भुरीगाउँ, बर्दिया : बङ्गुर पालक कृषकहरूका लागि ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा व्यावसायिक बङ्गुर पालन तालिम सम्पन्न भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको भुरीगाउँ शाखाको आयोजनामा संस्थामा आबद्ध महिला सदस्यहरूका लागि व्यावसायिक बङ्गुर पालन तालिम प्रदान गरिएको गणपति लघुवित्त वित्तीय संस्था शाखा कार्यालय भुरीगाउँका प्रमुख मदन काफ्लेले बताउनुभयो ।
गणपति लघुवित्तमा आबद्ध ग्राहक सदस्यहरूको क्षमता अभिवृद्धि गर्नुका साथै महिला सदस्यहरूलाई स्व-उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको शाखा प्रमुख काफ्लेले जानकारी दिनुभयो । तालिमका प्रशिक्षक ठाकुरबाबा नगरपालिकाका पशु सेवा शाखाका प्रमुख अमर बहादुर शाहीले व्यावसायिक रूपमा बङ्गुर पालन कसरी गर्न सकिन्छ भन्ने बारेमा सहभागीहरूलाई प्रशिक्षण गराउनु भएको जनाइएको छ ।
प्रशिक्षक शाहीले बङ्गुर पालन गर्दा खोरको व्यवस्थापन गर्ने तरिकाबारे बताउँदै खोर व्यवस्थापन नहुँदा बङ्गुरमा लाग्ने रोगहरूका बारेमा जानकारी, बङ्गुरका लागि आवश्यक सन्तुलित आहाराको जानकारीसँगै सन्तुलित आहारा बनाउने विधि, सन्तुलित दानामा मिसाइने कच्चा पदार्थको लगायतको विषयमा प्रशिक्षार्थीहरूलाई जानकारी गराउनु भएको शाखा प्रमुख काफ्लेले बताउनुभयो । तालिममा स्थानीय स्तरमा नै मकै, धानको भुस, गहुँको चोकर, तोरीको पिना आदिमा बङ्गुरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा प्रशस्त हुने भएकाले सन्तुलित आहाराको रूपमा यस्ता कच्चा पदार्थलाई प्रयोग गर्न सकिने विषयमा समेत जानकारी गराइएको जनाइएको छ ।
तालिमको उद्घाटन गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको अनुगमन कार्यालय बाँसगढीका अनुगमन अधिकृत गोकर्णप्रसाद जोशीले गर्नुभएको थियो । अनुगमन अधिकृत जोशीको प्रमुख आतिथ्यतामा तालिम सञ्चालन भएको हो ।
तालिम पश्चात् संस्थामा आबद्ध ग्राहक सदस्यहरूको ज्ञान, सिप, दक्षता र सोचाइमा सकारात्मक प्रभाव पर्नुका साथै समग्र कार्यसम्पादनमा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको गणपति लघुवित्त वित्तीय संस्था शाखा कार्यालय भुरीगाउँका प्रमुख मदन काफ्लेले बताउनुभयो । व्यावसायिक बङ्गुर पालन तालिममा सहभागी सदस्यहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।