भुरीगाउँ, बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा समुदाय र पारिस्थितिक प्रणालीको उत्थानशीलताका लागि नागरिक समाजको पहल अन्तरगत पालिका स्तरीय परियोजना सुरु भएको छ । पालिका स्तरीय परियोजना ठाकुरबाबा नगरपालिकाको सभा हलमा सम्पन्न भएको बैठकबाट शुभारम्भ भएको हो ।
परियोजनाका बारेमा जानकारी गराउने उद्देश्यले सोमबार परियोजना शुभारम्भ बैठकको आयोजना गरिएको भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) का कार्यकारी निर्देशक डम्बर सुनारले जानकारी दिनुभयो । युरोपियन युनियन र अष्ट्रियन डेभलपमेन्ट कोअपरेसनको आर्थिक सहयोग, आड्रा नेपालको साझेदारी तथा भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप), दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एनसाव नेपाल) र सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) को सहकार्यमा बर्दियाका ठाकुरबाबा र मधुवन नगरपालिकामा परियोजना सञ्चालन हुने सुनारले बताउनुभयो ।
शुभारम्भ बैठक कार्यक्रममा आड्रा नेपालका जीविकोपार्जन टिम लिडर कबिर रत्न स्थापितले आड्रा नेपालको बारेमा जानकारी दिँदै नेपाल सरकारको योजना र दिगो विकासका लक्ष्यमा परियोजनाको योगदानको बारेमा स्पष्ट पार्नुभयो । साथै उहाँले लुम्बिनी प्रदेशका बाँके र बर्दियामा जैविक विविधताको संरक्षण, दिगो उपयोग तथा पुनर्स्थापना लागेका नागरिक समाजका संस्थाहरू तथा सञ्जालहरूको सशक्तीकरण गर्ने परियोजनाको अपेक्षित परिणाम भएको बताउँदै जैविक विविधताको संरक्षण मार्फत उत्थानशील समुदायको विकास हुने बताउनुभयो ।
सन् १९८७ देखि नेपालमा आफ्नो परियोजना सञ्चालन गरेको आड्राले सन २०२३ देखि २०२७ सम्म लुम्बिनी प्रदेका बर्दिया र बाँके जिल्लामा परियोजना सञ्चालन गर्ने उहाँले बताउनुभयो । ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकासहित बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र निर्धारण गरिएको उहाँले बताउनुभयो । जैविक विविधता संरक्षण तथा व्यवस्थापन, नागरिक समाजहरूको क्षमता अभिवृद्धिमा सहयोग, समुदायमा आधारित व्यवसायहरूको विकास र नीतिगत पैरवी परियोजनाको लक्षित कार्यक्रम अन्तरगत रहेका आड्रा नेपालका जीविकोपार्जन टिम लिडर स्थापितले जानकारी दिनुभयो ।
दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एनसाव नेपाल) का जैविक विविधता विज्ञ दीपराज भुसाल, भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) का कार्यकारी निर्देशक डम्बर सुनार, सामुदायिक वन उपभोक्ता महासङ्घका पैरवी अधिकृत जयन जोशीले आआफ्नो परियोजनाको काम, कार्य क्षेत्रका बारेमा सहभागीहरूलाई जानकारी गराउनुभयो । कार्यक्रममा परियोजना सञ्चालनका लागि आवश्यक सल्लाह, सुझाव समेत सङ्कलन गरिएको छ ।
यस्तै ठाकुरबाबा नगरपालिका उपप्रमुख बिनाकुमारी भट्टराईले परियोजना सञ्चालनको लागि ठाकुरबाबा नगरपालिका पनि छनोटमा परेकोमा साझेदारी संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । ठाकुरबाबा नगरपालिका उपप्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, विषयगत शाखाका प्रमुखहरू, १ देखि ९ नम्बर वडाका वडा अध्यक्षहरू, साझेदारी संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।