onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

शिक्षक कल्याण साकोसको २८औं साधारणसभा सम्पन्न

शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलोस् : नगरप्रमुख लम्साल

Sambad ADD long

बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिका-३, बगनाहामा रहेको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड (शिक्षक कल्याण साकोस)को २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यतामा शनिबार साधारणसभा सम्पन्न भएको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रहनु भएका ठाकुरबाबा नगर प्रमुख लम्सालले भन्नुभयो “शिक्षक कल्याण साकोसले सहकारीका मूल्य तथा मान्यताहरुलाई आत्मसाथ गर्दै शेयर सदस्य शिक्षकहरूको पेसागत दक्षता अभिवृद्दिका साथै शिक्षाको विकासका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने छ ।”

शिक्षकहरूलाई प्रविधिमैत्री बनाउन शिक्षक कल्याण सहकारीले संचालन गर्न लागेको एक शिक्षक,एक ल्यापटप कार्यक्रमका लागि ठाकुरबाबा नगरपालिकाको तर्फबाट सहयोग गर्ने समेत नगर प्रमुख लम्सालले प्रतिवद्दता ब्यक्त गर्नुभयो ।

शिक्षक कल्याण साकोसका अध्यक्ष यज्ञप्रसाद नेपालको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगाना,राष्ट्रिय सहकारी बैंकको भुरीगाउँ शाखा प्रमुख किरण खत्री र संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार समिति संयोजक कृष्णप्रसाद पौड्यालले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सम्पन्न साधारणसभाले अध्यक्ष यज्ञप्रसाद नेपालद्वारा प्रस्तुत प्रतिवेदन, सचिव असिम कुमार पौड्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८०को प्रगती प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१को लागि प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष शान्ते शर्माको आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक हेमराज तिमल्सिनाद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाको अवसरमा सेवानिवृत शिक्षक रामबहादुर खड्का र पृथ्वीबहादुर चौधरीलाई सम्मान गरिएको छ । यसैगरी उच्चतम बचतकर्ता, अधिकतम शेयर खरिदकर्ता, उच्चतम सन्तती बचतकर्ता र असल  ऋणीलाई सम्मान गरिएको छ ।

चुरे माध्यमिक विद्यालय, बगनाहामा कार्यरत शिक्षकहरुले विक्रम सम्वत् २०४२ सालमा अनौपचारिक रूपमा सुरु गरेको शिक्षक कल्याण साकोस २०५२ फागुन २० गते सम्बन्धित निकायमा दर्ता भएर संचालन भइरहेको छ । शिक्षक कल्याण साकोसले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरु मात्रै शेयर सदस्य बनाउने गरेको छ ।

संस्थामा हाल २३७ सदस्य रहेका छन भने सहकारीले ३८ लाख ९८ हजारको शेयरपूँजी सहित ३ करोड ६६ लाख रूपैयाँ बढीको कारोबार गरेको अध्यक्ष यज्ञप्रसाद नेपालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.