मधुवन, बर्दिया : मधुवन नगरपालिका-७, प्रगती बजारमा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाएको छ ।२०५५ सालमा स्थापना भएको सहकारीले सोमबार स्थापनाको २५ वर्ष पार गर्दै रजत जयन्ती मनाएको हो ।
रजत जयन्ती समारोह तथा २६औँ साधारणसभाका प्रमुख अतिथि रहनु भएका लुम्बिनी प्रदेशसभा सदस्री एवम् नेपाली काँग्रेसको लुम्बिनी प्रदेश संसदीय दलका नेता जन्मजय तिमिल्सिनाले कृषिलाई आधुनिकीकरण, व्यवसायिक र बैज्ञानिकीकरण गरि उत्पादन बढाउनका लागि तराताल साना किसानले महत्वपूर्ण भुमिका खेल्नसक्ने बताउनुभयो । ताराताल साना किसानले स्थापनाकालदेखि नै संस्थाको उध्येश्य पुरागर्न बचत तथा ऋणको कारोबार गर्दै कृषि तथा पशुपालनसंगै वित्तीय क्षेत्रमा आफ्नो बलियो उपस्थिती जनाएकोमा प्रदेशसभा सदस्य तिमिल्सिनाले सहकारीलाई थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथी मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाटले ताराताल साना किसान कृषि सहकारीले कृषकहरुलाई संगठित गरि साना कृषकहरुको समूहहरु मार्फत कृषि क्षेत्रलाई व्यवसायिककरण गर्दै उत्पादन, प्रशोधन तथा कृषकहरुको आय आर्जन बढाउन भुमिका खेलेको स्मरण गर्नुभयो । समयानुकुल शेयर सदस्यहरुसंगै ग्रामिण समुदायको आर्थिक तथा सामाजिक विकासका लागि ताराताल साना किसान कृषि सहकारीले खेलेको भुमिकाको समेत मधुवन नगर प्रमुख भाटले प्रशंसा गर्नुभयो ।
रजत जयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै मधुवन नगरपालिकाका संस्थापक नगर प्रमुख एवम् संस्थाका सल्लाहकार गणेशबहादुर क्षेत्रीले ग्रामिण क्षेत्रमा बसोबास गर्ने सबै वर्गका मानिसहरुका बिच आर्थिक कारोबारका माध्यमबाट आपसी सद्भाव कायम गर्न संस्थाले उल्लेखनीय भुमिका खेलेको उल्लेख गर्नुभयो ।
संस्थाका सस्थापक अध्यक्ष कुलप्रसाद पोखरेलले सहकारीले छरिएर रहेको पूँजीलाई एकत्रित गरि पेशा, व्यवसाय र उद्योगधन्दा संचालनका लागि लगानी गर्ने गरेको बताउनु भयो । सहकारी, निजी र सार्वजनिक क्षेत्रलाई एकत्रित गरि सहकारी ३ खम्वे राष्ट्रिय अर्थनीतिको एउटा बलियो खम्बा रहेकाले सहकारी संस्थाहरुको दिगो विकासका लागि सबैको अहम भुमिका रहने भएकोले सबैलाई सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
३ हजार ३५२ जना शेयर सदस्य रहेको ताराताल साना किसान कृषि सहकारी संस्थाले ५ करोड ३१ लाख २६ हजार रुपैयाँको शेयर संकलन गरेको छ । संस्थाले ३४ करोड २६ लाख २ हजार निक्षेप संकलन गर्दा ३४ करोड ६३ लाख ५८ हजार वाह्य कर्जा लिएर ७८ करोड ९३ हजार कर्जा लगानी गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कर्जामा ९७ प्रतिशत असुलीदर कायम गरेको संस्थाले २ करोड २१ लाख ६७ हजार नाफा आर्जन गरेको छ ।
ताराताल साना किसान कृषि सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्र बसोबास गर्ने निम्न आर्थिकस्तर भएका कृषकहरुको आर्थिकस्तर बृद्धि गर्न आधुनिक कृषि व्यवसायलाई जोड दिने, कृषकहरुलाई सरल, सुलभ र प्रभावकारी ढंगले कृषि तथा गैर कृषि कर्जा प्रवाह गर्ने लगायतका कार्य गर्दै आएको छ ।