ठाकुरद्वारामा थारु समुदायद्वारा जेउरा जगाइना कार्यक्रम सम्पन्न
सबै जातजाती एकजुट भएर अघि बढ्ने वातावरण सिर्जना भएको छ : नगरप्रमुख लम्साल
भुरीगाउँ, बर्दिया : दशैँको अवसरमा थारु समुदायको जेउरा जगाइना कार्यक्रम ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्धारामा सम्पन्न भएको छ । दशैँका अवसरमा गाउँदै नाच्ने परम्रागत नाचगान प्रस्तुत गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालले जेउरा जगाइना कार्यक्रमले सबै जातजाती एकजुट भएर अघि बढ्ने वातावरण सिर्जना भएको बताउनुभएको छ । नगर उपप्रमुख बिना कुमारी भट्टराईले धार्मिक भाषिक रुपमा भरिपुर्ण रहेको ठाकुरबाबा नगरपालिका क्षेत्रमा परम्परागत साँस्कृतिक कार्यक्रमले पर्यटन व्यवसायमा सहयोग गुग्ने बताउनुभयो ।
१२ वर्ष अघि २०६८ साल भदौ ३१ गतेका दिन थारू कल्याणकारी गाउँ इकाई सभा नेउलापुरका तत्कालीन सभापति मैजु थारूको अध्यक्षतामा बैठक बसी निश्चित सरोकारवालाहरु जम्मा भई २०६८ असोज महिनाको १५ गते रानीपुर चौरमा कार्यक्रमको आयोजना गरी ठाकुरबाबामा जेउरा जगाइना कार्यको सुभारम्भ भएको हो ।
जेउरा जगैना थारू संस्कृतिक कार्यक्रम बरघर संजाल समितिको आयोजना तथा ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा थारु समुदायले सम्पन्न गरेको हो । कार्यक्रममा हुर्दङ्ग्वा, सखिया, बखरीया, छोक्रा, राम झुम्मर, मुङ्ग्रहवा तथा डेउरा र मारुनी नाच समेत प्रस्तुत गरिएको ठाकुरबाबा नगरपालिका बरघर संजालका अध्यक्ष माघुराम थारुले जानकारी दिनुभयो ।