onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कैलाशेश्वर शिव मन्दिर धार्मिक सप्ताह सम्पन्न, ८ लाख रुपैयाँ बढी संकलन

Sambad ADD long

बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिका–५, बनवीरपुरमा कैलाशेश्वर शिव मन्दिर स्थापनार्थ आयोजना गरिएको धार्मिक सप्ताह ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ बनवीरपुर गाउँको आयोजनामा मंसिर २८ गतेदेखि सुरु भएको महायज्ञ पुस ४ गते बुधबार सम्पन्न भएको हो ।

बनवीरपुर गाउँमा कैलाशेश्वर शिव मन्दिर निर्माण गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको कैलाशेश्वर शिव मन्दिर धार्मिक सप्ताह ज्ञान महायज्ञ कार्य समितिका संयोजक लक्ष्मिप्रसाद खनालले जानकारी दिनुभयो ।

महायज्ञमा झण्डै ९ लाख रुपैयाँ संकलन भएको आयोजक समितिका महासचिव ललितबहादुर बिष्टले जानकारी दिनुभयो । महायज्ञमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ बनवीरपुरका भिमबहादुर खड्का र उहाँकी पत्नी कृष्णकला खड्काले संयुक्तरुपमा सबैभन्दा बढी १ लाख ११ हजार १११ रुपैयाँ मन्दिर निर्माणका लागि दान गर्नुभएको आयोजक समितिले जनाएको छ । सबैभन्दा बढी दान गर्ने भिमबहादुर खड्का र उहाँकी पत्नी कृष्णकला खड्काको सम्मानमा गाउँ परिक्रमा गराइएको छ ।

यसैगरी कैलाशेश्वर शिव मन्दिर धार्मिक सप्ताह ज्ञान महायज्ञ कार्य समितिका सह–संयोजक राजेन्द्र शर्माले २१ हजार रुपैयाँ दान गर्नुका साथै मन्दिरमा होमकुण्ड निर्माण गर्ने प्रतिबद्दता जनाउनु भएको छ । यस्तै ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ शाहीपुरका रामऔतार थारुले मन्दिर निर्माणका लागि झण्डै ३६ हजार रुपैयाँ बराबरको ३ हजार इट्टा सहयोग गर्नुभएको छ ।

कैलाशेश्वर शिव मन्दिर धार्मिक सप्ताह ज्ञान महायज्ञमा कथा वाचकको रुपमा आउनुभएका पण्डित नरेश नेपाललाई सम्मान सहित बिदाई गरिएको छ ।

Leave A Reply

Your email address will not be published.