काठमाण्डौ : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को प्रवक्तामा दामोदर अधिकारी नियुक्त हुनुभएको छ । नेफ्स्कूनमा वरिष्ठ उपाध्यक्ष रहनु भएका अधिकारीलाई सञ्चालक समितिको ३२२औँ बैठकले प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो । सङ्घको प्रवक्ता मार्फत सञ्चालक समितिका निर्णयहरूसँगै सदस्य सङ्घ संस्था र सरोकारवालाहरूसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने आधिकारिक जानकारी तथा सूचनाहरू सम्प्रेषित गरिने नेफ्स्कून सञ्चालक समितिले जनाएको छ ।
सङ्घले विगतमा पनि वरिष्ठ उपाध्यक्षलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्दै आएको थियो । अघिल्लो कार्यकालमा महासचिव रहनु भएका अधिकारी सङ्घको ३२औँ वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा केन्द्रीय कार्यालय रहेको सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष समेत रहनु भएका अधिकारी पश्चिम नेपालको सहकारी अभियन्ताको रूपमा समेत परिचित हुनुहुन्छ । सहकारी क्षेत्रमा अधिकारीले गरेको योगदान अनुकरणीय रहेको छ ।
पश्चिम नेपालको बर्दिया, अछाम, दैलेख, सुर्खेत, कालिकोट, दाङ लगायतका जिल्लाहरूमा सहकारी अभियानको जग बसाल्नेहरू मध्य अधिकारी पनि एक हुनुहुन्छ । २०४८ सालमा सहकारी ऐन र २०४९ मा नियमावली जारी भएसँगै २०४९ सालको अन्त्य तिर एउटा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुने मौका मिलेको स्मरण गर्दै अनलाइन संवादसँगको कुराकानीमा अधिकारीले सोही कार्यक्रमबाट नै आफूलाई सहकारी अभियानमा लाग्ने प्रेरणा मिलेको बताउनुभयो ।
२०५० साल तिर सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भइसकेपछि सहकारीको बारेमा धेरै कुरा जान्ने र बुझ्ने मौका अधिकारीले बताउनुभयो । २०५० सालदेखि सिर्जना सहकारीले नेफ्स्कूनमा आबद्धता जनाएको र २०५० साल देखिनै अधिकारीले नेफ्स्कूनमा प्रतिनिधित्व गर्दै आइ रहनु भएको छ । सिर्जना सहकारी नेफ्स्कूनको १५१ नम्बरको सदस्यता हो ।
सिर्जना सहकारीकै प्रतिनिधित्व गरेर २०६९ सालमा नेफ्स्कूनको सञ्चालक भएका अधिकारी दोस्रो कार्यकाल पनि सञ्चालक हुनुभयो । नेफ्स्कूनको दोस्रो कार्यकालको सञ्चालक भइसकेपछि शिक्षण पेसा मार्फत सरकारी सेवामा रहनु भएका अधिकारीले २३ वर्ष नौ महिना ४ दिन काम गरेर ऐच्छिक अवकाश लिनुभएको हो । त्यसयता पूर्ण रूपमा सहकारी अभियानमा सक्रिय अधिकारीले एक कार्यकाल नेफ्स्कूनको लेखा समितिको संयोजक र महासचिवको भूमिका निर्वाह गरी सक्नु भएको छ । लामो समयदेखि पूर्ण रूपमा सहकारी अभियानमा समर्पित अधिकारी सहकारी व्यवस्थापनमा दक्खल मानिनुहुन्छ ।
प्रारम्भिक सहकारी संस्था, जिल्ला सङ्घ हुँदै केन्द्रीय सङ्घको अनुभव समेत बटुल्नु भएका अधिकारीले केन्द्रीय तहमा बसेर सहकारी क्षेत्रमा बटुलेका अनुभव र आफूमा भएको क्षमता प्रदर्शन गर्न बाँकी रहेको बताउनुभयो । अनलाइन संवादसँगको कुराकानीमा सहकारी क्षेत्रमा विशेष गरी बचत तथा ऋण अभियानलाई सुशासन र प्रविधिमैत्री बनाउने आफ्नो योजना रहेको अधिकारीले बताउनुभयो ।