onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

अभिभावक विहीन बालबालिकासँग लायन्स क्लब र देवीदत्त गण

Sambad ADD long

भुरीगाउँ, बर्दिया : मधुवन नगरपालिकाको पथ्थरबोझीमा रहेको सरस्वती आधारभूत विद्यालयका अभिभावक विहीन बालबालिकाहरूलाई बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदत्त गण र लायन्स क्लब अफ नेपालगन्जले विभिन्न राहत सामाग्री उपलब्ध गराएको छ ।

बिहीबार एक कार्यक्रमका बिच प्रधानाध्यापक घनराज खत्रीलाई विद्यालयमा अध्ययनरत अभिभावक विहीन बालबालिकाहरूका लागि राहत सामाग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ नेपालगन्जको तर्फबाट १० थान ३” ६x४ म्याट बेड, १० थान ७x७ सिरक, १० थान सिरानी र कपी कलम विद्यालयलाई हस्तान्तरण गरिएको छ । यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदत्त गणको तर्फबाट चामल, दाल, आलु, तेल लगायतका दैनिक उपभोग्य खाद्य सामाग्रीहरू हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक खत्रीले बताउनुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले मन्दिरमा पूजा आराधना गरेर मात्र धर्म नहुने बताउँदै मानवीय सेवा नै जगतमा ठुलो धर्म भएको बताउनुभयो । उहाँले भन्नुभयो “चिसोको समयमा अभिभावक विहीन बालबालिकाको लागि खाद्यान्नसँगै चिसोबाट बच्नका लागि वितरण गरिएको म्याट बेड र सिरक लगायतका सामग्रीले बालबालिकालाई ठुलो राहत हुनेछ । उनीहरूको ओठमा देखिएको मुस्कानका लागि सहयोग गर्नु नै ठुलो धर्म हो ।”

विद्यालयलाई गरिएको सहयोगका लागि लायन्स क्लब अफ नेपालगन्ज र देवीदत्त गणलाई आभार व्यक्त गर्दै अभिभावक विहीन बालबालिकाहरूलाई अति आवश्यक देखिएको छात्रावास, खानेपानी र जङ्गली वन्यजन्तु रोक्नका लागि तारबार गर्न मधुवन नगरपालिकासँग सहकार्य गर्न समेत लायन्स क्लब अफ नेपालगन्जसँग नगर प्रमुख भाटले आग्रह गर्नुभयो । लायन्स क्लब अफ नेपालगन्जका सभापति मक्खन धामीको सभापतित्वमा सञ्चालन भएको राहत वितरण कार्यक्रममा बोल्दै देवीदत्त गणका गणपति हिमालय थापाले वन तथा वन्यजन्तु संरक्षणमा विद्यार्थी र विद्यालयको भूमिका महत्त्वपूर्ण हुने भएकाले संरक्षणको क्षेत्रमा सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

लायन्स क्लब अफ नेपालगन्जले बाँकेको नेपालगन्जमा दाँत सम्बन्धी उपचारका लागि डेन्टल अस्पताल सञ्चालन गरेको जानकारी दिँदै सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत कुनै पनि बालबालिकाहरूको दाँतमा समस्या भएमा लायन्स क्लब अफ नेपालगन्जद्वारा सञ्चालित डेन्टल अस्पतालले निःशुल्क उपचार गर्ने प्रतिबद्धता समेत क्लबका सभापति धामीले जनाउनुभयो । उहाँले भन्नुभयो “मैले आफ्नो कार्यकालमा जे गर्न सकिन्छ सहयोग गर्छु, अगामी दिनहरूमा अभिभावक विहीन बालबालिका र विद्यालयलाई आइपर्ने समस्याको समाधान गर्न व्यक्तिगत वा लायन्स क्लबको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।”

अलपत्र परेका बालबालिकालाई मधुवन नगरपालिकाले रेखदेख गरिरहेको छ । २०७५ साल जेठदेखि ५ जना अभिभावक विहीन बालबालिकाहरूबाट सुरुवात गरिएको विद्यालय (आश्रय स्थल)मा अहिले १२ जना छात्रा र २७ जना छात्र गरी ३९ जना अनाथ छात्रछात्रा अध्ययनरत छन् । विद्यालयमा बाबुआमा नभएका, कोही बाबुआमा भएर पनि छोडेका, असहाय, गरिब, विपन्न, टुहुरा परिवारका बालबच्चाहरू रहेका छन् । विद्यालयमा बर्दियासँगै बाँके, दाङ, कैलाली र जुम्लासम्मका बालबालिकाहरूले आश्रय लिई रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.