ठाकुरबाबामा सञ्चालित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाको भेला सम्पन्न
सहकारीका माध्यमबाट कृषि उपजहरूको बजारीकरण गर्ने उद्देश्यले सहकारी दर्ता गरिँदै
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–२, रानीपुरमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाको प्रथम प्रारम्भिक भेला कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा उज्यालो नेपाल संस्थाको साझेदारीमा सञ्चालित परियोजनाको प्रारम्भिक भेला सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालले कृषि उत्पादनलाई जोड दिँदै नगरपालिकामा उत्पादित कृषि उपजको बजारीकरण गरि महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने, सामाजिक पूँजी निर्माण, कृषि र पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो । उहाँले समन्वय र सहकार्य गर्नुने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गर्दै आफूले नगरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
२०७९ माघ १५ गते सुरुवात गरिएको परियोजनामा अन्तर्गत अहिले नगरपालिका भित्र १८ वटा समूह निर्माण गरिएको छ । यीनै समूहद्वारा कृषि उत्पादन गरि नगरपालिका भित्र उत्पादन भएका कृषि उपज सहकारीका माध्यमबाट नगरपालिकाद्वारा नै खरिद तथा विक्री गरि बजारीकरण गरिने भएको जनाइएको छ । उपहार प्रधान, उत्तर दायित्व, मिलिजुली स्याहार बाँडिचुडि उपभोग, दिगोपन र आत्मनिर्भर लगायत १२ आधारशिलामा प्रारम्भिक कार्यक्रम गरिएको हो ।
अनिशा चौधरीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति तथा मिना दहितको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गर्दै सहकारी दर्ताको प्रकृया सुरुवात समेत गरिएको छ । सबैको सामूहिक सल्लाहमा सहकारीको नाम ठाकुरबाबा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड नामाकरण गरी स्थापना गरिएको छ भने यसको कार्यालय ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ भुरीगाउँमा रहने परियोजना संयोजक यम बहादुर थापाले बताउनुभयो ।
सहकारीका माध्यमबाट आफूले उत्पादन गरेका कृषि उपजहरू सहजै नगरपालिकामा बजारीकरण गरिने भए पछि सबै महिलाहरूले यो कार्य सह्रानीय भएको बताउदै खुसी व्यक्त गरेका छन् । आफूले आफ्नो गाउँठाउँमा उत्पादन गरको बस्तु विक्री गरि आफ्ना आधारभूत आवश्यकता परिपूर्ति गर्न सकिने र श्रीमानले कमाएको रकम सङ्कलन गरि भविष्यका लागि बचत हुने भन्दै खुसी व्यक्त गरेका छन् ।
यस्तै नगर उपप्रमुख बिना कुमारी भट्टराईले अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विशेष गरि महिला नै बढि हिंसा भोग्न बध्य भएको घटनाहरू आफूले देख्ने गरेको बताउँदै सबैभन्दा पहिला महिला आत्मनिर्भर हुनपर्ने अनि मात्र हिंसा न्यूनीकरण गर्न सकिने बताउनुभयो । त्यसका लागि सर्वप्रथम आफ्नै गाउँघरमा नै बसी कृषि पेसाबाट पनि आयआर्जन गर्नका लागि तत्पर हुन पर्ने बताउनुभयो । आत्मनिर्भर हुन नसकेको र परनिर्भर हुने बाध्यतासँगै विभिन्न किसिमका हिंसा भोग्न बाध्य हुने गरेकोमा यो कार्यलाई नमुनाको रूपमा कार्यान्वयन गर्नुपर्ने अनि हिंसामुक्त पालिका हुन सक्ने बताउनुभयो ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले प्रविधिबाट विविधीकरण गरि बजारीकरण गर्नुका साथै कृषि हवमा परिवर्तन गर्ने र लागत घटाई उत्पादन बढाउनका लागि यो कार्य निरन्तर भइरहेको बताउनुभयो ।