बर्दिया निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरुको संख्यामा वृद्धि
घटस्थापनादेखि शुक्रबारसम्म १३ दिनमा १ हजार ५८५ पर्यटकद्वारा निकुञ्जको अवलोकन
भुरिगाउँ, बर्दिया : विगत केहि वर्षकाे तुलनामा यस वर्षकाे वडा दशैँकाे अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनको तथ्यांक अनुसार यस वर्ष घटस्थापनादेखि हिजो शुक्रबारसम्म १३ दिनको अवधिमा आन्तरिक र बाह्य गरी १ हजार ५८५ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।
निकुञ्ज भ्रमण गर्न आउनेहरुमा नेपाल, भारतसहित सार्कराष्ट्र अन्य देशका पर्यटकहरु रहेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज अवलोकन गर्नेहरुमा सार्क मुलुकका १७ जना र विदेशी ४४६ जना छन् भने स्वदेशी १ हजार १२२ जना रहेका छन् ।
अघिल्लो वर्षको वडा दशैँ पर्वसहित एक महिनाकाे अवधिमा १ हजार ४८६ जनाले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । पर्यटकको आगमन बढेसँगै निकुञ्जको राजस्वमा समेत वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेले बताउनुभयो ।
विश्वका दुर्लभ वन्यजन्तुका रूपमा सूचीकृत हात्ती, एकसिंगे गैँडा, पाटे बाघलगायत संरक्षित वन्यजन्तुको संख्यामा वृद्धि हुनुका साथै सहजै देख्न सकिने भएपछि निकुञ्जमा पर्यटकहरुको आगमन बढेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि बिनाेद दाहालले बताउनुभयो ।
तराईकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रको रूपमा स्थापित निकुञ्जको प्राकृतिक सुन्दरता, वन्यजन्तुको बासस्थान रहेको एकमात्र उपत्यका बबई उपत्यकाको मनमोहक दृश्य, कर्णाली नदीमा र्याफ्टिङ गर्नुका साथै नजिकैबाट डल्फिन नियाल्न सकिने भएकोले पर्यटक आकर्षित भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले बताउनुभयो ।
पाटेबाघ लगायतका वन्यजन्तुको सङ्ख्या बढेसँगै पर्यटकको आकर्षण पनि बढेको हो । प्रमुख संरक्षण अधिकृत अशोकरामका अनुसार “पछिल्लो समय सजिलैसंग बाघ देखिने भएकाले पनि बाघ हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरु बढिरहेका छन्, पर्यटक बढ्नुको मुख्य आर्कषण यहाँकाे पाटे बाघ हो ।”
प्रायजसाे पर्यटकहरुले निकुञ्ज भित्र पाटेबाघ देख्न पाएपछि खुशी भएका छन् । इजरायल, फ्रान्स, अमेरिका, भारत लगायतका देशबाट बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटक बाघ देख्न पाएपछि दङ्ग छन् । बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटकले नेपालको चितवनमा मात्र बाघ देख्न पाइने सुने पनि त्यहाँ भन्दा बर्दिया निकुञ्जमा आफूहरुले दिनहुँ बाघ देखेको बताएका छन् । दिनहुँ बाघ देख्न पाएकै कारण कतिपय पर्यटकहरु अन्त घुम्न जान छाडेर बर्दियामै दिन बिताउन थालेका छन् ।
बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवम् वरिष्ठ टुरिष्ट गाइड राजन चाैधरीले अमेरिकाबाट आएका पाहुनाले बाघ देख्न पाएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अहिले पाटे बाघ हेर्न सकिने सिजन सुरु भएको छ, यतिबेला बर्दिया निकुञ्जभित्र पर्यटकले दिनहुँजसो बाघ देख्न पाएका छन्, बर्दिया निकुञ्जमा असाेज महिनाकाे मसान्तदेखि मंसिर र फागुनदेखि जेठ महिनाभरि बाघ देख्न सकिन्छ ।’
बाघको बासस्थान राम्रो भएकाले बर्दिया निकुञ्जमा गर्मी महिनामा बाघ पानीमा पौडिन आउने भएकाले निकुञ्ज भित्रै रहेको कर्णाली नदीको भङ्गालो किनारमा बाघ सजिलै देख्न पाइएको छ ।
कोभिडका कारण थलिएको पर्यटकीय गतिविधि बाघ लगायतका वन्यजन्तु अवलोकन गर्न पाइने भएकाले बर्दियामा पर्यटकीय गतिविधि बढेको हो । बाघ हेर्न आउने पर्यटकहरु बढ्न थालेका छन् ।
बाघ लगायत अन्य वन्यजन्तु अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरु बर्दिया निकुञ्ज अवलोकनका लागि आउने क्रम बढ्न थालेको पर्यटन व्यवसायीहरु पनि खुसी भएका पर्यटन व्यवसायी पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो । नेपाल सरकारले अबको पर्यटन प्रवर्द्धन गर्ने खालका विशेष प्याकेज र बजारीकरण गर्न आवश्यक रहेको जसले गर्दा बर्दियासहित नेपालको पर्यटन व्यवसाय उकास्नमा ठूलो टेवा पुग्ने उहाँको भनाइ छ ।
९६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा स्तनधारी प्राणि, पंक्षी, घस्रने वन्यजन्तु र माछा अवलोकन गर्न पाईन्छ । वन्यजन्तुका लागि उपयुक्त वासस्थान मानिने बर्दिया राष्ट्रिय निकुञ्ज पारिस्थितिकियसँगै आनुवांसिकिय विविधताले भरिपूर्ण भएकाले पनि निकुञ्जमा पर्यटकहरुको आर्कषण बढ्दै गएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो ।
कर्णाली, गेरुवा र बबई नदिको विचमा रहेकोले बर्दिया राष्ट्रिय निकुञ्ज थप आर्कषक देखिने गरेको छ । प्रभावकारी रुपमा बाघ संरक्षण गर्न सफल भएको बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षण क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । निकुञ्जमा ५५ भन्दा बढी स्तनधारी प्राणि, ३ सय ३४ भन्दा बढि पंक्षी, ४२ भन्दा बढि घस्रने वन्यजन्तु र १२० प्रजातीका माछाहरु रहेकाले जैविक विविधताले सम्पन्न मानिन्छ ।