिने साथै मध्यवर्ती क्षेत्रमा यस अभियानबाट सहअस्तित्व मात्र कायम नभएर निकुञ्जको प्रचार प्रचार पनि हुने राष्ट्रिय प्रकृति संरक्षण कोष ठाकुरद्वारा बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताउनु भयो ।