मानवीय सहायताका लागि स्थानीय सरकारलाई सहयोग
जाजरकोट : जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरूको लागि विभिन्न सरकारी, गैरसरकारी तथा निजी एवम् व्यक्तिगत राहत सहायता कार्यले निरन्तरता पाउनुका साथै प्रतिकार्यका कामहरू समेत सञ्चालनमा आएका छन् । राज्यको एक द्वार प्रणालीलाई अङ्गीकार गर्दै विभिन्न गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले अस्थायी आवासको निर्माण, शौचालय निर्माण, अस्थायी सिकाई केन्द्रहरू देखि विभिन्न खाद्य एवम् गैर खाद्य सामाग्रीहरू सहयोग गर्ने क्रम जारी राखेका छन् ।
प्लान इन्टरनेशनल नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपाल, सुर्खेतले भेरी नगरपालिका–१, मैदेचौरमा ५३ घरपरिवारका लागि सरसफाइका सामाग्री र नलगाड नगरपालिका–३, कैनामा गर्भवती र सुत्केरी महिलाहरूका लागि डिग्नीटी किट वितरण गरेको छ । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिसनको प्रमुख आतिथ्यता एवम् सम्वन्धित वडाका जनप्रतिनिधिको अध्यक्षतामा सामाग्री वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिसनले भूकम्प प्रभावित परिवारका लागि सहानुभूति व्यक्त गर्नुका साथै सहयोग गरिएको सामाग्रीको उचित प्रयोग गरी सुरक्षित वातावरणमा बस्न सबैलाई आग्रह समेत गर्नुभयो ।
यसैबिच प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरको समूहले जिल्ला प्रशासन कार्यालय जाजरकोट, भेरी नगरपालिका र नलगाड नगरपालिका जाजरकोटमा समन्वयात्मक भेटघाट समेत सम्पन्न गरेको छ । समन्वयात्मक भेटमा जिल्ला प्रशासन कार्यालय जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माले सहयोगी निकायहरूसँग समन्वयात्मक रूपमा काम गर्न आफूहरू तयार रहेको र आगामी दिनमा समेत समन्वय र साझेदारीमा अघि बढेर पुनर्स्थापना हातेमालो गरेर जाने बताउनुभयो ।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र सरसफाइ केन्द्रित कार्यक्रमहरूको आवश्यकता बढ्दै गएकाले आगामी दिनमा त्यता तिरको योजना सहितको कार्यक्रम सञ्चालनका लागि सुझाव दिनुभयो । विभिन्न तहमा भएका समन्वयात्मक भेटमा कन्ट्री डाइरेक्टर रामकिसनले स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा कार्यक्रम सञ्चालनको पहल गर्न सकिने सम्भावना व्यक्त गर्नुभयो । उक्त भेटघाट कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय व्यवस्थापक मिना पराजुली सहितको समूह र स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य सहितको सहभागिता रहेको थियो । प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय व्यवस्थापक मिना पराजुलीले कन्ट्री डाइरेक्टर सहितको समूहले जाजरकोट र आठविसकोट रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको वास्तविक अवस्था जानकारी भएको र आगामी दिनमा थप कार्यक्रमको योजना तयारीमा सहयोग पुग्ने जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालन गरिरहेको साझेदार संस्था स्याक नेपालका जाजरकोट परियोजना कार्यालयका परियोजना संयोजक रेसम चन्दले भूकम्प प्रभावितका लागि बहु-क्षेत्रीय प्रतिकार्य कार्यक्रम हाल जाजरकोट जिल्लाको भेरी र नलगाड एवम् रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सञ्चालन भइरहेको र उक्त कार्यक्रमबाट १५० घरधुरीका लागि अस्थायी आवास र शौचालय निर्माण, ६ वटा अस्थायी सिकाइ केन्द्र निर्माण, ९ वटा खानेपानी योजनाको मर्मत सम्भार, १९० भत्केका घरको सफाइ जस्ता क्रियाकलापहरू कामको लागि नगद अवधारणामा र सरसफाइ सामाग्री, डिग्निटी किट, भान्सा सामाग्री लगायत न्यानो कपडा सहयोग कार्यक्रम संरक्षणका दृष्टिकोणले सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
जाजरकोटको रामेडाँडा आसपासको क्षेत्रलाई केन्द्र बनाएर कार्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।