बर्दिया : `सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन´ भन्ने नाराका साथ राष्ट्रिय कर दिवसका अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा आयोजित १२औँ राष्ट्रिय कर दिवसमा तीन विद्याका उत्कृष्ट करदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
करदाता सेवा कार्यालय गुलरियाको आयोजनामा भएको कार्यक्रममा २०७९/८०का उत्कृष्ट करदाता उद्योग, व्यापार र बैँक तथा वित्तीय विधाका तीन उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।
उद्योग विधातर्फ बर्दिया डिस्टिलरीका प्रोप्राइटर नर बहादुर वली, व्यापार विधा तर्फ धौलागिरी सप्लायर्सका प्रोप्राइटर नवराज ज्ञवाली र बैंक तथा वित्तीय संस्था विधा तर्फ ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनालाई प्रमाणपत्रसहित सम्मान गरिएको करदाता सेवा कार्यालयका प्रमुख शेरनाथ योगीले जानकारी दिनुभयो ।
यसैगरि कर कार्यालय सहयोगी हिरामोती चौधरीले स्थापनाकालदेखि नै इमान्दारिताका साथ भूमिका निर्वाह गर्नुभएकोमा नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मानित हुनु भएको छ ।
विभिन्न तीन विधामा सम्मानित हुनुभएका उत्कृष्ट करदाता लगायत कार्यक्रममा सहभागीहरुले मन्तव्यका क्रममा कर देश बलियो बनाउने मुख्य आधार भएकाले करदाता र कर प्रशासन बिच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिएका छन् ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रहनु भएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले कर देशको मेरुदण्ड भएकाले यसलाई महत्वका साथ पालना गर्नुपर्ने बताउनुभयो ।
कर कार्यालयका प्रमुख शेरनाथ योगीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल रहनु भएको थियो भने अतिथीमा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख विष्णुप्रसाद भुसाल, जिल्ला प्रहरी प्रमुख सुधिरराज शाही रहनु भएको थियो ।
कार्यक्रममा विभिन्न संगठनका पदाधिकारी, कर्मचारी, व्यापारी, उद्योगी, व्यापारी, पत्रकार लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।