गुलरिया, बर्दिया : दलित महिला र बालिकाको मानव अधिकार संरक्षणमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गुलरियामा सम्पन्न भएको छ । दलित महिला सङ्घ बर्दियाको आयोजनामा समाज विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बर्दियाका क्रियाशील सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल भएको दलित महिला सङ्घ बर्दियाकी अध्यक्ष हिमा सुनारले बताउनुभयो । दलित तथा पिछडिएका वर्गले समाजमा भोगेका समस्याहरूलाई विशेष प्राथमिकतामा राखी छापाखाना, रेडियो तथा डिजिटल मिडियामा क्रियाशील सञ्चारकर्मीहरूले सञ्चार माध्यममा ल्याइदिनु पर्ने बताउँदै सबैलाई आफ्नो क्षेत्रबाट दलित तथा पिछडिएका वर्गको पक्षमा कलम चलाइदिन सुनारले आग्रह गर्नुभयो ।
विश्व नै डिजिटल युगमा आइसक्दा समेत नेपालमा भने दलित समुदायका बालबालिकाहरूले सामाजिक विभेदको सामना गर्नु परि रहेको स्मरण गर्दै समाज परिवर्तनका लागि सञ्चार माध्यम र सञ्चारकर्मीको विशेष भूमिका हुने विषयमा समेत कार्यक्रममा छलफल गरिएको छ । समाजमा अहिले पनि घरको आर्थिक अवस्थाका कारण विद्यालय बिचैमा छाड्ने र आफ्नो उद्देश्य हासिल गर्न नसक्दा थप मारमा दलित समुदायका बालबालिका पर्ने गरेको देखिएको सुनारले बताउनुभयो । राज्यबाट त्यस्ता बालबालिकाको संरक्षणका लागि शैक्षिक सुधारको कार्यक्रम आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष यादव आचार्य सहित स्थानीय तथा राष्ट्रिय सञ्चार संस्थाहरूमा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।