onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

अनाथ बालबालिका अध्ययनरत विद्यालयमा दशैँमा खसीसहितको भोज

Sambad ADD long

बर्दिया : ‘दशैँ आएको बेला आज त स्कुलमै खसी काटेका छन्, दाल भात मासु पाकिरहेको छ, रमाईलो लागेको छ, अरुबेला हेड सरले र यहाँकै दिदिले खान दिनुहुन्छ । अरुबेला पनि मान्छे आउँछन्, रमाईलो हुन्छ, आज झनै रमाईलो लागेको छ आर्मी सरहरु आउनुभएको छ, हामी स्कुलबाट आएपछि पढ्छौँ । खेल्न मन लागेपछि खेल्छौँ ।’ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ पथ्थरबोझी गाउँको सरस्वती आधारभुत विद्यालयमा ४२ जना अध्ययनरत अनाथ बालबालिकाहरु दशैँको अष्टिमीका दिन दशैँ भोज खाँदै खुसि हुँदै यसरी बताउँदै थिए ।

बर्दिया मधुवन नगरपालिका १ पथ्थरबोझी गाउँको सरस्वती आधारभुत विद्यालयमा आमाबुवा नभएका तथा अनाथ बालबालिकालाई नगरपालिकाले आवासीय सुविधा दिएर पढाइरहेको छ । विद्यालयमा रहेका ४२ जना अनाथ बालबालिकाको हरेक वर्षको दशैँ सामान्य हुने गरेको हुन्थ्यो । तर यसपटक भने बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदत्त गणका गणपती सहितको टोलीले विद्यालयमै पुगेर खसी काटेर मासुसहितको भोज खुवाएपछि विद्यार्थीहरु खुसी भएका हुन् । सेनाले आफै खसि काटिदियो, आधा पकाईदियो, आधा अर्को दिनका लागि राखिदियो, उनिहरुले दशैँमा खसी नै काटेर दशैँ मनाउन पाउँदा खुसी भएका छन् बालबालिकाको खाना पकाई दिने तथा सरसफाईमा ध्यान दिने कर्मचारी करिस्मा चौधरीले भन्नुभयो ।

यसअघिका दशैँ सामान्य हुने गरेकोमा यसपटक भने बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ पथ्थरबोझी गाउँको सरस्वती आधारभुत विद्यालयका अनाथ विद्यार्थीहरु खुसी भएका हुन् । खुसी हुनुको कारण थियो खसीसहितको दशैँ भोज । दशैँ लक्षित उनिहरुकै विद्यालयमा खसी काटेर भोज आयोजना भयो । आधारभुत विद्यालयमा रहेका ४२ जना विद्यार्थीमध्ये कसैका आमाबुबाको मृत्यु भइसकेको छ भने कसैका बुबाआमाको अत्तोपत्तो छैन ।

अनाथ बालबालिका रहेको विद्यालयमा नेपाली सेनाको टोलीले खसी काटेर विद्यार्थीलाई भोज खुवायो, आफ्ना बाबुआमाले जसरी माया गरेर खानपिन गराएकोमा केही विद्यार्थी भावुक पनि बने । अनाथ बालबालिकालाई हाम्रा पनि अभिभावक छन् भन्ने विश्वास दिलाउन भोज खुवाएको हुँ बर्दिया निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदत्त गणका गणपति हिमालय थापाले भन्नुभयो । गणपति थापाले गणका अन्य जवान परिवारका साथै धर्मपत्नी अस्मिता सिलवाल थापा र छोराहरुसंगै आफु दशैँका बेला नवरात्राको व्रत बसेको अवस्थामा पनि अभिभावक विहिन बालबालिकासंग रमाउन र उनिहरुलाई दशैँ रमाईलो बनाउन पाउनु आफ्ना लागि, गणका लागि, समाजका लागि र बालबच्चाका लागि पनि राम्रो भएको उहाँले बताउनुभयो ।

नेपाली सेनाका कर्णेल थापाले भन्नुभयो पत्थरबोझी गाउँमा रहेको स्कुल मेरो आफ्नै देवीदत्त गणको हाता भित्र पर्छ । मध्यवर्ती क्षेत्रमा पर्ने यो स्कुलमा जहाँ हात्तीले गर्दा र आमाबुवा नभएका पीडित बच्चाहरुलाई राखेर पालिकाले आफ्नो स्तरको तयारीका साथ राखेको छ । यो दशैँमा उनीहरुलाई अझै खुशी बनाउनका लागि अभिभावकत्व ग्रहण गरेर उनीहरुको अभिभावक नभए पनि हाम्रो लागि अभिभावक छ भन्ने हिसाबले आफ्नो गण र आफ्नो तर्फबाट आफ्नै स्वइच्छाले दशैँको अवसरमा अनाथ बालबालिका भएका विद्यालयमा खसीसहितको भोज गरेको गरेको बताउनुभयो ।

अलपत्र परेका बालबालिकालाई मधुवन नगरपालिकाले रेखदेख गरिरहेको छ । विद्यालयमा अहिले ४२ जना अनाथ छात्रछात्रा अध्ययन गर्छन् । बाबुआमा नभएका, कोहि बाबुआमा भएर पनि छोडेका, असाहय, गरिब, विपन्न, टुहुरा परिवारका बालबच्चाहरु छन् । हामीले विद्यालयको ५ वटा कोठामा अलग गरेर राखेका छौँ । सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले भन्नुभयो । अहिले विभिन्न व्यक्तिहरुले सहयोग गरेर सम्पूर्ण खर्च विद्यालयले नै व्यहोर्ने गरि आवासिय रुपमा राखिएको उहाँले बताउनुभयो । कुनै चार्डपर्वका अवसरमा विभिन्न व्यक्तिहरुले सहयोग गर्ने गरेको र हाल मधुवन नगरपालिकाले पनि वार्षिक सात लाख रुपैँया आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।

दशैँका अवसरमा नेपाली सेनाले अनाथ बालबालिकालाई भोज खुवाएकोमा धन्यवाद दिँदै उनीहरुको पढाई र भविष्यप्रति वडा र नगरपालिकाले बजेट छुट्याएर सहयोग गरिरहेको मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिन बहादुर थापाले बताउनुभयो । अनाथ बालबालिका अध्ययनरत विद्यालयका लागि वार्षिक वडाबाट १ लाख र नगरपालिकाबाट ७ लाख बजेट छुट्याएको छ । अब वार्षिक वडाबाट ५० हजार थप गरेर १ लाख ५० हजार र नगरबाट एक लाख थप गरेर ८ लाख पुर्याउने योजना रहेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

अनाथ बालबालिकालाई भोज खुवाएकोमा प्रशंसा गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धाराका पर्यटन व्यावसाथि रामजिबाबु थापाले जन्मदिनहरुमा गरिने जस्ता फजुल खर्चलाई यस्ता राम्रा सामाजिक कार्यमा लगानी गर्ने दृढता जागेको बताउनुभयो । आगामी दिनहरुमा जन्मदिनमा गरिने फजुल खर्चलाई बालबच्चाको खाद्यान्न लत्ताकपडामा सहयोग गर्ने प्रतिवद्धताका साथ अरु साथीहरुलाई पनि यस्तो सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । वन र वन्यजन्तु संरक्षणमा जुटेका विभिन्न निकायका व्यक्तिले अनाथ बालबालिकाको संरक्षणमा गरेको कामले धेरै प्रशंसा पाएको छ । सबैको साथ र सहयोग पाएमा अनाथ बालबालिकाले पनि अभिभावक भएको महसुस गर्न सक्छन् ।

Leave A Reply

Your email address will not be published.