राजापुर, बर्दिया : राजापुर नगरपालिकाले कर्णाली नदीमा वाटर बोट सञ्चालनमा ल्याएको छ । कर्णाली नदि सत्तीघाट पुल नजिकै उत्तर दिशामा केन्द्र रहने गरी वाटर बोट सञ्चालन गरिएको हो ।
सोमबार लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसीले उक्त सेवाको उद्घाटन गर्नुभएको हो । वाटर बोट सुरु भएपछि राजापुर क्षेत्रमा पर्यटन प्रवर्द्धन हुने विश्वास लिएको मन्त्री केसीले बताउनु भयो ।
बोटलाई सञ्चालन गर्नका लागि २ जनालाई १५ दिनको तालिम दिइएको छ । पानीको बहाव र अनुकूलता हेरेर यसलाई वर्ष भरी नै सञ्चालन गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ। बोटमा यात्रा गर्ने यात्रुहरूको बीमा समेत हुने राजापुर नगरपालिकाका प्रमुख दीपेश थारुले बताउनुभयो ।
राजापुर नगरपालिकाले तयार नेपालको आर्थिक सहयोगमा सञ्चालन गरेको उक्त बोटको लागत ४५ लाख रहेको र यसलाई कार्यविधि बनाएर सञ्चालन गरिएको राजापुर नगरपालिका बिपद फोकल पर्सन खुसी राम थारुले जानकारी दिनुभयो । यसलाई पर्यटन प्रवर्द्धनका साथ साथै बाढी आएको बेला मानवीय सहायताका लागि पनि प्रयोग गरिने जानकारी चौधरीले दिनुभयो ।
वाटर बोटमा यात्रा गर्नको लागि एक पटक का लागि प्रति व्यक्तिको ३००।- रुपैयाँ राखिएको छ भने सो टिकट मार्फत १ किलोमिटरसम्मको यात्रा गराइने राजापुर नगरपालिका प्रशासनले जनाएको छ ।