बारबर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको ज्यान गयो
भुरीगाउँ, बर्दिया : बारबर्दिया नगरपालिका ४ मा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ ।
बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरिया गाउँका १२ बर्षिय सुमित थारुकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाका अनुसार पाटे बाघकाे आक्रमणबाट ज्यान गएको भनिएपनि बाघ हाे वा चितुवा हाे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
बबई नदिमा नुहाउन गएका बेला बबई नदि किनारकाे जिराहा सामुदायिक वन नजिकै बालकलाई आक्रमण गरि घाइते बनाएपछि उपचारका लागि आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन अधिकृत दाेर्णराज शर्माले बबई नदि नजिक रहेको जिराहा सामुदायिक वनको किनारमा हिँडिरहेको अवस्थामा बालक सुमित थारुलाई चितुवाले आक्रमण गर्दा ज्यान गएको जानकारी दिनुभयो ।
त्यस क्षेत्रका गाउँबस्तीमा केही साता अघिदेखि चितुवाले आतंक मच्चाएको खबर आएको बताउँदै स्थानीय बासिन्दाले पाटेबाघ भनेपनि चितुवाले आक्रमण गरेको हुन सक्ने डिभिजन वन अधिकृत शर्माले बताउनुभयो ।
विगत केही साता यता बैरिया गाउँ लगायत आसपासका क्षेत्रमा चितुवाले बंगुर, बाख्रासमेत आक्रमण गरि मार्दै आएको स्थानीय बासिन्दाले जनाएका छन् । चितुवाको आक्रमणबाट बालक सुमित थारुकाे ज्यान गएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।