onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा न्यूनतम समर्थन मूल्यमा कृषि उपजको खरिद सुरु

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको सहयोगमा सिंहवाहिनी शिवशक्ति कृषक बहुउद्देशीय सहकारी संस्था लिमिटेडले नगरपालिका भित्र उत्पादन भएका खाद्यान्न नेपाल सरकारको न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने भएको छ ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर १ सिंहवाहिनीमा न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद बिक्री गर्ने गरि एक कार्यक्रमका बीच आज उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा सिंहवाहिनी शिवशक्ति कृषक बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष युवराज शर्माले संस्थाले खाद्यान्न धान खरिद सुरु गरेको बताउँदै नगरपालिका भित्रका सर्वसाधारणहरूलाई धान बिक्रीका लागि समयमै सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।

ठाकुरबाबा नगरवासीहरूलाई खाद्यान्नमा आत्मनिर्भर गर्ने लक्ष्यका साथ नगरपालिकाको निर्णय अनुसार नेपाल सरकारको न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद बिक्री सुरुवात गरिएको शर्माले बताउनुभयो । नेपाल सरकारको न्यूनतम समर्थन मूल्य अनुसार विभिन्न किसिमका धानको मूल्य निर्धारण गरिएको छ ।

मसिनो सावा धानको मूल्य प्रति क्विन्टल ३ हजार चार सय पचास तोकिएको छ । यस्तै मसिनाजन्य धानको मूल्य प्रति क्विन्टल ३ हजार चार सय, मध्यम धानको मूल्य ३ हजार तीन सय बैसट्‍ठी र मोटा धानको मूल्य प्रति क्विन्टल ३ हजार एक सय ९८ रुपैयाँ तोकिएको छ । नगरपालिकामा कृषि उपज खरिद बिक्री कार्य सुरु हुनु खुसीको कुरा भएको कृषकहरूको भनाई छ ।

कार्यक्रममा नगर प्रमुख तिलकराम लम्सालले कार्यक्रमलाई कृषि उपज खरिदबिक्री शुरु गरेको सिंहवाहिनी शिवशक्ति कृषक बहुउद्देशीय सहकारी संस्थालाई धन्यवाद दिँदै यो सम्पूर्ण कृषकहरूको जीवन माथि उकास्ने कार्य भएको बताउनुभयो । यस्तै उपप्रमुख बिना कुमारी भट्टराईले उत्पादित वस्तुको बजारीकरण गरेर उनीहरूलाई प्रोत्साहन गर्न सहयोग पुग्ने बताउनुभयो ।

सिंहवाहिनी शिवशक्ति कृषक बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष युवराज शर्माको अध्यक्षता तथा ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्ययता, उपप्रमुख बिना कुमारी भट्टराईको विशेष आतिथ्ययतामा सम्पन्न भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बम, विभिन्न वडाका वडा अध्यक्षहरू, कृषक लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.