onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेपाली सेनाद्वारा वन्यजन्तु प्रभावित विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

Sambad ADD long

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएका जङ्गली हात्तीले बेलाबेला क्षति गरिरहने गेरुवा गाउँपालिका-४, गाेला गाउँको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले खेलकुद सामाग्री हस्तान्तरण गरेकाे छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदत्त गणकाे टाेलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जङ्गली हात्तीबाट बेलाबेला क्षति भइरहने गेरुवा गाउँपालिकाको गाेला गाउँकाे जनता माध्यमिक विद्यालयका विद्यार्थीका लागि खेलकुद सामाग्री हस्तान्तरण गरेकाे गणपति हिमालय थापाले जानकारी दिनुभयो ।

बाँकेको इमामनगर ब्यारेक स्थित नेपाली सेना श्री ४ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथि (जर्नेल) प्रकाश थापा र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाकाे देवीदत्त गणका गणपति (कर्णेल) हिमालय थापा सहितकाे टाेलीले ओखरिया र बन्जरिया पाेष्ट निरीक्षण तथा अनुगमनका क्रममा स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै विद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण गरेकाे हाे ।

नेपाली सेनाले वन तथा वन्यजन्तु संरक्षणमा विद्यालयकाे भूमिका महत्त्वपूर्ण हुने बताउँदै विद्यालयमा विद्यार्थीहरूलाई आवश्यक पर्ने फुटबल, भलिबल, चेस, लुँडाे लगायतका विभिन्न खेलकुद सामाग्री र डस्टविन, कापी, डटपेन लगायतका शैक्षिक सामाग्रीहरू श्री ४ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथि (जर्नेल) प्रकाश थापाले विद्यालयका प्रधानाध्यापक सुन्दरलाल चाैधरीलाई हस्तान्तरण गर्नुभयाे ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केसी सहित वडा अध्यक्षहरू तथा स्थानीय बासिन्दासँग नेपाली सेनाका वाहिनीपति (जर्नेल) प्रकाश थापा, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको देवीदत्त गणका गणपति हिमालय थापा, बर्दिया राष्ट्रिय निकुञ्जका अधिकृत पुरुषाेत्तम वाग्ले लगायतको टाेलीले मानव वन्यजन्तु सह-अस्तित्वका लागि अन्तरक्रिया कार्यक्रम पनि गरेकाे छ ।

गाेला गाउँमा रहेको जनता माध्यमिक विद्यालय देवीदत्त गणको हाता भित्र पर्छ । मध्यवर्ती क्षेत्रमा पर्ने स्कुलमा हात्तीले गर्दा बेलाबेला विद्यालयको पर्खाल भत्काउने, झ्याल ढाेका फाेडेर क्षति पुर्‍याउने भएकालेे सह-अस्तित्व कायमका लागि सक्दाे सहयोग गरिएको गणका गणपति (कर्णेल) हिमालय थापाले बताउनुभयो । विक्रम संवत् २०१७ सालमा स्थापना भएको भाैँराटप्पा गाेला क्षेत्रकाे पुरानाे जनता माध्यमिक विद्यालयलाई आगामी दिनहरूमा नेपाली सेनाले जस्तै अन्य निकायबाट पनि विभिन्न किसिमबाट सहयोग गर्न विद्यालयका शिक्षक तिर्थराज धितालले आग्रह गर्नुभयो ।

वन र वन्यजन्तु संरक्षणमा बर्दिया निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको काम प्रति गेरुवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्रप्रसाद चौधरी सहित विद्यालय परिवार लगायत अभिभावकहरूले प्रशंसा गरेका छन् ।

यसअघि दशैँका बेला पनि देवीदत्त गणका गणपति सहित नेपाली सेनाको टाेलीले मधुवन नगरपालिका वडा नम्बर १ पथ्थरबाेझी गाउँमा रहेकाे सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई खसी सहितको भाेज खुवाएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.