भुरीगाउँ, बर्दिया : शिक्षकहरुका लागि ब्यवहार, कुशल सिप तथा पूर्वीय दर्शन सम्बन्धि तालिम सम्पन्न भएको छ । आधारभूत तथा माध्यमिक तहका शिक्षकहरुको लागि संचालन भएको ५ दिने तालिम ठाकुरबाबा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
शिक्षा तालिम केन्द्र भैरहवा, रुपन्देहीको आयोजनामा संचालित कार्यक्रमको समापन समारोहमा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले शिक्षाको क्षेत्रमा ठाकुरबाबा नगरपालिकाले गरेका कार्यहरू, कक्षा दससम्म पूर्ण निःशुल्क शिक्षा, विषयगत र तहगत शिक्षक व्यवस्थापन लगायतका विषयहरुको जानकारी दिनु भएको छ । उहाँले शिक्षकहरुको हरेक गतिविधी शिक्षण सिकाई उपलव्धिसंग जोडिने भएकाले तालिममा सिकेका कुराहरुलाई कक्षा कोठासम्म पुर्याउन सके मात्रै कार्यक्रम सफल हुने विचार व्यक्त गर्नुभयो ।
तालिममा लुम्बिनी बौद्द विश्वविद्यालयका उपप्राध्यापक आचार्य दयानिधी गौतमले पूर्वीय दर्शनको परिचय, कक्षाकोठा, परियोजना कार्य र अतिरिक्त क्रियाकलापमा पूर्वीय दर्शनको प्रयोग एवम् विद्यालयको दैनिक क्रियाकलापमा पूर्वीय दर्शनको प्रयोग, विद्यालयमा बौद्द दर्शन र पारमिताको प्रयोग लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
बर्दिया जिल्लाका ठाकुरबाबा, मधुवन, बाँसगढि, गुलरिया र बारबर्दिया गरी ५ वटा पालिकाका ३० जना शिक्षकहरुको सहभागिता रहेको तालिममा शिक्षा तालिम केन्द्र रुपन्देहीका शाखा अधिकृत अरविन्द अधिकारीले व्यवहार, कुशल सिप, विद्यार्थी मनोसामाजिक परामर्श लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको समापन समारोहमा सहभागीको तर्फबाट बोल्दै रामजानकी माध्यमिक विद्यालय भैसासुर, बाँसगढिका प्रधानाध्यापक नारायण प्रसाद शर्माले तालिम अत्यन्त उपलव्धिमुलक रहेको विचार व्यक्त गर्नुभयो ।