onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

विद्या नपाए ‘चुरे’ जानु

Sambad ADD long

एक जना सन्त (गुरु)ले केही शिष्यहरूलाई अध्यापन गर्ने गर्थे, एक दिन एक शिष्यले गुरुलाई सोधे, “गुरु ज्ञान के हो ?” गुरुले भने, “भोलि आउनु, म भोलि नै तिमीलाई यसको उत्तर दिन्छु।” अर्को राति त्यसै गरी शिष्यहरू जम्मा भए गुरुले ती शिष्यलाई भने “यो पुस्तक मेरो कोठाको तखतमा राखेर आऊ ।” ती शिष्य भित्र गए र अँध्यारो कोठामा रहेको तखतमा पुस्तक राख्न के लागेका थिए, कालो सर्प देखे र हस्याङ्ग फस्याङ्ग गर्दै बाहिर आए र भने “गुरु भित्र तखतमा त कालो सर्प छ ।” गुरुले भन्नु भयो “ल फेरि जाऊ भित्र, सर्पको अगाडि ॐ नमः सिवायको मन्त्र जाप गर, ॐ नमः सिवाय मन्त्र सुने पश्चात् त्यो सर्प त्यहाँ देखि भागी हाल्छ ।”

ती शिष्यले गुरुले भने जस्तै गरे, तर सर्पले तखत छोडेन । बाहिर आएर ती शिष्यले गुरुलाई पुनः भने “गुरु ॐ नमः सिवाय जप गर्दा पनि सर्प त्यहाँबाट भागेन मलाई डर लाग्यो ।” गुरुले भने “अब यो दियो लिएर जाऊ सर्प अवश्य भाग्नेछ ।” ती शिष्य दियो लिएर भित्र अँध्यारो कोठामा गए र दियोको प्रकाशमा तखतमा हेरे, त्यहाँ उनले देखे, जसलाई उनले सर्प भनेका थिए, त्यो सर्प नभएर एक डोरीको टुक्रा रहेछ । तत्पश्चात् गुरुले ती शिष्यलाई सम्झाउँदै भने “संसार गहिरो भ्रमजाल हो, यो भ्रम जाललाई ज्ञानको प्रकाशले मात्र हटाउन सकिन्छ, शिष्य हामीले अज्ञानताका कारण धेरै भ्रम पालेका हुन्छौँ, हो हामीले हामीभित्र रहेको अन्धकारलाई चिर्नका लागि मन मस्तिष्कमा रहेका भ्रमहरूलाई हटाउनका लागि, ज्ञान वा शिक्षाको आवश्यकता पर्ने गर्छ र हामीभित्र रहेको अन्धकारलाई हटाउनको लागि ज्ञानरूपी प्रकाश लिनै पर्छ ।”

समयको अन्तरालमा शिक्षा पद्धतिमा व्यापक परिवर्तन आयो, एक निश्चित स्थानमा विद्यालय स्थापना गर्ने, गुरु र शिष्य निश्चित समयमा सो स्थानमा पुग्ने र एक सुव्यवस्थित एवम् सुसंस्कृत नागरिक र सभ्य नागरिक निर्माणका लागि अध्ययन अध्यापन गर्ने परिपाटीको विकास भयो । यस्तै शैक्षिक संस्था हो चुरे ।

हिन्दु पूर्वीय दर्शनशास्त्रका अनुसार पौराणिक समयमा अन्धकार रुपी भ्रमजाललाई हटाउन गुरुकुल शिक्षा प्रणालीको व्यवस्था गरिएको थियो, यो एक यस्तो शिक्षा प्रणाली थियो जहाँ एक विद्यार्थी वा शिष्य जब ७/८ वर्षको हुन्थ्यो उसले आफ्नो घर, परिवार, आमाबाबु सबैलाई छोडेर गुरुको आश्रममा गएर, गुरुको परिवारको एक सदस्य भएर ज्ञान वा शिक्षा आर्जन गर्थ्यो र आफूमा भएको अन्धकाररुपी भ्रमजाललाई त्यागी प्रकाशमय ज्ञान लिएर फर्किन्थ्यो । समयको अन्तरालमा यो शिक्षा पद्धतिमा व्यापक परिवर्तन आयो, एक निश्चित स्थानमा विद्यालय स्थापना गर्ने, गुरु र शिष्य निश्चित समयमा सो स्थानमा पुग्ने र एक सुव्यवस्थित एवम् सुसंस्कृत नागरिक र सभ्य नागरिक निर्माणका लागि अध्ययन अध्यापन गर्ने परिपाटीको विकास भयो । यस्तै शैक्षिक संस्था हो चुरे ।

यस परिपाटीका शैक्षिक संस्थाहरू मध्ये एक महत्वपूर्ण माध्यमिक विद्यालय । चुरे पर्वतदेखि दक्षिणको समथल भूमिमा अवस्थित यो विद्यालय मनोरम बर्दिया राष्ट्रिय निकुञ्जको आलिङ्गनमा रहेको छ, पवित्र बबई सभ्यताको प्रतीकको रूपमा रहेको बबईको जलबाट सिँचित यो विद्यालयको ऐतिहासिक महत्वको बखान शब्दमा गर्न सकिँदैन । नेपालमा कुनै समयमा विद्या नपाए काशी जानु भन्ने उक्ति निकै चर्चित थियो । हुन पनि आजभन्दा ६०/७० वर्ष पहिले नेपालको के हिमाल, पहाड, तराई, के पूर्व पश्चिम चारैतिरबाट अध्ययनका लागि प्रमुख थलो भारतको काशी थियो । सारा नेपालीहरूको अध्ययनका लागि अनिवार्य स्थल काशी भएको हुँदा नेपालमा ‘विद्या नपाए काशी जानु’ भन्ने उक्ति निकै प्रचलित थियो । काशी विद्याको केन्द्र भए जस्तै बर्दिया जिल्लाको यो भेग तथा मध्य तथा सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्लाहरूको भरपर्दो, दिगो विश्वसनीय अध्ययन गर्ने विद्याको केन्द्र चुरे थियो ।

चुरेमा अध्ययन गरी आफ्नो भविष्य निर्माण गरेको, अध्ययन पश्चात् आफ्नो गाउँ, जिल्ला तथा देशका विभिन्न क्षेत्रमा गई विविध विधामा अब्बल दर्जा हासिल गरी आफ्नो नाम, कीर्ति र यश कायम गरेको इतिहास हाम्रो सामु रहेको छ । यस क्षेत्रकै चुरे ज्ञानको तपोभूमि, शिक्षा आर्जनको पवित्र भूमि भएकोले, विद्या नपाए काशी जानु भने जस्तै विद्या नपाए चुरे (बगनाहा) जानु भन्दा कुनै बेला अत्युक्ति हुँदैनथ्यो ।

चुरे माध्यमिक विद्यालय एक समयमा बर्दिया जिल्ला र बाहिर निकै चर्चित थियो । बर्दिया जिल्ला र जिल्ला बाहिर सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला आदि जिल्लाका युवाहरू समेतले चुरेमा अध्ययन गरी आफ्नो भविष्य निर्माण गरेको, अध्ययन पश्चात् आफ्नो गाउँ, जिल्ला तथा देशका विभिन्न क्षेत्रमा गई विविध विधामा अब्बल दर्जा हासिल गरी आफ्नो नाम, कीर्ति र यश कायम गरेको इतिहास हाम्रो सामु रहेको छ । यस क्षेत्रकै चुरे ज्ञानको तपोभूमि, शिक्षा आर्जनको पवित्र भूमि भएकोले, विद्या नपाए काशी जानु भने जस्तै ‘विद्या नपाए चुरे (बगनाहा) जानु’ भन्दा कुनै बेला अत्युक्ति हुँदैनथ्यो ।

बर्दिया जिल्लामा आफ्नो छुट्‍टै विशिष्ट छाप छोड्न सफल चुरेको स्थापनाकालका रोचक सङ्घर्षका कथाहरू रहेका छन् । हुन पनि आजभन्दा ५०/६० वर्ष पहिले विद्यालय स्थापना गर्न त्यति सजिलो थिएन । राज्यको ध्यान देशको दूरदराजमा पुगेको थिएन, गरिबी, अभावमा रुमलिएको स्थानीय जनतामा शिक्षाको कुनै चेतना थिएन, हाम्रो समाज पूर्ण अन्धकारमा थियो, अँध्यारोमा ‘जुनकिरीको उज्यालो’ जस्तै स्थानीय शिक्षाप्रेमी वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ खड्ग विक्रम शाहको पहलमा बगनाहामा २०२०/२१ साल तिर अनौपचारिक कक्षा एकातर्फ सञ्चालन भएको थियो भने अर्को तर्फ २०२७ सालतिर नेउलापुर निवासी बुद्धिमान चौधरी ढोढरी स्थित हालको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा प्राथमिक तहमा पढाउनु हुन्थ्यो, ढोढरीमा पढाउने हुँदा उहाँ नेउलापुर जुड्पानी हुँदै ढोढरी आउजाउ गर्नुहुन्थ्यो ।

उहाँले आउजाउ गरेको जुड्पानी निवासी समाजसेवी, शिक्षाप्रेमी तथा स्थानीय राजनीतिज्ञ मृगेन्द्रबहादुर सिंहले देखिरहनु भएको थियो तर केही समयपछि बुद्धिमान चौधरी त्यो बाटो आउजाउ गरेको नदेखेपछि मृगेन्द्रबहादुर सिंहले जुड्पानी निवासी श्रीराम थारुसँग ती मास्टर अचेल देखिँदैनन्, कहाँ छन् भनी सोध्नु भएछ, श्रीराम थारुलाई बुद्धिमान चौधरीको बारेमा थाहा रहेछ र मृगेन्द्रलाई भन्नु भएछ “ज्ञानराज शर्मा अध्यक्ष रहेको ढोढरीमा पढाउँथे । नेउलापुरबाट ढोढरी टाढा भयो, घरको मेसो पनि मिलेको छैन त्यसैले घरमै छन् ।”

मृगेन्द्रले श्रीरामलाई भन्नु भएछ त्यसो भए उहाँसँग भेट गर्नुपर्‍यो, अनि श्रीराम थारुले बुद्धिमान चौधरीलाई मृगेन्द्रबहादुर सिंहसँग भेट गराउनु भएछ, भेटमा मृगेन्द्रजीले बुद्धिमान चौधरीलाई भन्नु भएछ, जुड्पानीमा एक स्कुल खोलिदिन्छु, विद्यार्थी जम्मा गरिदिन्छु तपाईले पढाई दिनुपर्‍यो । बुद्धिमान चौधरीले, हुन्छ भनेपछि २०२८ सालतिर जुडपानीमा विद्यालय खोली वुद्धिमान चौधरीले पढाउन थाल्नु भयो । २०२९ सालमा मृगेन्द्र बहादुर सिंहले बगनाहा गाउँ पञ्चायतको प्रधानपंचमा निर्वाचित भएपश्चात एक निम्न माध्यमिक विद्यालय स्थापना गर्ने निर्णय भयो । विद्यालय कहाँ स्थापना गर्ने स्थानको खोजी गर्दै जाँदा हाल चुरे माध्यमिक विद्यालय रहेको केही जमीन जुड्पानी निवासी जीतमान थारूले जोतभोग गरिरहनु भएको थियो, केही भू–भाग थारू समुदायले लास गाड्ने गरेको मरघट्टी र केही वन बुट्यान भएको क्षेत्रलाई लिएर विद्यालय स्थापना गर्ने निर्णय भएको थियो ।

चुरेको कोर क्षेत्र भित्रका गाउँहरुमा जो जसको घरमा भएपनि पढ्ने किशोर युवा उमेरको केटा भएपछि विद्यालयमा भर्ना गर्नुपर्ने, जुन घरमा त्यस्तो केटा छ तर भर्ना भएको छैन भने त्यस्तो घरमा खारा मार्ने (जरिबाना तिराउने) निर्णय गरिएको रहेछ । खारा तिर्नुपर्ने डरले थारू समुदायको पढ्ने उमेरका केटाहरू भर्ना भएका रहेछन् । यही निर्णय अनुसार नेउलापुर गाउँमा जुन घरमा पढ्ने उमेरको केटा छन् तर स्कुलमा भर्ना गरेको छैन भने त्यस्तो घरबाट एक मुर्गा खारा बापत मार्ने रोचक निर्णय भएको रहेछ ।

निम्न माध्यमिक विद्यालय स्थापना भए पश्चात् खड्गविक्रम शाहले बगनाहामा चलाएको र बुद्धिमान चौधरीले जुड्पानीमा पढाउने विद्यालयलाई समायोजन गरिएको थियो । त्यतिले विद्यार्थी सङ्ख्या पुग्ने कुरा भएन, अधिकांश थारु समुदायमा छोराछोरी पढाउने चलन थिएन, त्यस्तो चेतनाको विकास भइसकेको थिएन । तर विद्यालयलाई त विद्यार्थी चाहियो, त्यसका लागि के जुक्ति लगाइयो भने चुरेको कोर क्षेत्र भित्रका गाउँहरुमा जो जसको घरमा भएपनि पढ्ने किशोर युवा उमेरको केटा भएपछि विद्यालयमा भर्ना गर्नुपर्ने, जुन घरमा त्यस्तो केटा छ तर भर्ना भएको छैन भने त्यस्तो घरमा खारा मार्ने (जरिबाना तिराउने) निर्णय गरिएको रहेछ । खारा तिर्नुपर्ने डरले थारू समुदायको पढ्ने उमेरका केटाहरू भर्ना भएका रहेछन् । यही निर्णय अनुसार नेउलापुर गाउँमा जुन घरमा पढ्ने उमेरको केटा छन् तर स्कुलमा भर्ना गरेको छैन भने त्यस्तो घरबाट एक मुर्गा खारा बापत मार्ने रोचक निर्णय भएको रहेछ ।

बर्दियामा आफ्नो अलग्गै विशिष्ट छाप छोड्न सफल चुरे माध्यमिक विद्यालयमा अध्ययन गर्ने सुअवसर प्राप्त भएकोमा म आफूलाई भाग्यमानी ठान्दछु । जब जब म यो विद्यालयको गेटमा पुग्दछु तब मेरो मानसपटलमा मेरो बाजे नन्दराम उपाध्यायले २०३३ सालको पुसको तेस्रो साता मेरो घर जम्तीदेखि बावनपुर, मिर्चैया, मानपुर हुँदै बगनाहा स्थित चुरेको प्राङ्गणमा ल्याई मेरो भर्ना गरेको याद आउँछ । पुसको महिना, पारिलो घाम, मुख्य अफिसको अगाडि चौरमा रहेको टेबलमा मेरो नाम कक्षा एकमा लेखिएको थियो, अनि विद्यालय भर्ना भए पश्चात् म दिनानुदिन विद्यालय जान थालेँ । प्राथमिक कक्षामा हामीलाई पढाउने हाम्रा मुख्य गुरु बुद्धिमान चौधरी, तेजराज जोशी र फूलराम थारु हुनुहुन्थ्यो ।

हिउँदमा खाली खुट्टा जम्तीदेखि बगनाहासम्म हिँड्दै जाँदाको मज्जा छुट्टै थियो, गर्मीयाममा बाटोमा धुलो उडाउँदै हिँड्नुको स्वाद पनि कम थिएन, अझ वर्षातमा हिलोमा चिप्लिदै, गाडिदै स्कुल जानु र घर फर्किनु पनि कम मज्जाको विषय थिएन । हामी हिउँदमा चौरमा घरबाट लिएर गएको बोरामा बस्थ्यौँ, गर्मीमा विद्यालय अगाडि रहेको सिमलको रुखको मुनि छहारीमा कहिले पढ्थ्यौँ त कहिले एक छाप्रोमा बसेर पढ्थ्यौँ । विद्यालयको पूर्वतर्फ रहेको खयर आदिका रुख काटेर बनाइएका गिण्डाहरूलाई डोलाउँदै किनारा लगाउँथ्यौँ, चउरका किनारामा वृक्षारोपण गर्ने, भवन निर्माणका लागि नजिकै गाउँमा रहेका इट्टा भट्टाबाट हातेमालो गर्दै ईट्टा बोकेको रोमाञ्चक पलहरूको याद आउँछ ।

चुरेमा अध्यापन गर्ने गुरुहरूसँग मात्र होइन प्रत्येक भवनहरूसँग, भवनका भित्तासँग, प्रत्येक बेन्च र डेस्कसँग, सिसौको होस् वा इपिलिस्टिकका रुखहरूसँग मेरो भावनात्मक सम्बन्ध रहेको छ । म प्राथमिक कक्षा पार गरे पश्चात् निम्न माध्यमिक कक्षामा प्रवेश गरेँ, प्राथमिक कक्षाका केही साथीहरू छुटे, अनि गुरुहरु पनि छुट्नुभयो, त्यतिखेर निकै नरमाइलो लागेको थियो । तत्पश्चात् हाम्रा गुरुहरु ध्रुवबहादुर शाह, रेशमीराज सुवेदी, सन्तराम बस्याल, योगराज शर्मा हुनुहुन्थ्यो । माध्यमिक तहमा हाम्रा गुरु कृष्णप्रसाद पौड्याल, राममणि शर्मा, तिलकप्रसाद शर्मा शास्त्री, मदन ज्ञवाली, भोजराज पण्डित, नन्दगोपाल श्रीवास्तव, विनोद गौतम हुनुहुन्थ्यो ।

चुरेसँग मेरो बाल्यकाल तथा किशोरावस्थाका अनेका अनेक स्वर्णिम यादहरू जोडिएका छन् । चुरेमा तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद पौड्याल गुरुलाई हामी हेडसर भन्न रुचाउँथ्यौँ र उहाँ यही उपनामले यो क्षेत्रमा प्रख्यात हुनुहुन्छ । हेडसरको निस्वार्थ भावना, विद्यालय र शिक्षाप्रतिको समर्पण, सर्वव्यापी नेतृत्व, उज्यालो छविका कारण स्थानीय राजनीतिज्ञ, समाजसेवी, शिक्षाप्रेमी तथा सर्वसाधारण जनताको अटुट साथ रहेको थियो । हेडसरले आफ्नो सबै शिक्षकहरूलाई एकसूत्रमा बाँध्नु भएको थियो, जसका कारण चुरेले चौतर्फी वाहवाही कमाएको थियो ।

चुरेको नाम लिँदा गुरु ध्रुवबहादुर शाहको चर्चा नगर्दा अधुरो हुन्छ । खाइलाग्दो शरीर, मिलेका जुँगा, ओजपूर्ण आवाजका धनी ध्रुव सरले सारा विद्यार्थीहरूलाई अनुशासनको दायरामा ल्याउनु भएको थियो । कक्षाकोठा बाहिर विद्यार्थी देख्ने बित्तिकै ध्रुव सरले एक आवाज दिने बित्तिकै वा उहाँलाई हामी विद्यार्थीले देख्ने बित्तिकै हल्ला नगरी लुसुलुसु कक्षाकोठामा प्रवेश गरेको आज जस्तै लाग्छ । विद्यालयका उन्नयनका लागि ध्रुव सर वरवृक्ष भएर उभिनुहुन्थ्यो । मदन सरको क्षमताको त म के कुरा गरु उहाँ एक बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो, जब कुनै कार्यक्रमको उद्घोषण गर्नुहुन्थ्यो वा हाजिरीजवाफ कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो सारा श्रोताको ध्यान उहाँ आफूतिर खिच्नु हुन्थ्यो, उहाँले बोलेको जब म सुन्थेँ तब मलाई लाग्थ्यो, म पनि यस्तै बोल्न सक्ने भए कति राम्रो हुन्थ्यो, विद्यार्थीलाई सरल भाषामा सम्झाउन सक्ने अदभूत क्षमता उहाँको थियो ।

भनिन्छ, शिक्षक र गुरु दुवैको कर्म अध्यापन गर्नु हो तर पनि शिक्षक र गुरुको बीचमा भिन्नता छ, शिक्षकले संसारिक शिक्षा दिन्छन्, जीविकोपार्जनको सीप सिकाउने र अर्थोपार्जनको उपाय दिन्छन्, गुरुले शिष्यलाई अन्धकारबाट निकालेर उज्यालो तर्फ लैजान्छन्, शिष्यलाई उसको हृदयभित्र छिरेर आफ्नो उत्तरदायित्व बोध गराउँछन्, शिष्यको आत्मा, चेतना र हृदयमा प्रकाश छर्छन् ।

आफ्नो विषयमा कृष्ण सर, राममणि सर, मदन सर, तिलक सर, भोजराज पण्डित, नन्द गोपाल श्रीवास्तव सरको विशिष्ट दक्षता थियो । मलाई गर्व लाग्छ हाम्रा गुरुहरुले शिक्षालाई व्यापारीकरण वा कमाउ पेशा बनाउनु भएन, आफ्ना शिष्यहरुको उत्तम शिक्षाका लागि कृष्ण गुरु, राममणि गुरुले आफ्नै घरमा साँझ बिहान निःशुल्क अध्यापन गर्नुहुन्थ्यो, कृष्ण, राममणी गुरुको घरमा साँझ बिहान विद्यार्थीहरु स्व-अध्ययनका लागि लामबद्ध देख्दा र म आफै पनि पढ्दा लाग्थ्यो यो गुरुहरूको घर नभै कुनै गुरुकुल आश्रम हो ।

अमेरिकी १६औँ राष्ट्रपति अब्राहम लिँकनले आफ्नो छोरालाई भर्ना गरे पश्चात् स्कुलको हेडमास्टरलाई विद्यालयको शैक्षिक वातावरण कस्तो हुनुपर्छ, विद्यार्थीलाई कसरी स्वाभिमानी, आत्मविश्वासी र अनुशासित बनाउन पर्छ, खराब र असल चरित्र बीचको फरक के हो, असल चरित्रको विद्यार्थीका के के विशेषता हुन्छन्, चराचर जगत र मानव बीचको सम्बन्ध कस्तो हुनु पर्छ, सित्तैमा पाउनु र कमाउनको बीच के फरक छ, प्रिय शिक्षक मेरो छोरालाई विस्तारै विस्तारै यी कुरा सिकाउनु होला भनी लेख्नु भएको पत्रको भावना अनुसार चुरेको शैक्षिक वातावरण थियो ।

म आठ कक्षामा पढ्दा मेरो आफ्नै काका तिलक प्रसाद शर्माले वार्षिक परीक्षामा कतै यसले चिट चोर्छ कि भनी मेरो शरीरको पूर्ण तलासी लिएको सम्झन्छु र ध्रुव सरले पनि यस्तै परीक्षामा मेरो तलासी लिनु भएको थियो र भन्नु भयो हेर चिट चोरेर पास हुनु भन्दा फेल हुनु राम्रो हुन्छ, उपदेश दिएको पनि मलाई सम्झना छ । भनिन्छ, शिक्षक र गुरु दुवैको कर्म अध्यापन गर्नु हो तर पनि शिक्षक र गुरुको बीचमा भिन्नता छ, शिक्षकले संसारिक शिक्षा दिन्छन्, जीविकोपार्जनको सीप सिकाउने र अर्थोपार्जनको उपाय दिन्छन्, गुरुले शिष्यलाई अन्धकारबाट निकालेर उज्यालो तर्फ लैजान्छन्, शिष्यलाई उसको हृदयभित्र छिरेर आफ्नो उत्तरदायित्व बोध गराउँछन्, शिष्यको आत्मा, चेतना र हृदयमा प्रकाश छर्छन् ।

समग्रमा चुरेका शिक्षकहरू, शिक्षकभन्दा माथि उठेर गुरुको भूमिकामा हुनुहुन्थ्यो, उहाँहरूले हामीहरूलाई सांसारिक ज्ञानका साथै आफ्नो उत्तरदायित्वको बोध गराउनुभयो, हाम्रो आत्मा, हृदय र चेतनामा प्रकाश दिनुभयो म चुरेका मेरा सम्पूर्ण गुरुप्रति हार्दिक नमन गर्दै चुरेको यो ज्ञान, सीप, विवेक र विद्यार्जनको तपोभूमिको उज्ज्वल भविष्यको कामना गर्दछु ।

Leave A Reply

Your email address will not be published.