कर्णाली चिसापानी नजिक मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको ज्यान गयो
भुरीगाउँ, बर्दिया : कुइने कर्णाली चिसापानी सडक खण्ड अन्तर्गत कैलालीको कर्णाली चिसापानीमा पर्ने पितमारी नजिक गए राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ घरतर्फ आउँदै गरेको भे. १३ प १०७४ नम्बरको मोटरसाइकल हिजो राति चिसापानीको पितमारी नजिक दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँका दम्पती ३८ वर्षीय खगेन्द्र प्रसाद ढकाल र ३४ वर्षीय महेश्वरी तिमिल्सिना ढकालको ज्यान गएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ ।
कुइने चिसापानी सडक खण्ड अन्तर्गत पर्ने पितमारी नजिक सडकदेखि झन्डै ३ सय मिटर तलतिर नदी किनारको खोँचमा ८ बजेतिर उज्यालो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
तत्काल प्रहरी पुग्दा मोटरसाइकल दुर्घटनामा परेको र नदी किनारको खोँचमा दुई जनालाई गम्भीर घाइते देखेपछि प्रहरी र स्थानीयले उद्धार गरी नदीमा रबर बोटको सहायताबाट राति १० बजे चिसापानी पुल नजिक ल्याएर अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते दुवै जना पति पत्नीलाई अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।