भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको बर्दिया टाइगर नेटवर्कद्वारा संचालित रेडियो टाइगर ९९.२ मेगाहर्ज आजदेखि सातौं वर्ष पुरा गरि आठौं वर्षमा प्रवेश गरेको छ । कृषि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि संचार भन्ने नारासहित ७ वर्षअघि २०७३ सालमा घटस्थापनाका दिनदेखि रेडियो टाइगरले नियमित कार्यक्रम आरम्भ गरेको हो ।
रेडियो टाइगरले हरेक ५ वर्षमा भव्य रुपमा विशेष वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्ने भएकाले अब दशौँ वार्षिकोत्सव भव्य रुपमा मनाउने योजना रहेको बर्दिया टाइगर नेटवर्क (रेडियो टाइगर)का अध्यक्ष जनार्दन योगीले बताउनुभयो । समाज, राष्ट्र र समुदायको उत्थान, संरक्षण र विकासका साथै पर्यटन प्रवद्र्धन र विभिन्न उत्पादनहरुको बजार प्रवद्र्धनमा समेत सक्दो सहयोग गर्ने रेडियो टाइगरले नीति लिएको छ ।
विभिन्न जनचेतना मुलक सन्देश र रेडियो कार्यक्रम प्रसारण गरी समुदायमा चेतना अभिवृद्धी गराउन सहयोग पुर्याउने उद्देश्यका साथ रेडियो टाइगरले छ वर्ष अघि अर्थात् २०७३ सालमा घटस्थपनाका दिनदेखि विभिन्न सूचनामूलक, समाचारमूलक, संरक्षणूलक, शिक्षाप्रद, ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु सुरु गरेको रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपालले बताउनुभयो ।
विक्रम सम्बत् २०७३ सालको घटस्थापनाका दिनदेखि एक सयवाट क्षमतामा ८८ थोप्लो २ मेगाहर्जमा नियमित प्रसारण शुरु गरेको रेडियो टाइगरले चार वर्ष अघि क्षमता अभिवृद्धी गरि अहिले ५०० वाट क्षमतामा ९९ थोप्लो २ मेगाहर्जबाट स्रोता माझ आफ्नो प्रसारण सेवा दिइरहेको रेडियो टाइगरका प्रवन्ध निर्देशक भावुक योगीले बताउनुभयो ।
रेडियो टाइगर बिहान ५ बजेदेखि राती १० बजेसम्म दैनिक रुपमा प्रसारण हुँदै आएको छ । रेडियो टाइगरले केन्द्रीय समाचार र स्थानीय समाचार गरि १० वटा समाचार बुलेटीन सहित विभिन्न सूचनामुलक र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गरिरहेको स्टेशन म्यानेजर राम बहादुर थारुले बताउनुभयो ।
रेडियो टाइगरले संरक्षण र विकाससंगै यसक्षेत्रका मुद्दालाई प्रमुख रुपमा उठाउँदै समाधानका लागि जिम्मेवार निकायलाई निरन्तर दबाब दिने काम पनि जारी राखेको रेडियो टाइगरका प्रवन्ध निर्देशक भावुक योगीले बताउनुभयो । यस्तै यसक्षेत्रका कला संस्कृति, साहित्य तथा भाषा र भेषमुषा अनि धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र सम्वर्धनका साथै यसलाई एक अर्को समूदायसम्म पुर्याउन पुलको काम पनि गरेको छ । सामाजिक एवम् धार्मिक सद्भाव बलियो बनाई भाईचारा र बन्धुत्वको भावना जागृत गर्ने दिशामा रेडियो टाइगर सधैँ गम्भिर र संवेदनशिल रहेको प्रवन्ध निर्देशक योगीले बताउनुभयो । राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार, बिधिको शासन र समतामुलक समाज निर्माण लगायतका विषयमा समर्पित गर्दै रेडियो टाइगरले परिवर्तनको संवाहकका रुपमा काम गर्दै आएको छ ।
श्रोताहरुकै माग र स्थानीय अभिरुचिलाई ध्यानमा राखी रेडियो टाइगरले नयाँ कार्यक्रमहरु उत्पादन गर्ने गरेकोे र बेलाबेला क्षमता अभिवृद्धी, नेतृत्व विकास, रेडियो उद्घोषण तथा आधारभुत पत्रकारिता तालिम पनि संचालन गरिरहेको रेडियोका कार्यक्रम संयोजक सौगात श्रेष्ठले बताउनुभयो ।
नेपालकै एकमात्र बाघको नामबाट संचालित संचार माध्यम गर्जन्छ सधैँ… बाघ झैँ… रेडियो टाइगर ९९.२ मेगाहर्ज बर्दियाले नेपाल सरकारको लक्ष्य अनुसार सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउन सहयोग पुग्ने खालका बाघ संरक्षण र सचेतना सम्बन्धि बिशेष कार्यक्रमसमेत प्रसारण गरीरहेको छ । फलस्वरुप देशभरमा गरिएको बाघ गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ बढाउन संचारमाध्यम मार्फत् रेडियो टाइगरले पनि महत्वपुर्ण भुमिका खेलेको दाबी गरेको छ ।
लुम्बिनी प्रदेशको बर्दिया जिल्लाका ८ वटै स्थानीय तहका झण्डै साढे ४ लाख स्रोतासहित बाँके जिल्ला यसैगरि कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका अधिकाँश जिल्लाका भू–भागहरुमा र अनलाइन मार्फत समेत गरि रेडियो टाइगरले झण्डै ७ लाख श्रोताहरु मझ सूचना प्रवाह गरीरहेको अपेक्षा गरेको छ ।
यस्तै रेडियो टाइगरले tigerkhabars.com , onlinesambad.com र हाम्रो पात्रो तथा नेपाली पात्रो मोबाइल एप्लीकेशन संगै अन्य विभिन्न मोबाइल एप्लिकेशनबाट मार्फत स्वदेश सहित संसारभर सुन्न सकिने र समाचारहरु अनलाइन मार्फत पढ्न सकिने समेत व्यवस्था गरेको छ । यस अवसरमा रेडियो टाइगर अझ प्रभावकारी रुपमा थप जिम्मेवार र जनउत्तदारयी भएर तपाईँ सम्पुर्ण रेडियो स्रोताकै आवश्यकता र चाहाना अनुरुप समाचारमुलक र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्ने प्रतिबद्दता व्यक्त गर्दछ ।
सातौं वर्ष पुरा गरि आठौं वर्षमा प्रवेश गरेको अवसरमा रेडियो टाइगरका सम्पुर्ण रेडियो स्रोता, विज्ञापनदाता, शुभचिन्तक माहानुभावहरुमा हार्दिक शुभकामनासहित आभार प्रकट गर्दछौँ । रेडियो टाइगर, तपाईँ सबै सुभेच्छुक एवम् बिज्ञापनदाताहरुको माया र सहयोगले छोटो समयमा यो अवस्थामा आएकाले आगामी दिनमा पनि उचित सल्लाह र सुझावको अपेक्षा सहित हार्दिक आभार व्यक्त गर्दछ ।