भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगपालिकामा द्वन्दपीडितहरुको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।
ठाकुरबाबा नगरपालिकामा भएका रोगीहरुको विवरण र मानसिक स्वास्थ्य क्षेत्रमा भएका कार्यहरुको बारेमा अन्तरक्रिया गरिएको छ । ठाकुरबाबा नगरपालिकामा स्वास्थ्य क्षेत्र अन्तर्गत मानसिक स्वास्थ्य सेवाको विस्तार गरिनुका साथै स्वास्थ्यकर्मी तथा शिक्षकहरुलाई पनि तालिम प्रदान गराइएको छ ।
स्वास्थ्य क्षेत्रका लागि सहयोगी संस्था सी एमसि र ठाकुरबाबा नगरपालिका विच समझदारी र सम्झौता गरि कार्यन्वायन गरिएको छ । यसैगरि मानसिक स्वास्थ्यलाई ठाकुरबाबा नगरपालिकाको पाठ्यक्रममा समेत समावेश गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बीनी प्रदेशमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या उच्च रहेको उल्लेख गर्दै बर्दियामा मधुमेह, प्रेसर जस्ता दीर्घकालीन रोगहरुको व्यापकता बढेको बताउनुभयो । बर्दिया जिल्लाका समुदायमा देखिएको सिकलसेल एनिमियालाई कसरी नियन्त्रण गर्न सकिन्छ र भोलीका दिनमा यसलाई अर्को पुस्तामा जान नदिने बातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने तिर लागेको बताउनुभयो ।
लुम्बीनी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा सुधार गर्न चाहेको बताउँदै सिकलसेलका विरामीहरुका लागि निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिएको र ठाँउठाँउमा उपचार केन्द्रहरु निर्माण गर्ने उहाँले बताउनुभयो । बर्दिया जिल्लाका अस्पताललाई संचालनमा ल्याउन आवश्यक जनशक्तिको व्यवस्थापनमा लागेको बताउनुभयो ।
यस्तै उहाँले ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको काम पालिकास्तरमा प्रदेशमा नमुना भएकोले आफुले अस्पतालममा आवश्यक पर्ने थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ब्यस्त समयको व्यवस्थापन गरी ठाकुरबाबा नगरपालिकाको आधारभुत नगर अस्पताल अनुगमन गरी आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएकोमा ठाकुबाबा नगर प्रमुख, उपप्रमुखले मन्त्री सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
यसैगरि उहाँले सामुदायिक अस्पतालमा रगतको व्यवस्था गर्ने र आँखाको ज्योति गुमाएका हरुका लागि निःशुल्क आँखाको नानीको अप्रेशन गर्ने गरि लुम्बीनी प्रदेश सरकारद्धारा बजेटको व्यवस्था गरिएको बताउनुभयो । आउँदा दिनहरुमा बर्दिया जिल्लाको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न, स्थानीय सरकार, दातृ निकाय र केन्द्रिय सरकारसंग समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना, जिल्ला समन्वय समितीका प्रमुख सुर्य बहादुर बिष्ट, मधुवन नगरपालिका प्रमुख तेज बहादुर भाट, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य कर्मी, कर्मचारी, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।